जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु वर्षमा भुक्तानी हुन बाँकी रहेको रकम आउँदो आर्थिक वर्षको बजेटबाट दिइने भएको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलपछि सभामुख सरोजकुमार यादवले आर्थिक वर्ष ०७९/८० को बजेटबाट भुक्तानी हुन बाँकी रहेको रकम दिन सरकारलाई निर्देशन दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का सांसद शैलेन्द्रकुमार यादवले सार्वजनिक महत्त्वको प्रस्ताव आज सभामा पेस गरेका थिए । प्रस्तावमाथिको छलफलमा सबै सांसदहरूले सहमति जनाएपछि सभामुखले सरकारलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सबै मन्त्रालयलाई भुक्तानी हुन बाँकी रहेको योजना र रकम छिटो पठाउन पत्राचार गरिसकेको बताए । मन्त्रालयबाट यकिन विवरण आएपछि भुक्तानी हुन बाँकी रहेको शीर्षकमा रकम छुट्ट्याई भुक्तानी गरिने उनको भनाइ छ ।