काठमाडौं । हिन्दू पौराणिक कथाहरूमा नागपञ्चमी र सर्पहरूको विशेष भूमिका छ। नागपञ्चमीका दिन नेपालीले परम्परागत रूपमा दुष्ट आत्माहरूबाट बच्न घरको ढोकामा दूध, कपासको माला बनाई पूजा गरी घरको ढोकामा नागको तस्बिर टाँस्ने गर्छन् । घरघरको भित्तामा टाँसिने नागको चित्र भने बजारमा जताततै बिक्रीमा राख्न थालिएको छ । बजारमा पाइने नागको चित्र भने मेसिनले छापेको वा बाहिरबाट आयात भएको पाइन्छ ।
यता, पुर्ख्यौली काम र सिपलाई बचाउॅदै भक्तपुर याछेकी ६८ वर्षीया चेतकुमारी चित्रकार नागपञ्चमीलाई लक्षित गरेर नागको चित्र कोरिरहेकी छन् । छापिएको पात्रोमा आफ्नै हातले रङ भर्न उनी व्यस्त छिन् । २१ वर्षमा विवहा गरेकी चित्रकारले यो सिप सासु ससुराबाट सिकेकी हुन् । पहिले सबै चित्र हात र काठको बल्कको सहायताले बनाइन्थ्यो । तर, अहिले आकार मेसिनले छापिने र रङमात्र अफैंलै भर्ने चित्रकारको भनाइ छ । यही कामलाई निरन्तरता दिन पाउॅदा खुसी व्यक्त गर्ने उनलाई भने कहिलेकाहीँ आफ्ना नातीहरूले पनि काम सघाउने गर्छन् । उनी पहिले हातले केरेको चित्रको व्यापार बढी हुने तर अहिले धेरैले यो काम गर्न छोडेको बताउँछिन् । उमेरका कारण धेरै चित्र बनाउन नसके पनि उनलाई भने यो काम छोड्न मन छैन । यो वर्ष नाग पञ्चमी साउन १७ गते परेको छ ।
तस्बिर :अभिषेक महर्जन