
काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ०३१ सालमा घटेको चर्चित टिमुरबोटे काण्डमा ‘जोगिएका’ महेश कोर्मोचाको निधन भएको छ । गत शुक्रबार नै उपचारका क्रममा निधन भएका कोर्माेचाको पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर उनकै जन्मस्थान खिजिदेम्बा लगेर दाहसंस्कारको तयारी गरिएको छ ।
कोर्मोचाको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गरेको छ । वि.स. १९९९ सालमा जन्मिएका कोर्मोचा हजुरबुवा कांग्रेसको आन्दोलनमा जोडिएकाले बच्चा बेलादेखि नै कांग्रेसको राजनीतिसँग जोडिएको थिए । पछि ब्रिटिस आर्मीमा भर्ना भएका कोर्मोचा ब्रिटिस आर्मीको जागिर छोडेर पुनः कांग्रेसकै राजनीतिमा होमिएका थिए ।
उनी नेपाली कांग्रेसको जिल्ला सभापति, ०४९ सालको स्थानीय चुनावपछि जिविस सभापति बनेका थिए । विकासप्रेमी पहिचान बनाएका कोर्माेचा जातीय पहिचानको आन्दोलन कांग्रेसको असफलताको परिणामका रूपमा अर्थ्याउँथे । कांग्रेसले विचारमा अडिएर राजनीति गरिदिएको र आन्तरिक विवादलाई संसद् विघटनसहितका परिणाम नदिएको भए जतीय आन्दोलन उठ्न नसक्ने र सबै प्रजातन्त्रको छहारीमा गोलकद्ध हुने उनको विचार थियो ।
२०३१ सालको चर्चित टिम्बुरबोटे काण्डमा नेपाली कांग्रेका १३ जना मुक्ति सेनाले ज्यान गुमाएका थिए । उक्त काण्डका बखत मुक्ति सेनामै रहेका कोर्मोचा सालोलाई सामान पठाउँछु भनेर घर गएका थिए । त्यही रात तत्कालीन शाही सेनाले वडारमा घेरा हालेर १३ जनाले ज्यान गुमाउँदा दुईजना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
घटनापछि कोर्मोचाले जासुसी गरेको आरोप पनि लागेको थियो । तर, उनी कांग्रेसमै सक्रियल भइरहे । ०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले गरेको स्थानीय तह निर्वाचनमा भने कोर्मोचा पुनः जिविस सभापति बने र कांग्रेसले उनलाई कारबाही गर्यो । कारबाही फिर्ता नहुँदै विजय गच्छदारसहितले ०६४ मा मधेस केन्द्रित राजनीति सुरु गरे । कोर्मोचाले छुट्टै समूह बनाएका थिए । उनले पछि विजय गच्छदारले नेतृत्व गरेको मधेसी फोरमसँग एकता गरे र गच्छदारको पार्टीले कांग्रेससँग गरेको एकतासँगै ०७४ कात्तिकदेखि कांग्रेसमा आइपुगेका हुन् ।