site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसोतसो चलिरहेको नारायणी वाङ्मय प्रतिष्ठान 

वीरगन्ज नेपाली कलासाहित्यका क्षेत्रमा अथाह योगदान दिने सर्जकहरूको भूमि हो । धच गोतामे, डा. ध्रुवचन्द्र गौतम, प्रेमा शाह, जनकबहादुर राणा, विमल निभा, विनय रावल, रमेश गोर्खालीदेखि अहिले गणेश लाठ, गोपाल अश्क, डा. विश्वम्भरकुमार शर्मा, नवराज रिजालसम्मका साहित्यकारहरू वीरगन्जसँग जोडिएका छन् । यी त केही नाम मात्रै हुन्, अझै धेरै साहित्यकारहरू वीरगन्जसँग जोडिएका हुन सक्छन् ।

वीरगन्जसँग जोडिएका पहिलो पुस्ताका साहित्यकारहरूको पहलमा भाषासाहित्यको उन्नयनका लागि वि.सं. २०४४ सालमा नारायणी वाङ्मय प्रतिष्ठानको स्थापना भयो । यसले प्रारम्भमा तत्कालीन नारायणी अञ्चलका सबै जिल्ला समेट्यो । नियात्राकार निर्मोही व्यास (वेदव्यास उपाध्याय), मुकुन्द आचार्य, धर्मेन्द्र भट्टराईहरूको साथ–सहयोग लिँदै प्रतिष्ठान उकालो लाग्यो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको यो प्रतिष्ठानको पहिलो अध्यक्षको जिम्मेवारी डा. दुर्गाप्रसाद रिजालले पाए । त्यसउप्रान्त प्रतिष्ठान साहित्यको उन्नयनमा अगाडि बढ्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आर्थिक राजधानीका रूपमा ख्याति कमाएको वीरगन्जका साहित्यिक मन भएका मानिसले यो प्रतिष्ठानलाई सहयोग गर्दै गए । आज स्थापनाको चार दशक छुनै लाग्दा पनि प्रतिष्ठान साहित्यिक सेवामा संलग्न छ ।

केही साताअघि वीरगन्ज जाँदा साहित्यकार विनयराज गौतमको सहयोगमा भेट भएका प्रतिष्ठानका वर्तमान अध्यक्ष डा. विश्वम्भरकुमार शर्माले वीरगन्ज नेपाली साहित्य र साहित्यकारको उर्वर भूमि भएको बताए । बारा, पर्सा, रौतहट, मकवानपुर र चितवनले साहित्यको क्षेत्रमा गरेको प्रगतिले पनि प्रतिष्ठानलाई हमेसा अगाडि बढ्न प्रेरित गरेको डा. शर्माको भनाइ छ ।

डा. शर्मा भन्छन्, “पछिका दिनमा कतिपय साहित्यकारहरू काठमाडौंमा नै भए पनि वीरगन्ज र काठमाडौंको यात्रा सरोबरी हुने गरेको थियो । २०५० सालसम्म उहाँहरू वीरगन्ज आइरहनुहुन्थ्यो । त्यसपछि भने उहाँहरूको वीरगन्ज आगमन पातलियो ।”

नारायणी वाङ्मय प्रतिष्ठानमा डा. रिजालपछि केशवप्रसाद उपाध्याय, मथुरामानसिंह श्रेष्ठ, ईश्वरचन्द्र गौतमले नेतृत्व सम्हाले । उप्रान्त डा. शर्माको काँधमा संस्थाको जिम्मेवारी आयो ।

मथुरामानसिंह अध्यक्ष हुँदा आफू परिषद्सँग जोडिएको सम्झँदै डा. शर्माले पहिले कार्यसमितिमा रहेर पछि नेतृत्वमा आएको उल्लेख गरे । उनी भन्छन्, “त्यसबखत नारायणी अञ्चलमा काठमाडौंपछि एउटा ठूलो साहित्यिक संस्थाका रूपमा प्रतिष्ठानको उदय भएको हो । भाषासाहित्यको विकास र विस्तारमा योगदान गर्ने मूल उद्देश्य राखेर काम गर्दै आएको यो संस्थाबाट दिइने नारायणी वाङ्मय पुरस्कार पाउनुलाई साहित्यकारहरूले महत्त्वपूर्ण रूपमा हेर्नुहुन्थ्यो । वास्तवमा यो पुरस्कार सम्मानित पुरस्कारमा गनिन्छ ।”

नारायणी क्षेत्रका साहित्यकारहरूको प्रेम र सद्भाव यो संस्थालाई सधैँ मिलेको डा. शर्मा बताउँछन् । त्यसबाहेक उक्त क्षेत्रलाई कर्मथलो (सरकारी र अन्य सेवा) बनाएर आउने साहित्यकारहरूले पनि यो संस्थालाई माया गरेर यसमा आबद्ध भई यसको महत्त्व बढाएको उनको भनाइ छ ।

एक समय प्रतिष्ठानको वार्षिकोत्सव र पुरस्कार वितरण कार्यक्रम एकदमै भव्यताका साथ सम्पन्न हुने गरेको थियो । तर, अचेल त्यो भव्यतामा झिनो पातलोपना देखिए पनि त्यसलाई सोही स्वरूपमा लैजाने डा. शर्मा बताउँछन् । 

उनी भन्छन्, “बीचमा मधेस आन्दोलनले प्रतिष्ठानको कार्यक्रमलाई केही फितलो बनाएको भने हो । दुईचार वर्ष त हामीले पुरस्कार पनि प्रदान गर्नै सकेनौँ । आन्दोलनकै धङधङीले केही वर्ष पुरस्कार अड्कियो । त्यसबखत वीरगन्जमै आदिकवि भानुभक्तको सालिक तोडियो भने कलैयामा महाकवि देवकोटाको सालिक तोडियो । यस्ता क्रियाकलापले अप्ठ्यारो अवस्था सिर्जना भयो । तथापि, आज हामीले वीरगन्ज बसपार्कनजिक भानुचोकमा आदिकविको सालिक पुनर्स्थापित गरिसकेका छौँ । अबका दिनमा हाम्रो कार्यक्रम भव्य हुनेमा हामी आशावादी छौँ ।”

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा नारायणी वाङ्मय प्रतिष्ठानको कार्यक्षेत्र पनि विस्तार भएको डा. शर्मा सुनाउँछन् । प्रतिष्ठानमा मधेस प्रदेशका आठ र पहिलेदेखिको मकवानपुर अनि चितवन गरेर १० जिल्ला समेटिएको उनले जानकारी दिए ।

उनी भन्छन्, “हामी पाँच जिल्लाबाट १० जिल्लामा विस्तारित भएका छौँ । यो १० जिल्लाको क्षेत्रमा रहनुभएका साहित्यकारहरू यस प्रतिष्ठानसँग जोडिन सक्नुहुन्छ ।”

डा. शर्मा अगाडि भन्छन्, “अहिले हाम्रो संस्था झन् फैलिएको छ । गएको वर्ष हामीले जनकपुरका अग्रज साहित्यकार डा. राजेन्द्र विमलको कथाकृति ‘सरबरिया टोल’लाई पुरस्कृत गर्‍यौँ ।”

संस्था सञ्चालन आफैँमा गाह्रो विषय हो । “तथापि, खटिनुपर्छ, काम गर्न नसकिने कुरै हुँदैन,” उनी भन्छन् । जति गाह्रोसाँघुरो भए पनि सबैजना मिलेको खण्डमा संस्थाको उन्नतिमा कुनै बाधा नआउने उनी बताउँछन् ।

राज्यले साहित्य र साहित्यिक संस्थालाई हेर्नुपर्नेमा उनी जोड दिन्छन् । तर, राज्यका तर्फबाट त्यसरी नहेरिएको भन्दै उनले तितो पोखे । डा. शर्मा भन्छन्, “भाषासाहित्य, संस्कृति जुन मुलुकको समृद्ध हुँदैन, त्यो मुलुक नै समृद्ध हुँदैन । मुलुकको विकास र समृद्धिको एउटा पाटो भनेको साहित्य, कलासंस्कृतिको विकास पनि हो । भाषा बलियो भए साहित्य र संस्कृति बलियो हुन्छ । तर,  राज्य यतातिर एकदमै उदासीन छ । यो प्रतिष्ठान यतिखेर करोडौँको बजेटमा दौडिनुपर्ने हो । तर अहँ, प्रतिष्ठानलाई राज्यका तर्फबाट वा प्रदेशका तर्फबाट कुनै पनि सहयोग मिलेको छैन । साँच्चै भन्नुहुन्छ भने यो संस्थालाई मर्न दिनु हुँदैन भनेर लागेका मानिसहरूको निःस्वार्थ भावले नै यो प्रतिष्ठान चलिरहेको छ ।”

साहित्यले जहिल्यै समाजसापेक्ष अभिव्यक्ति दिइरहेको हुने उनी बताउँछन् । समाज जस्तो हुन्छ त्यसको छाया साहित्यमा आउँछ । समाजलाई हेर्न त्यस क्षेत्रको साहित्य पल्टाएर हेरे पुग्छ । तर, नेपालमा साहित्यको यो पाटोलाई राज्यले नहेरेको उनको भनाइ छ ।

वीरगन्ज महानगरले प्रतिष्ठानका निम्ति केही गर्‍यो कि गरेन ? डा. शर्मा भन्छन्, “अक्षयकोषमा महानगरले पनि रकम थपिदिनुपर्ने हो, तर थपेको छैन । किनभने, महानगरले आफ्नै प्रतिष्ठान बनाएको छ । प्रदेश सरकार पनि यतातिर उदासीन छ । खासमा अहिलेसम्म प्रतिष्ठानलाई महानगर, प्रदेश, राज्य कतैबाट केही सहयोग मिलेको छैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro