काठमाडौं । दैलेखको चामुन्डा बिन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय पुरुषलाई बन्धक बनाई नगद सात लाख रुपैयाँ फिरौती मागेको घटनामा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दाङको बबई गाउँपालिका–३ बस्ने ३५ वर्षीय लीलाराम विक, ३५ वर्षीय मार्सल भनिने नेपबहादुर घर्ती, तुलसीपुर उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सकुलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ बस्ने २० वर्षीय मनोज थारु, प्युठानको गौमुखी गाउँपालिका–७ घर भई दाङको तुलसीपुर–६ बस्ने २४ वर्षीय जनक कुँवर र तुलसीपुर–७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गएको सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी गरिरहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी ‘आफन्तको गाडी छ, बुटवल पुल्चोकसम्म आउनु, डाइभरलाई तपाईंको नम्बर दिन्छु’ भनेको खुलेको छ ।
केही समयपछि लीलारामसहितले पीडितलाई कुटपिट गरी वाग्मती प्रदेश–०१–२५ च ८७२९ नम्बरको गाडीमा राखी तुलसीपुर–५, सल्यान रोडस्थित युवम होटेलमा पुर्याएर बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले पीडितलाई बन्धक बनाइराखेको होटेलबाट सकुशल उद्धार गरी घटनामा संलग्न उनीहरूलाई घटनामा प्रयोग भएको गाडीसहित पक्राउ गरेको जनाइएको छ ।