
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई लोडसेडिङसँग जोडी सामाजिक सञ्जालमा अभिव्यक्त भनाइमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । प्राधिकरणले आइतबार बिहान विज्ञप्ति जारी गदै सामाजिक सञ्जालमा रहेको आफ्नो प्रभावलाई गलत सूचना तथा सामाजिक आक्रोशमा बदल्नका लागि नियोजित रूपमा प्रयोग गरिरहेको जनाएको छ ।
“यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि, लोकप्रिय कलाकार समेत जोडिने विषय चिन्ताजनक छ र विषयवस्तु नबुझी अभिव्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुर्याउन सक्दैन,” प्राधिकरणले भनेको छ, “प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नु पर्दछ । हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडि नलागी यो समस्याको दीर्घकालीन समाधानका लागि कार्य गर्दछ, तर नतिजा देखिन समय लाग्छ ।”
प्राधिकरणले योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगर्दा लाइन ट्रिपिङको समस्या देखिएको स्पष्ट पारेको छ । योजनाबद्ध रूपमा विद्युतीय सञ्जालको विकास नगरी सस्तो लोकप्रियताका लागि आफू अनुकूल वितरण तथा प्रसारण प्रणाली विकास गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको जनाएको छ ।
“विगतका वर्षहरूमा समेत प्रि–मनसुन र मनसुनको समयमा हावाहुरी र अधिक वर्षा लगायतका कारणले लाइन ट्रिपिङको समस्या रहेको थियो । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ हुँदा समेत अत्यधिक लाइन ट्रिपिङको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए । समस्या देखिए पछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर न त कमिटीले रिपोर्ट दिनुपर्ने, दिए पनि कार्यान्वयन नहुने प्रवृति विगतमा थियो,” प्राधिकरणले भनेको छ ।
२०८० साउन २६ मा बनेको कमिटीले पनि कुनै रिपोर्ट नदिएको प्राधिकरणले जनाएको छ । उच्चस्तरिय यो कमिटी समस्या समाधानका लागि नभइ जनआक्रोश कम गर्न बनाइएको पनि प्राधिकरणले बताएको छ ।