
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहप्रशासन मण्डलेकरण भइरहेको टिप्पणी गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाइन् ।
“यो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ,” उनले भनिन् ।
उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन् । सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ ।
कार्कीले संसद् ढाँट्ने थलो भएको टिप्पणीसमेत गरिन् । “संसद्भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ । योजस्तो नीरस ठाउँ त केही रहेनछ । बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ,” उनले भनिन् ।
कार्कीले सरकारले सांसदको माध्यमबाट ढाँटिरहेको आरोपसमेत लगाइन् ।
उनले सदनको कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला भनी जिज्ञासा राखिन् । आफूलाई भने माया लाग्ने उनको भनाइ छ ।