site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सजिलो छैन नि कथा लेख्न
Sarbottam CementSarbottam Cement

(ओममणि शर्मा स्थापित कथाकार हुन् । बीसको दशकको अन्तिमतिरबाट कथा लेख्न थालेका उनको ‘थाप’ कथासंग्रह साझा प्रकाशनले धेरैअघि नै बजारमा ल्याएको थियो । कथा लेखनमा निरन्तर सक्रिय रहे पनि उनको अधिक क्रियाशीलता नाट्यकर्ममा रह्यो । सर्वनाम नाट्य संस्थासँग आबद्ध कथाकार शर्मा यतिखेर उमेरका कारण कथा र नाट्यकर्मबाट टाढिएका छन् । केही समयअघि लघुकथा समाजले शर्मालाई ‘धनमान कथा सम्मान’ प्रदान गरेको थियो । प्रस्तुत छ, कथाकार शर्मासँग सोही सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश) 

‘धनमान कथा सम्मान–२०७८’ प्राप्त गर्दाको अनुभव कस्तो रह्यो ?
एउटा लेखकले कहिल्यै सम्मान पाउँछु भनेर लेखेको हुँदैन । उसले कुनै सम्मान र पुरस्कारको अपेक्षा पनि गरेको हुँदैन । उसले त मात्रै कथा लेखिरहेको हुन्छ । आफ्ना भावना कथाका पात्रहरूका माध्यमबाट पाठकलाई प्रस्तुत गरिरहेको हुन्छ । मैले पनि यसबारे कहिले पनि सोचिनँ । सोच्दै नसोचेको अवस्थामा यसरी सम्मानित हुँदा भने गद्गद लाग्छ । गर्वानुभूति हुन्छ ।

तपाईंको कथा लेखन पातलिएको हो ? त्यति देखिँदैन ।
अँ, मैले धेरै भयो कथा नलेखेको । करिब १० वर्ष नै भयो होला कि !

Prabhu Bank
Agni Group
NIC Asia

किन लेख्नु भएन ?
नलेखेको होइन, तर योबीचमा मैले लामा–लामा कथाहरू भने लेखिनँ । साना–साना लघुकथाहरू लेखिरहेको छु । लघुकथा लेखे पनि प्रकाशनका लागि कतै दिन सकिरहेको छैन । कहाँ दिने ? थाहा छैन । बस्, कापीमा लेखेर राखेको छु ।

लघुकथा वा छोटा कथाहरूको संग्रह नै प्रकाशित हुने गरी लेखेर राख्नुभएको छ ?
हो । छ छ । लघुकथाहरू थुप्रै लेखेको छु । किताबका रूपमा ल्याउन पुग्ने त होला । तर, किताब छाप्ने विषयमा सोच्न सकेको छैन ।

Global Ime bank

त्यस बेलाको लेखन प्रवृत्ति कस्तो थियो ?
त्यस बखतको लेखन व्यक्तिवादी आधारमा थियो । समाज, परिवेश र आफ्नो भोगाइभन्दा बाहिर ननिस्कने किसिमको । ऊ बेला आएका मेरा कथाहरू पनि त्यसै प्रवृत्तिभित्र रहेको छ । पछि गएर मैले कथाको शैली परिवर्तन गरेँ । त्यसपछिका कथा समाजवादी अवधारणाबाट प्रेरित भएर आए । यसरी प्रारम्भमा लेखिएका कथाहरूभन्दा केही परिवर्तित स्वरूपमा मैले कथा लेख्न थालेँ । किनभने, सुरुको समयमा लेखिएका कथाहरूमा म आफैँ वरिपरि घुमेका विषयवस्तु हुन्थ्यो । तर, पछि आफैँलाई अनुभूत भयो, समाज ठूलो छ । परिवेश ठूलो छ । त्यसैले कथा पनि आफ्नै वरिपरि नघुमेर सबैतिर पुग्नुपर्ने हो । किनभने, सामाजिक परिवेश भनेको धेरै ठूलो हुन्छ । त्यहाँभित्र पसेपछि अथाह विषयवस्तुले मानिसलाई घेर्छ । त्यसपछि नै मैले पनि लामा–लामा कथाहरू लेख्न थालेँ । यसरी लेखनशैली र त्यसको परिवेश परिवर्तित गर्दै लगेँ ।

कथाकारलाई स्थापित हुन कत्तिको गाह्रो थियो ?
त्यस्तो गाह्रो भएको मैले महसुस गरिनँ । किनभने, राम्रा कथा पत्रपत्रिकाहरूमा छापिन्थे ।

समकालीन कथाकारबीच प्रतिस्पर्धा थियो होला !
थिएन । भएजस्तो लाग्दैन । किनभने, सबैको कथा लेखनको धारा एउटै थियो । तर, विस्तारै स्पर्धाको विकास हुँदै गएको मैले अनुभव गरेको हुँ । एउटै धारामा रुमल्लिएर बस्दा त्यसले कथा लेखनलाई कमजोर बनाउँछ कि भन्ने मेरो सोचाइ रह्यो । त्यस्तै सोचाइ अरू कथाकारहरूको पनि हुनसक्छ । त्यसैले पनि मैले मेरो लेखनधारलाई फरक बनाउँदै लगेको हुँँ ।

कसैले प्रयोगवादी कथा लेखे कि लेखेनन् ? तपाईंले कुनै कथामा प्रयोग गर्नुभयो कि भएन ? 
मैले भनेँ नि, कथाकारहरूले कथाको धार परिवर्तन गर्दै गए । नयाँ–नयाँ प्रयोगका कुराहरू पनि आए । मैले पनि थोरै प्रयोगधर्मीता अँगाल्दै गएँ । किनभने, ममा पनि कथामा नयाँ प्रयोग हुनुपर्छ भन्ने लागेको हो । मेरा केही कथाहरू समयभन्दा अगाडि बढेर लेख्नुपर्छ भन्ने सोचका साथ केही फरक धारमा छन् । त्यसमा म के चाहन्छु, मेरो भावना के हो भन्ने कुरा मैले कथामा प्रयोग गरेको छु ।

प्रयोगको कारण स्पर्धा मात्र थियो या अरू केही ?
मेरो सन्दर्भमा भन्ने हो भने यसको मूल कारण हो, तत्कालीन पञ्चायती व्यवस्थाको सक्रमणकालीन परिवेश । किनभने, चेतना भनेको धेरै माथिको कुरो हो । मानिस चेतनशील प्राणी हो । मानिसमा चेतना हुन्छ नै । तर, चेतनामाथि नै पनि अंकुशको स्थिति थियो, त्यो बेला । त्यसैले मैले आफ्नो कथा लेखनीमा फरक विषयवस्तु प्रस्तुत गर्दै गएँ । समकालीन कथा लेखनवृत्तमा केही फरक शैलीका कथाहरू आऊन् भनेर मैले आफ्नो लेखनलाई परिवर्तन गर्दै लगेँ ।

हिन्दी कथाबाट प्रभावित हुनुभयो कि भएन ?
जब मैले कथा लेख्न थालेँ, त्यस बेलादेखि नै कथामा नयाँ लेखन परम्परा सुरु भएको थियो । जुन विशेषतः हिन्दीबाट प्रभावित देखिन्थ्यो । तर, मैले त्यसको विरोध गरेँ । विरोध गरेपछि त्यो परम्पराबाट प्रभावित हुने कुरै भएन । मैले कथामा आफ्नो दृष्टिकोण, आफ्नो समाज र परिवेशलाई मात्रै प्रस्तुत गर्दै गएँ । त्यसैबीचमा मैले विश्व साहित्यको अध्ययन पनि गरेँ । पढ्दै गएपछि मलाई लाग्यो– तिनका साहित्य धेरै उच्चस्तरका छन् । मैले पनि मेरो लेखनलाई प्रभावशाली बनाउनुपर्छ ।

हुन त त्यो समयमा समाजमा अनगिन्ती कथाहरू थिए । थुप्रो नै थियो भने हुन्छ । तर, त्यसलाई टपक्क टिपेर लेख्ने, समाजका अनुभूतिलाई आत्मसात् गरेर कथा लेख्ने कथाकार थोरै मात्र थिए । २० को दशकको अन्तिमतिर कथा लेखनमा बाढी नै आएको थियो । कथाकारहरू धेरै थिए । तर, तीमध्ये कतिपयले समाजको मूल तत्त्वलाई कथामा पस्कन सकेको पाइएन । त्यसैले त्यो बाढी ३० को दशकको प्रारम्भतिर सङ्लिँदै गयो । कतिपय कथाकारहरू हराएर गए ।

अर्थात्, पाठकको नारी समाउन सकेनन् ? 
पक्कै । तिनले आफ्नो लेखनीका माध्यमबाट पाठकलाई समाउन सक्नुपर्थ्यो । तर, सकेनन् । मलाई लाग्छ, एउटा कथाकारले समय र परिवेश दुवै समाउनुपर्छ । म पनि समय र परिवेश दुवै समाएर लेख्छु ।

कथा लेखनसँगसँगै नाट्य क्षेत्रमा तपाईंको सक्रियता रह्यो । साढे तीन दशकभन्दा बढी समय नाटकमा क्रियाशील रहनुभयो । तपाईंका कथाहरूमा नाटक आयो कि आएन ? 
आएन । कहिले पनि आएन । नाटकमा त्यतिका लामो समय बिताउँदा पनि म प्रभावित भइनँ । मैले लेखेका पाँच दर्जन बढी कथाहरू होलान् । तर, नाटकका कुरा कथामा आएनन् ।

त्यतिका कथा लेख्नुभयो । तर, संग्रह ल्याउनु भएन ?
एउटा कथासंग्रह प्रकाशित भयो, ‘थाप’ । साझा प्रकाशनले प्रकाशनमा ल्याएको थियो । जसमा पुरानै धारका कथाहरू समावेश छन् । त्यसपछि भने कथासंग्रह ल्याउन सकिनँ । कथा संकलन गरेर राखिएको त हो, तर कता हराएर गयो गयो । तिनको रेकर्ड नै रहेन । भोलिका दिनमा कथासंग्रह प्रकाशन गर्नुपर्छ भन्नेतिर पनि ध्यान गएन । बस्, लेख्दै गएँ । छाप्दै गएँ । एकपटक साझा प्रकाशनमा हुँदा कृष्णचन्द्रसिंह प्रधानले कथासंग्रहका लागि कथाहरू दिनुस् भन्नुभएको थियो । तर, मैले दिन सकिनँ । अब त उहाँ पनि यस लोकमा हुनु हुन्न । साझाको अवस्था पनि नाजुक छ । यता म एक्लो छु । मेरा कथाहरू खोजेर छाप्ने दयावान् नेपालमा कोही छैनन् । साझा र एकेडेमीले यस्तो काम गर्नुपर्ने हो भन्ने लाग्छ । तर, सबैको सोच दरिद्र छ ।

जतिखेर कथा लेख्नुहुन्थ्यो, कति समय दिनुहुन्थ्यो ? 
कहिलेकाहीँ मनमा कुनै विचारले पोल्नासाथ पनि कथा लेखियो । तर, कहिलेकाहीँ त लेख्नै नसकिने । विषय, परिवेश र पात्रले लखेटेको लखेट्यै गरे पनि कथा लेख्न सकिँदैनथ्यो । दिमागमा गाँठो पर्थ्यो । कुनै कथा एकै दिनमा पनि लेखेँ । कुनै कथा महिनौँ लागे । कथामा धेरै कुरा विचार गर्नुपर्ने भएकोले कथाले समय लिन्थ्यो । सजिलो छैन नि कथा लेख्न ।

प्रस्तुति : राजेश खनाल  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !