काठमाडौं । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
शैक्षिक सहयोगका लागि आयोजित एक कार्यक्रममा ईसेवा मनी ट्रान्सफरका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका हुन् । यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक यात्रामा थप सहजता प्रदान गर्दै उनीहरूको विद्यालय जीवनलाई थप प्रभावकारी बनाउने रहेको बताइएको छ ।
सहयोगअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीहरूले जुत्ता र मोजा प्राप्त गरेका छन् । जसले विशेष गरी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।
सन् २००८ मा स्थापना भएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७, मा अवस्थित श्री इन्द्रेश्वर माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयका प्रमुख तथा पदाधिकारीहरूले ईसेवा मनी ट्रान्सफरप्रति आभार व्यक्त गर्दै सहयोगले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूको शैक्षिक अनुभवमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।