site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्तरहीन साहित्य फस्टाएको छ
Sarbottam CementSarbottam Cement

(कथाकार अर्चना थापा क्रियाशील स्रष्टा हुन् । ‘कठपुतला’ उनको चर्चित कथासंग्रह हो । उनले ‘स्वअस्तित्वको खोज’, ‘स्मृति कथामा सत्व’लगायत कृतिहरू सम्पादन गरेकी छन् । प्रस्तुत छ, बाह्रखरी कथा प्रतियोगिता पहिलो संस्करणको निर्णायकमण्डलकी सदस्य थापासँग गरिएको कुराकानीको सम्पादित अंश ।) 

कथा के हो ? यसको रूप कस्तो हुनुपर्छ ?
कथा हाम्रो जीवनको अभिन्न भाग हो । परापूर्वकालदेखि नै कथा भनिँदै र सुनिँदै आएको छ । प्राचीनकालदेखिको मौखिक कला–संस्कृति समयक्रममा लिपिबद्ध हुन थाल्यो र कथा लेखनको अवस्था, स्वरूप, प्रवृतिस्तरमा यथेष्ठ विकास हुन थाल्यो । यस्ता परिवर्तनले प्रमाणित गर्छ, कथालाई एउटा निश्चित परिभाषामा समेट्न सकिँदैन ।

प्रायःजसो ‘एक बसाइमा पढेर सकिने, एउटा पात्रको जीवनको कुनै घटनामा आधारित आख्यानात्मक रचनालाई कथा भनिन्छ’ भनेर परिभाषित गरिएको पाइन्छ । केही साहित्यकारले कथालाई ‘जीवनको आँखीझ्याल हो, जहाँ काल्पनिक पात्रको जीवनका घटना, गतिविधि, भावनाहरूको आरोह र अवरोहको इतिवृत्त कलात्मक र गद्यात्मक रूपले प्रस्तुत गरिएको हुन्छ’ भनेर पनि परिभाषित गरेका छन् ।’ तर, मेरो विचारमा जसरी साहित्यमा गतिरूद्ध स्थिरता असम्भव छ, त्यसरी नै साहित्यको जुनसुकै विधामा पनि देश, काल र परिस्थितिअनुसारको परिभाषा फेरिँदै जान्छ । समकालीन कथाकारहरूले नयाँ शैली र नयाँ प्रस्तुतिमार्फत कथा लेखनका युगीन परिभाषाहरू भत्काउँदै आएका छन् । तसर्थ, कथा लेखनलाई एउटा परिभाषामा बाँध्नु भनेको कथात्मक सिर्जनाका असीमित सम्भावनाहरूमाथि प्रतिबन्ध लगाउनुसरह हो । कथाको रूप ठ्याक्कै यस्तै हुनुपर्छ भनेर म किटान गर्न सक्दिनँ । साहित्य क्षेत्रमा कोरिएका प्रारम्भिक पारम्परिक प्रारूपहरूहरू कुनै समयमा कथा लेखनका लागी ‘गाइडलाइन’ थिए होलान् । तर, आजको समयमा कथाकारलाई कथा लेख्नको लागि परिभाषा वा निर्देशनको आवश्यकता पर्छ जस्तो मलाई लाग्दैन ।

Prabhu Bank
Agni Group
NIC Asia

कथाको स्वरूप कस्तो हुनुपर्छ भन्ने प्रश्नले कथाको बहुलतालाई नकारेको जस्तो लाग्छ । कथाको एकनिष्ठ रूपमा मेरो विश्वास छैन । जसरी कथा विभिन्न प्रकारका हुन्छन्, तदअनुरूप त्यसको रचना विधान, तत्त्व र शैली पनि विभिन्न प्रकारका हुन्छन् । उदाहरणको लागि बालकथा, लघुकथा, पौराणिक कथा, लोककथा, तिलस्मी कथा, अपराध कथा, दन्तकथा, जातककथा, भ्रमण वृतान्त कथा, रतिराग कथा, डायस्फोरिक कथा, हास्यव्यंग्य कथा, ऐतिहासिक कथा, आञ्चलिक कथा, पञ्चतन्त्र कथा, विज्ञान कथा र अन्य प्रकारका कथा लेख्नको लागि आकर्षक र रुचिवद्र्धक स्वरूपलाई विचार गरेर कथाकारले कथा लेख्नुपर्छ । मेरो लागि कथाका परिभाषा र रूप अपरिमित छन् ।

कथा किन लेखिन्छ ?
कसैले स्वान्तसुखायका लागि कथा लेख्छन् । कसैले बजारका लागि लेख्छन् । कसैले अविस्मरणीय घटनालाई काल्पनिक स्वरूप दिएर कथा लेख्छन् । कसैले आदर्श चरित्रको माहात्म्य स्थापित गर्न कथा लेख्छन् । कसैले ऐतिहासिक गौरवगाथाको गुणगान गर्न कथा लेख्छन् भने कसैले लोककल्याण र समाजमा नैतिक आदर्श स्थापित गर्न, उपदेश दिन पनि कथा लेख्छन् । कथा लोकप्रिय साहित्यिक विधा हो । त्यसकारण कथा लेख्ने असंख्य कारण हुनसक्छन् । म बजारको लागि, समय कटाउनको लागि, रमाइलोको लागि र लोकप्रिय हुनको लागि कथा लेख्दिनँ । म समाजमा स्थापित यथास्थितिवादी सोच, चिन्तन, मान्यताको विरोधमा र सामाजिक एवं राजनीतिक परिवर्तनको लागि कथा लेख्छु । शब्दहरूमा शक्ति हुन्छ, जसले हाम्रो सोच, चिन्तन, व्यवहार र दर्शनमा परिवर्तन ल्याउँछ भन्ने विश्वास बोकेर म कथा लेख्छु ।

Global Ime bank

कसरी लेख्ने त कथा ? 
कथा यसरी लेख्ने भन्ने कुनै मूलमन्त्र छैन । र, छ भने पनि मन्त्र मेरो लेखनमा सहायक बनेको छैन । मेरा लागि साहित्यिक लेखन यस्तो विधा हो, जहाँ सिर्जनात्मक प्रारूपहरूको प्रशस्त सम्भावना हुन्छ । त्यसैले कथा–लेखन एकनिष्ठ मूलमन्त्रमा टिक्न असम्भव छ । तथापि, केही आधारभूत तत्त्वहरू छन्, जुन कथा लेखनमा आवश्यक हुन्छन् । ती हुन्, कथावस्तु, पात्र, संवाद, परिवेश, भाषा, कथ्यशैली र कथाकारको विचार वा दृष्टिकोण । समकालीन कथाहरूमा नेपाली शब्दकोशमा नअटाएका शब्दहरू, नयाँ विम्ब र अलंकारहरू, नयाँ कथ्यशैली र पारम्परिक रैखिक ढाँचामा लेखिने कथाहरूको स्वरूपलाई नपछ्याएर अरैखिक ढाँचामा कथा लेखिन थालिएका छन् । र, यस्ता अपारम्परिक कथाहरूलाई पाठकहरूले रूचाएका छन् ।स्वीकारेका पनि छन् । तसर्थ, कथा यसरी लेख्ने भनेर स्थापित भएका रूप विन्यास, ज्ञान, वर्ण विन्यास, कथ्यशैली र कथा लेखनका नियमहरू ब्रह्मसूत्र होइनन् भनेर समकालीन कथाकारहरूले बुझेका छन् । अबको समयमा कथा कसरी लेख्ने प्रश्नको परिधिबाट बाहिरिएका युवा कथाकारहरूले पारम्परिक परिभाषालाई विनिर्माण गर्दै नवनिर्माण शिल्पका कथा रच्न थालेका छन् ।

कथा लेख्दा के कुरामा विशेष ध्यान दिने ? कथा कौशल, शिल्प, कलात्मकता, विषयवस्तु, पात्र, प्रस्तुति या अनुभव ?
उल्लिखित सबै कुराहरू कथा लेखनमा आवश्यक छन् । उपन्यासको दाँजोमा कथा लेखनमा समयको सीमितता हुन्छ । तसर्थ, जीवनको ठूलो अंश समेट्न नसकिने, पात्रहरूको बहुल चारित्रिक आयाम, घटना विवरण, सम्बन्ध र अन्तर्सम्बन्धहरूको गहनता र जटिलता र कथाभित्र विकसित हुन सक्ने अनेकौँ उपकथाहरूले फक्रिने समय नपाउने चुनौती कथामा हुन्छ । यसर्थ पात्र र परिवेशको सजीव चित्रण, मनोरञ्जन, रोचकता, आकस्मिकता, कलासौष्ठव, कुतूहल, पात्र प्रस्तुति र स्पष्ट विचारको प्रस्तुतिमा ध्यान दिनु आवश्यक हुन्छ ।

कथा लेखनमा हतारोको अर्थ छ ?
कथा लेखनमा मात्र नभएर, साहित्यिक विधाको जुनसुकै लेखनमा हिजोआज हतार–लेखन हावी छ । विशेष गरेर युवा साहित्यकारहरूमा पुनर्पठन गर्ने र पुनर्लेखन गर्ने धैर्यता र अनिच्छा देखिन्छ । एकचोटि जे लेखियो त्यसलाई प्रकाशित गर्ने हतारोले अहिलेको साहित्यबजारमा स्तरहीन साहित्य फस्टाएको छ । त्यस्ता साहित्य दीर्घकालसम्म टिक्दैनन् ।

राम्रो कथा लेख्न के गर्ने ?
राम्रो कथा लेख्नको लागि एकचोटि लेखिएको कथालाई धेरैचोटि पढ्ने र पुनर्लेखन गर्न तयार हुने । बरू सकिन्छ भने साहित्यमा रुचि राख्ने साथीहरूलाई कथा पढ्न दिने र उनीहरूका प्रतिक्रिया र आलोचनालाई सुन्ने धैर्य राख्ने । सबैबाट पाएका सल्लाह र सुझावलाई मनन गर्दै कथामा आवश्यक लागेको ठाउँमा परिमार्जन गर्ने । एउटा राम्रो कथाकार हुनका लागि आफ्नै कथाको निर्मम पाठक र आलोचक हुन सिक्नुपर्छ ।

कथामा आकारले महत्त्व राख्छ ?
यदि, कसैले लघुविस्तार भएको गद्य सङ्कथनलाई मात्र कथा मान्छ भने कथाको आकारले महत्त्व राख्छ । यदि, कसैले लघुआयतनमा लेखिएको न्यून पात्रको उपस्थिति, लघुसंरचनामा आबद्ध गद्यस्वरूपलाई मात्रै कथा मान्छ भने उसको लागि पनि कथाको आकारको महत्त्व हुन्छ । मेरो लागि कथामा आकारले त्यति महत्त्व राख्दैन ।

कथा लेखनमा रुचि राख्नेहरूले अरूका कथाबाट प्रभावित हुन मिल्छ ?
लेखक हुने रुचि राख्नेले पहिला त कृतिहरू पढ्नु आवश्यक हुन्छ । आफ्ना देशमा लेखिएका विभिन्न कथाहरूसँगै सकिन्छ भने विदेशी लेखकका कथाहरू पनि पढ्नुपर्छ भन्ने लाग्छ । जति अरूले लेखेका कथा पढ्यो, त्यति नै आफ्नो लेखनका लागि मद्दत हुन्छ । अरूका कथा पढ्दै गर्दा पाठकले आफूलाई कस्तो कथा पढ्न मन लाग्छ र आफ्नो रूचि कस्तो कथा लेखनमा छ भन्ने कुरा पनि जान्ने अवसर पाउँछ ।

अरूका कथा पढे प्रभावित भइन्छ भन्ने मान्यता पनि कतिपयमा भेटिन्छ !
अरू कथाकारका कथा पढ्नेबितिक्कै आफ्नो विलक्षण साहित्यिक प्रतिभा बिटुलो हुन्छ भन्ने सोच दयनीय हो । सायद यस्तो मान्यता साहित्यिक शुद्धीकरणको परिणाम हो । यस्तो विरागपूर्ण सोचले गर्दा नै नेपाली साहित्यले आशा गरेको जस्तो विकास गर्न सकेको छैन । अरूका कथा पढेर प्रभावित भइन्छ भन्नेले कस्तो कथा लेख्ने होला ! हुन त अर्को तरिकाले सोच्ने हो भने सायद यो मान्यता डरले जन्मिएको मान्यता हो । शब्दबाट सिर्जित शक्तिको डर ! पहिला दलित, महिला र बहिष्करणमा पारिएको समुदायको लागि शिक्षा प्रतिबन्धित थियो । त्यो चेतनाको विकासको डर थियो । सायद, माथि उल्लेखित प्रश्न पनि समतामूलक समाज निर्माणमा आवश्यक रहेको सोच, चिन्तन र परिवर्तनको डरले जन्मिएको मान्यता हो ।

कथाकारका लागि कथा सिद्धान्तको ज्ञान कति आवश्यक छ ?
एउटा कथाकारले कथा लेख्दा कथामा रहेका पात्रहरू, विषयवस्तु, परिवेश, संवाद, दृष्टिकोण र विचारको सशक्त प्रस्तुतिको बारेमा सोच्छ । कथामा प्रस्तुत गर्न खोजिएको जीवनअंशलाई कसरी प्रभावशाली र रोचक ढंगले पाठकका सामु प्रस्तुत गर्ने, कथाले कसरी पाठकलाई तान्न सक्छ र कथा कसरी सुदृढ बनाउन सकिन्छ भन्ने बारे सोच्छ । उदाहरणको लागि, कथाकार सीता पाण्डेले सीता पाण्डेका कथाहरू (२०५६) लेख्दा, माया ठकुरीले आमा जानुहोस् (२०६४) लेख्दा, प्रेमा शाहले पहेँलो गुलाफ (२०२३) र विषयान्तर (२०२८) लेख्दा, इल्या भट्टराईले निःशब्द प्रश्नहरू (२०६३) लेख्दा, उषा शेरचनले तेस्रो रङ्ग (२०७०) लेख्दा र अन्य स्थापित कथाकारहरूले कथा लेख्दा सिद्धान्तबारे सोच्नुभयो होला र ? कथा लेखन र साहित्य सिद्धान्त दुई फरक कुरा हुन् । साहित्यिक सिद्धान्तहरू पद्धति हुन्, प्रणाली हुन् । अथवा, एउटा ‘लेन्स’ हुन् जसको प्रयोग गरेर समालोचक, समीक्षक र प्राज्ञकर्मीले कथाको गहनतम व्याख्या र विश्लेषण गर्छन् । मलाई लाग्दैन कुनै पनि कथाकारले कथा लेख्न बस्दा सिद्धान्त, वाद वा प्रयोगबारे चिन्तन गर्छन् । इतिहासको जुनसुकै कालखण्डमा लेखिएका कथालाई समकालीन साहित्यिक सिद्धान्तहरूको लेन्सबाट व्याख्या र विश्लेषण गर्न सकिन्छ । सिद्धान्तले कथामा निहित अर्थ र आशयलाई व्याख्या गर्छ ।

वादको घेरामा उत्कृष्ट कथा लेखिन्छ ?
सबैभन्दा पहिला त ‘उत्कृष्ट’ कथा कसलाई भन्ने विषय नै विवादित हुन्छ होला । वादको घेराले घेरिएर कथा कसरी लेख्ने बारे मलाई ज्ञान छैन । तर, प्रविधिले फड्को मारेको आजको समयमा जेम्स बेब टेलिस्कोपले ब्रह्माण्डमा रहेका असंख्य अज्ञात ग्यालेक्सीहरू बारे दिनहुँ नयाँ–नयाँ कुराहरू लेखिँदै छन् । तर, नेपाली साहित्यको ‘चोखोपन’बारे चिन्तित हामी केही अझै साहित्यिक अलौकिकता, साहित्यिक पवित्रता, साहित्यसम्बद्ध एकल ज्ञान र एकल परिभाषाको दुन्दुभि बजाउन व्यस्त छौँ । हामी नौलो ज्ञान, तरिका, सोच र शैलीबाट त्रसित छौँ । हामी साहित्यलाई अराजनीतिक भनेर प्रमाणित गर्न लागेका छौँ । वादको बादलले साहित्यलाई बिटुलो बनाउँछ भन्दै भ्रम छर्छौँ । यदि, कसैको कथामा नवचेतना, विचार र प्रस्तुति गर्यो भने हामी आयातित वाद, प्रयोग र सिद्धान्तको प्रयोगको आरोप लगाउँछौँ । उदाहरणका लागि, नेपाली कथा लेखनको इतिहासमा हामी पाठकले धेरैजसो महिला पात्रलाई दुःखी, हतास, असक्षम, कमजोर, दयाका पात्र, न्यायिक प्रक्रियामा निष्क्रिय, भाग्यवादी, मौन र अदृश्य पात्रका रूपमा चित्रित भएको पढ्दै आएका छौँ । समकालीन कथा लेखनमा त्यस्ता पारम्परिक नारी चित्रणलाई परिवर्तित गर्दै कुनै कथाकारले सिमान्तकृत समुदायकी वा दलित समुदायकी, सक्षम, वाचाल, कर्ममा विश्वास गर्ने, सामाजिक संरचनामा परिवर्तनको चाह राख्ने र तदअनुरूप पाइला चाल्ने आँटिली नारी पात्रलाई केन्द्रमा राखेर कथा लेख्यो भने तत्काल त्यो कथामा वाद, सिद्धान्त र प्रयोग देख्नेहरू भेटिन्छन् । के पौराणिक कथा, दन्तकथा, मिथक, तिलस्मी कथा वा ऐतिहासिक कथाहरू वाद र सिद्धान्तको व्याख्याबाट अछुत छन् ? के साहित्य लेखन अराजनीतिक हुन सम्भव छ ? मेरो व्यक्तिगत विचारमा पौराणिक राम र सीताका कथा होस् वा भविष्यको कल्पना गरिएर लेखेको कठपुतला कथा होस्, दुवै वाद र सिद्धान्तको व्याख्याबाट अप्रभावित छैन ।

कथामा प्रयोग कत्तिको जरुरी हुन्छ ?
साहित्यको आरम्भदेखि आजसम्मको विकासक्रममा कथा लेखनमा अनैकौँ प्रयोग भए । एक समयमा प्रयोग देखिएको नौलो प्रवृत्ति विस्तारै कथा लेखनमा चाहिने तत्त्व बनेर स्थापित हुँदै पनि गएका छन् । आख्यानको ठाउँमा आख्यानहीनता, एकल पुरुष नायकको ठाउँमा अनायकत्व वा बहुलनायकत्व, एकल धारणाको ठाउँमा बहुल धारणा वा निरपेक्ष विचार कथाबाट व्यक्त हुँदै आएका छन् । कुनै समयमा प्रयोग मानिएका कथ्यशैली र रूप पछिल्ला समयमा स्वाभाविक मानिएका छन् ।

कथालाई प्रभावकारी बनाउन गरिएको प्रयोग र कथालाई जबरजस्ती बोकाइएको प्रयोगमा ठूलो फरक छ । प्रयोगको निम्ति प्रयोग आवश्यक हुँदैन । तर, विषयको छनोट, प्रस्तुति प्रक्रियामा गरिएको प्रयोग, कथ्यशैलीमा गरिएको रुचिकर प्रयोगले कथालाई प्रभावकारी बनाउन मद्दत गर्छ । प्रयोगले कथाख्यानका पूर्वाधारलाई भत्काउने र कथा प्रस्तुतिकरणको परम्परालाई विस्थापित गर्ने क्रममा कथा विधालाई फराकिलो बनाउने, सिर्जनात्मक तत्त्वहरू (कथानक, पात्र, चित्रण, सारवस्तु, भाषा, गति र लय र विचार)लाई संयोजन गरेर बृहत् बनाउने, आख्यानात्मक सम्भावनालाई प्रबल गर्ने र अकथालाई पनि कथा बनाउन सक्ने सम्भावनाको विस्तार गर्छ र लेखनलाई नयाँ र रोचक स्वरूप दिन्छ भने लेखनमा प्रयोग सकारात्मक हो । प्रयोग भन्नेबित्तिकै पश्चिमा दिग्दर्शन, आयातित विचार, विधाभञ्जनकारी, विनिर्माणकारी, विध्वंसकारी र अनियोजित लेखन मात्र हुँदैन ।

तपाईं बाह्रखरी कथामा निर्णायक हुनुभयो । सैद्धान्तिक र प्रयोगका दृष्टिले प्रतियोगितामा छानिएका कथाको सबल र दुर्बल पक्ष के–के पाउनुभयो ?
२०७६ सालमा बाह्रखरीले आयोजना गरेको कथा प्रतियोगितामा मैले निर्णायक हुने अवसर पाएकी थिएँ । छनोटका क्रममा मैले प्रतियोगीहरूले देशका कुना–कुनाबाट पठाएका विविध विषयवस्तुमा लेखिएका कथाहरू पढ्ने अवसर पाएँ । युवा कथाकारहरूमा लेखनप्रतिको उत्साह, नयाँ विषयवस्तुको छनोट, नवीन कथ्य प्रस्तुतिको चाह, देशको दुरावस्थाप्रति चिन्ता, राजनीतिक–सामाजिक सचेतनाप्रति सजगता, युगीन विसंंगति र युगबोधक चेतना देखिनु भनेको कथाका सबल पक्ष हुन् ।

तर, नयाँ विषयवस्तु र कथ्यशैली प्रस्तुतिमा जति उत्साह देखिन्छ, त्यति नै कथामा पुनर्लेखनको कमी, अपरिष्कृत विचार र लेखनमा मिहिनेत नगरिएको देखिनु दुर्बल पक्ष हुन् । जबसम्म एउटा कथाकार आफ्नो कथाको निर्मम पाठक र आलोचक हुन सक्दैन र जबसम्म उसले कथामा रहेका अनावश्यक शब्द र वाक्यलाई काट्न सक्दैन, कथ्यलाई सलल बग्ने र सन्तुलित बनाउन सक्दैन, कथा सशक्त हुँदैन । कथाकारले एक चरणको कथा लेखेर सकाएपछि आफैँले जन्माएका पात्र एवं परिवेशप्रति र आफूले लेखेका शब्द, वाक्य, संवाद र प्रस्तुतिप्रति आलोचनात्मक पाठकीय दृष्टिकोणको विकास गर्न नसक्नु कथा लेखनको दुर्बल पक्ष हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement