काठमाडौं । यु–२० साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका छन् । घरेलु प्रतियोगितामा सफलता हासिल गरेका प्रशिक्षक केसीले खुला छनोटमार्फत नेपालभरका ७०० जनाबाट ४१ खेलाडी छनोट गरका थिए । केसीले असार १९ गते ११ जनालाई बिदा गरेर ३० खेलाडीमा टिमलाई झारेका थिए । प्रशिक्षक केसीले आइतबार ३० खेलाडीबाट अन्तिम २३ खेलाडी टुंगो लगाएका हुन् ।
केसीलाई च्यासल युथ क्लबका प्रशिक्षक बालगोपाल साहुखल र गोलकिपिङमा उज्ज्वल डंगोल सहायकका रुपमा सघाएका छन् ।
यू–२० साफ च्याम्पियनसिप भारतको भुवनेश्वरमा यही जुलाई २५ बाट हुनेछ । पाँच टोलीले राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुईले फाइनल खेल्नेछन् । प्रतियोगितामा आयोजक भारत, बंगलादेश, माल्दिभ्स, नेपाल र श्रीलंका छन् ।
नेपालले पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ । दोस्रो खेल नेपालले जुलाई २७ मा श्रीलंकाविरुद्ध खेल्नेछ । जुलाई ३१ मा नेपालले भारतविरुद्ध र लिग चरणको अन्तिम खेल अगस्ट २ मा बंगलादेशविरुद्ध खेल्नेछ ।
नेपाली टिमः
गोलकिपरः ईश्वर गुरुङ, उमेश चौधरी, र जियारथ शेख ।
रक्षकः अमर श्रेष्ठ, सोनित दहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धानी, रोशन थापा र अभिशेक वाइवा ।
मिडफिल्डरः दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छोन्जु, सगुन सुवाल, मनग्य नकर्मी र आयुष घलान ।
फरवार्ड : दीपेश राई, निराजन मल्ल, र रोहन खड्गी ।