मुम्बई । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा सामाजिक कार्यमा पनि संलग्न छिन् । लामो समयदेखि श्रीमान निक जोनस सँग अमेरिकामा रहँदै आएकी प्रियंकाले रुस र युक्रेनबीच चलिरहेको युद्धमा कैयौँपटक खुलेरै आवाज उठाएकी छन् ।
उनले हालै पोल्यान्ड गएर युक्रेनका शरणार्थीसँग भेटेकी छन् । उनीहरूसँग भेटेर प्रियंकाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि विश्वसँग अपिल गरेकी छन् ।
इन्स्टाग्राममा आफ्नो भिडियो सेयरगर्दै प्रियंका लेख्छिन्, “युक्रेनको परिस्थिति अहिले पनि एकदमै खराब छ । संख्या र आकारको आधारमा यो मानवीय इतिहासमा संसारकै सबैभन्दा ठुलो विस्थापनमध्ये एक हो । कृपया यस युद्धबाट प्रभावित व्यक्तिहरूको जीवनलाई एकपटक नजिकबाट नियाल्नुहोस् ।”
युनिसेफसँग आवद्ध रहेकी प्रियंका यसैमार्फत पोल्यान्ड गएकी थिइन् । उनले त्यहाँ भएका शरणार्थीहरूका बच्चाहरूको फोटो सेयर गर्दै युद्धका कारण महिलामा पर्ने प्रभावबारे पनि बोलेकी छन् ।
रुस र युक्रेनबीचको युद्ध गत २४ फेब्रुअरीदेखि जारी छ । हालसम्म सैयौँ युक्रनी नागरिक र सेनाहरूको ज्यान गुमाइसकेका छन् ।
नवरात टाइम्सबाट ।