site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गहकिलो कथाभित्र खगेन्द्रको स्वाद
Sarbottam CementSarbottam Cement

काठमाडौ । पढ्न विद्यालय गएको छोरोलाई बाटोबाटै माओवादीले अपहरण गरेर लैजान्छ । माओवादी जनआन्दोलन सकिन्छ । तर, बेपत्ता भएको छोराे फर्किंदैन । पेन्सन आउने जागिर छोडेर छोराको खोजी गर्ने बुवाको कपाल फुल्छ । आमाको छटपटीले पहाडको चुचुरो नाघ्छ । हराएका साथी/सहकर्मी फर्किएर घरबार बसाल्छन् । दौँतरीले पढाइ सक्छन् । तर, बेपत्ता छोरो फर्किंदैन । छोरो फर्किने बाउआमाको आस भने मर्दैन । दसैँमा आफनै घर–आँगनमा छोराका दौँतरी फर्किन्छन् । तर, यद्धमा हराएको छोरो फर्किएर नआउँदा आमाको मन कस्तो हुन्छ ? यसकै सेरोफेरोमा बुनिएको कथा छ, ’पानीफोटो’ मा ।

सुरुमा छोरालाई प्रहरीले दुःख दिन्छ । पछि माओवादीले । छोराले त दुःख पायो नै । हराएको छोरोको खोजीमा बाउआमाले पाउने दुःख र बगाउने आँसु चलचित्रको मुख्य कथा हो । यसकै सेरोफेरोमा चलचित्र एक घण्टा ५२ मिनेट घुम्छ ।

सरकार सक्रमणकालीन न्यायको कुरा गर्छ । सञ्चारमाध्यम त्यसको सूचना प्रवाह गर्छन् । ‘काम गर्छौँ र भइरहेको छ’ भन्ने सरकारको आश्वासनमा पीडित विश्वास गर्छन् । तर, विस्तारै यो आशा मर्न थालेको छ । भलै, एकातिर आशा जगाउने सरकार, अर्कातिर फाट्टफुट्ट फकिरहेका बेपत्ता व्यक्ति । यसैले छोरो हराउने परिवारलाई आशाको दियो जगाइदिइरहेको छ । चलचित्रमा बेपत्ता छोराको बुवाको भूमिकामा अनुप बराल छन् । आमाको भूमिकामा मेनुका प्रधान (मैयाँ) । जो चलचित्रका मुख्य पात्र हुन् । हराउने छोरोको साथीको भूमिकामा मल्लिका महत (राधा) छिन् । चलचित्रमा नयाँ अनुहारका रूपमा देखिने मल्लिका अभिनयले दर्शकलाई लोभ्याउन सफल छिन् । मेनुका र अनुपको अभिनय सधैँ अब्बल नै रहन्छ । खासै धेरै ठाउँ नपाएका खगेन्द्रले दर्शकको मन जित्छन् । प्रकाश घिमिरे मन बिझाउने कथाबीचकै पनि दर्शकलाई थाहै नदिई हसाउँने पात्र हुन् । यद्यपि, कति ठाउँ उनी बिझाउँछन् पनि ।

Prabhu Bank
Agni Group
NIC Asia

कहीँ कतै संवाद धेरै भएको झैँ लागे पनि बेला–बेला आउने हँसिला र रसिला संवादले चलचित्रलाई मजबुत बनाउँदै अगाडि बढाउँछन् । चलचित्र जति अगाडि बढ्दै जान्छ, त्यति नै रसिला संवाद र झरिलो अभिनयले जीवन्त बनाउँछ । चलचित्रमा खगेन्द्र उति धेरै बोल्दैनन् । तर, उनको मौनताले नै बेपत्ता ‘कृष्णे’को अवस्था के छ बताउँछ ।

चलचित्रमा केही दृश्य छन्– सुरु, मध्य र उत्तरार्द्धखण्डतर्फ । जसले विम्बका रूपमा कथा भन्छ । घरको कोठामा चलचित्रका पोस्टर टाँसिएका छन् । त्यसमध्ये दुइटा पोस्टरले गाउँले र आमाको मन बोल्छ । चलचित्र आमाको पोस्टरले सन्तानप्रति आमाको अघाध स्नेह देखाएको छ । गाउँलेको पोस्टरले अप्ठ्यारोमा परेको परिवारको घाउमा नुनचुक छर्ने गाउँले र आफन्तको प्रवृत्ति चित्रित गरेको छ । समाज र आसैआसमा बसेको परिवारको कथा यी दुई पोस्टरले छर्लंग पारिदिएको छ । कथा भन्न निर्देशकले नियोजित रूपमा टाँसिएका पोस्टर हुन् वा संयोगले क्यामेरामा कैद भए । त्यो बेग्लै पाटो हो । तर, जे होस्, छायाकारले त्यसलाई यसरी देखाए, चलचित्रको आधाआधी कथा तिनै दुई पोस्टरले बक्छ । चलचित्रमा धेरै देखिने कुहिरोले सिनेमाका धेरै कथा भन्छ । नभेटिने छाया सिनेमाको साराश हो ।

Global Ime bank

तत्कालीन माओवादी–सरकार द्वन्द्रले सिर्जित कथामा चलचित्र सिञ्चित छ । देशमा के भइरहेको छ र सरकार के गरिरहेको छ भन्ने स–सानो कुरा ख्याल राख्ने आमाबुवा हराएको छोरो खोज्न सरकारी अड्डा–प्रशासन भने धाउँदैनन् । बरु, आफैँ कहिले रोल्पाको माथिल्लो बेल्ट त कहिले तराईका समथर भू–भागमा पुग्छन् । सरकारसँग उनीहरूलाई किन भरोसा छैन ? यसलाई भने निर्देशकले बलियोसँग स्थापित गर्न सकेका छैनन् । बेपत्ता छोरो खोज्न पेन्सन पाक्नै लागेको जागिर बीचैमा छोडेर आएका बुवा चलचित्रको मध्यान्तर अगाडिसम्म किन त्यति धेरै गम्भीर देखिँदैनन् ? उनको मनमा उकुसमुकुस त देखिन्छ, तर किन उदासीन छन् ? प्रस्ट्याउन लेखकले आवश्यक ठानेका छैनन् । त्यो आवश्यक थियो । आफैँ प्रहरीमा हुँदाको अनुभव देखाउन सकिन्थ्यो, त्यसले सरकारी गैरजिम्मेवारीलाई थप झापड हान्थ्यो । अथवा, प्रहरीमा रहँदा उसमा परेको बानी हटिनसकेको देखाएर कथलाई थप बलियो बनाउने ठाउँमा लेखक चुकेका छन् । अर्को बेपत्ता कृष्णेका बुवा भेट्न खोज्दा भाग्ने र भेट भए पनि खासै नबोल्नुले कृष्णेको अवस्था के छ, दर्शकले बुझिसक्छन् । तर, मुखै फोरेर भन्दा कथा झन् फितलो लाग्छ ।

कथाको अर्को कमजोर पाटो भनेको आमाबुवासँग छोरोको आत्मीयता कस्तो थियो ? बेलाबेलामा हेर्ने फोटोबाहेक लेखकले खासै यसलाई प्रस्ट्याउन प्रयास नै गरेका छैनन् । आफू बेपत्ता सन्तानको आमाबुवाको ठाउँमा बसेर त्यसको अनुभूत गर्न जबरजस्त बध्य तुल्याइएको छ । यति हुँदाहुँदै पनि सिनेमाको अब्बल पक्ष कथा नै हो । चाहे त्यो धेरैले भोगे/देखेकाले होस् वा जिम्मेवार निकायको उदासीपन होस् ।

चचित्रको अर्को बलियो पाटो सिनेमेटोग्राफी हो । साँझ होस् वा बिहान अथवा मध्यराति सुकिलामुकिला उज्याला दृश्य देखाउने रोगबाट ‘पानीफोटो’ बाहिर निस्किएको छ । कथाअनुसारका दृश्य र कलरमा चलचित्रमा काम गरेको देखिएको छ । घरभित्रका दृश्य, घरबाहिरका दृश्य, उच्च लेक र पहाडका दृश्यमा सिनेमेटोग्राफर चनाखो देखिएका छन् ।

चलचित्रको अर्को मौलिक पक्ष ब्याकग्राउन्ड स्कोर हो । अक्सर हरेक सिनेमामा एकै प्रकारका ब्याकग्राउन्ड स्कोरले नेपाली चलचित्रलाई कमजोर बनाउने गरेको छ । पानीफोटो त्यसबाट अलग छ । अघिल्लो महिना रिलिज भएको ‘दोख’ले पूर्वी नेपालमा बजाइने बाजालाई प्रयोग गरेको थियो । पानीफोटोले पनि स्थानीयपन झल्काउने अनुकरणीय प्रयास गरेको छ ।

तत्कालीन माओवादी–सरकार द्वन्द्वका कारण यो नेपालका अधिकांश गाउँको कथा हो । त्यसैले पानीफोटो ठाउँविशेषको कथा होइन । तर, निर्देशकले जुन भूगोलमा पुगेर कथा भनेका छन्, भाषामा त्यहाँको आञ्चलिकता देखाउने प्रयास गरेका छन् ।

काठमाडौ वा पूर्वी नेपालको झापाको सिनेमा हलमा बसेर चलचित्र हेर्ने दर्शकले स्याङ्जा, बर्दिया र रोल्पाको जिब्रो खुट्ट्याउन नसक्ला, तर दृश्यमै सही विविधता भने पक्कै महसुस गर्छन् । चलचित्रमा माओत्से गुरुङको लवज रोल्पाली मगरले हो कि होइन त्यो त मोरङका दर्शकले थाहा नपाऊलान्, तर हेर्दा फरक भने निश्चय नै पाउनेछन् । छोटो भूमिकामा माओत्से दर्शकको हृदयमा बास गर्छन् ।

खगेन्द्र निःसन्देह उम्दा चलचित्र लेखक र कलाकार हुन् । तर, उनले पहिलो निर्देशनमार्फत आफू निर्देशनमा पनि कम नरहेको सन्देश पानीफोटोमार्फत दिएका छन् । उनी जति खिपेर कथा लेख्न सक्छन्, त्यति नै निर्देशकीय क्षमता पनि राख्छन् भन्ने सकेत गरेका छन् ।

बलिउड फर्मुलाका सिनेमा हेर्ने बानी परेका दर्शकलाई चलचित्रको क्लाइमेक्स चित्त बुझदैन । बिहानी पखको सपनाले आशाको त्यान्द्रोलाई मजबुत बनाउँदै गर्दा निर्देशकले चलचित्रलाई बिट मार्छन् । अन्तिममा के हुन्छ, दर्शकको दिमागलाई निर्णय गर्न दिनुपर्छ भन्ने सोच लेखक–निर्देशकमा देखिएको छ । यसलाई ‘ओपन इन्डेड’ सिनेमाको विशेषता भनेर भन्न सकिएला । तर, त्योभन्दा धेरै आफैँ लेखकसमेत रहेका निर्देशकले बठ्याइँ गरेका छन्, चलचित्र चल्यो भने ‘पानीफोटो–२’ का लागि ठाउँ छोडेर ।

आफ्नै गाउँ/समाजको कथा हेर्न रुचाउने दर्शक र खगेन्द्रका यसअघिका सिनेमा रुचाएका दर्शकले पानीफोटो रुचाउँछन् । तर, ‘फास्ट कट’ बलिउड र साउथका चलचित्र लत लागेका दर्शकलाई चलचित्र ‘स्लो’ लाग्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement