संसारको सेरोफेरो
(यात्रा संस्मरण : डा. चन्द्र गिरी)
लेखक डा. चन्द्र गिरीको यात्रा संस्मरणहरू समेटेर तयार पारिएको पुस्तक ‘संसारको सेरोफेरो’ बजारमा उपलब्ध छ । डा. गिरी अमेरिकामा बस्दै आएका छन् ।
आफ्ना कुरामा उनले लेखेका छन्, “कतिपय लेखकले एउटा ठाउँ वा एउटा देश घुमेर पुस्तक लेख्छन् । मेरो हकमा धेरै देश घुमेर यो संस्मरण लेख्न थालेको छु । कतिपय ठाउँमा पटक–पटक पनि गएको हुनाले मेरो अनुभव धेरैपटकको हुनसक्छ ।”
यो कृतिभित्र देश–विदेशका गरेर ३६ नियात्रा समेटिएको छ ।
साहित्यपोस्टद्वारा प्रकाशित २५२ पृष्ठको यो कृतिको मूल्य ४५०/– रुपैयाँ राखिएको छ ।
०००
विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक
(समालोचना : बद्रीप्रसाद ढकाल)
कथा, कविता, निबन्ध, समीक्षा, समालोचनालगायत विधामा कलम चलाउँदै आएका बद्रीप्रसाद ढकालको पछिल्लो पुस्तक हो, ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक’ । यसमा उनले बीपी कोइरालाका उपन्यासको चिरफार गरेका छन् ।
लेखकीयमा ढकालले लेखेका छन्, “विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा मिथक कृति मिथकको अध्ययनसँग सम्बन्धित छ । मिथकको अध्ययन वा मिथकीय समालोचना कुनै पनि साहित्यिक कृतिमा प्रस्तुत भएको मिथकीय पक्षको विवेचना गर्ने पद्धति हो ।...।”
प्रा. डा. कुमारप्रसाद कोइरालाले भूमिकामा लेखेका छन्, “...यस कृतिको दोहोरो महत्त्व छ, पहिलो मिथकीय सिद्धान्तको प्रारूप, परिभाषा सन्दर्भको चर्चा भएको छ भने अर्कोतिर यसले साहित्यलाई मिथकीय वा आद्यरूपीय समालोचनाको सैद्धान्तिक पद्धतिबाट व्याख्या र विश्लेषण गरेको छ ।”
यो कृतिभित्र सात अध्यायमा मिथक र नेपाली साहित्यसहित कोइरालाका उपन्यासमा मिथकीय प्रयोगका विविध विषय उल्लेख छ ।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित २१२ पृष्ठको यो पुस्तकको मूल्य ५००/– राखिएको छ ।
०००
अविरल यात्राजस्तो मेरो जिन्दगी
(गीतसंग्रह : डा. दुबसु क्षेत्री)
डा. दुबसु क्षेत्री चिरपरिचित साहित्यकार हुन् । परराष्ट्र तथा कूटनीतिक सेवामा आबद्ध रहे पनि उनको काव्यकारिता र लेखन यात्रा निरन्तर छ । केही समयअघि प्रकाशित उनको गीतसंग्रह हो, ‘अविरल यात्राजस्तो मेरो जिन्दगी’ ।
दुबसुका कविता, गीत, गजल, मुक्तकसंग्रह गरेर तीन दर्जनभन्दा बढी कृति सार्वजनिक भइसकेको छ ।
पुस्तकको लेखकीयमा उनले लेखेका छन्, “मैले बाल्यकालदेखि नै गीत लेख्न थालेको रहेछु । मेरो पुरानो डायरी हेर्दा मैले पहिलो गीत वि.सं. २०२९ साल साउन २२ गते आइतबार लेखेको रहेछु ।...।”
कृतिको भूमिकामा डा. मधुसूदन गिरीले लेखेका छन्, “...गीतकार दुबसुका दृष्टिमा जीवन जगत् चाहेजस्तो संगतिपूर्ण छैन । विसंगतिका चाङहरू छन्, घर घरजस्तो छैन, मन मनजस्तो छैन, देवता खोज्दा पत्थर फेला पर्छ, रहर खोज्दा जहर चाख्नुपर्छ, मन्दिर खोज्दाखोज्दै थाकेर मसान पुग्नुपर्छ ।...।”
यो संग्रहभित्र कृतिकारका १०१ गीत समावेश छ ।
दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानबाट प्रकाशित १४४ पृष्ठको यो पुस्तकको मूल्य ५०१/– रुपैयाँ राखिएको छ ।
०००
लासमाथिको मानवता
(नाटकसंग्रह : डा. पुरण राई)
कथा, कविता, नाटक र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका डा. पुरण राईको अर्को कृति हो, ‘लासमाथिको मानवता’ । यो नाटकसंग्रहभित्र राईका चार नाटक पढ्न सकिन्छ ।
लेखकीयमा उनले लेखेका छन्, “मैले समाजमा देखेको समस्या भनौँ या अमानवीयता भनौँ या पाप भनौँ या महापाप नै भनौँ जो मभित्र छट्पटाइरहेको थियो । टनाटन भरिएको छोरोल्पा तालजस्तै म प्रसव पीडाले भरिएको थिएँ ।...।”
अनलाइन अभिलेख प्रालिद्वारा प्रकाशित १२० पृष्ठको यो पुस्तकको मूल्य १९९/– रुपैयाँ राखिएको छ ।