site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लीलाराज दाहालका दुई गजल
लीलाराज दाहाल

गजल १
नबोली नबोली तिमी छेउ आयौ
र ढोकै नखोली तिमी छेउ आयौ !

सुहाएन प्यारी नयनको इसारा
दबाएर बोली तिमी छेउ आयौ !

बडा चाडमा आऊ भन्दा नमानी
न माघी न होली तिमी छेउ आयौ !

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रमाऊँ खुसीले थियो आस ठूलो
लिई रित्तो झोली तिमी छेउ आयौ !

म हेरूँ कसोरी नियालेर प्यारी
न घुम्टी न चोली तिमी छेउ आयौ !

उठाऊँ कि प्याला थिएँ सोचमा यो
अझै मात घोली तिमी छेउ आयौ !

०००

गजल २
स्वार्थको झोला बोकेका छन् उनले
झोलामा खोला बोकेका छन् उनले !

केटाकेटी भनी झुक्याउन होला
हेर कोकाकोला बोकेका छन् उनले !

तस्करी गर्छन् हिरा जबाहरातको
तोलाका तोला बोकेका छन् उनले !

सानालाई भेटे त ताकेरै हान्छन्
हातमा सोला बोकेका छन् उनले !

भित्र राक्षसीपन छ, बाहिर भने
मान्छेको चोला बोकेका छन् उनले !

(वाग्मती–११, सर्लाही)
 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्