काठमाडौं । साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुलीलगायतले उक्त कृति सार्वजनिक गरे । अधिकारीले यस कृतिमा संस्कृत भाषाका महाकवि कालीदासको काव्यकृति मेघदूतको व्याख्यासहित नारी–पुरुष प्रेमका प्रसंगहरू प्रस्तुत गरेका छन् ।
कार्यक्रममा साहित्यकार खेमराज पोखरेलको समालोचनाहरूको संग्रह ‘पाठकीय संदृष्टि’माथि परिचर्चा गरियो । कार्यक्रममा डा. फणिन्द्रराज निरौलाले ‘पाठकीय संदृष्टि’ समालोचनासंग्रह भए पनि कृति आत्मपरक निबन्धजस्तो लाग्ने उल्लेख गरे । समालोचना गर्दा समालोचक तटस्थ नबसेकोमा उनको गुनासो थियो ।
डा. दीनबन्धु शर्माले समालोचकीय कृतिलाई उत्तरआधुनिकतामा राख्नु पर्ने भन्दै समालोचनामा विधा भञ्जन भएको बताए । उनले पुस्तकको भाषा शैली स्वादिलो भए पनि प्रस्तुतिकरण सच्याउनुपर्ने भन्दै खरो टिप्पणी गरे ।
प्रा.डा. कुमारप्रसाद कोइराला, डा. शैलुन्दुप्रकाश नेपालले समालोचना परम्परागत नभइ फरक स्वादमा आएको बताए ।
श्रीओम श्रेष्ठ रोदनले संख्या जुलुसमा मात्रै काम लाग्ने तर साहित्यमा काम नलाग्ने भन्दै लेखकले पुस्तकको संख्या बढाउनुभन्दा पुस्तकको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।
राजकुमार बानियाले नेपाली साहित्यमा हरियाली छाएको तर त्यो घना रूख नभएर घाँसफुसमात्रै भएको टिप्पणी गरे ।