काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले एसियाली खेलकुद स्थगित भए पनि नेपालले आफ्नो तयारी जारी राखेको बताएका छन् ।
नेपाल स्ट्रेन्थलिफ्टिङ महासंघको आयोजनामा शनिबारदेखि काठमाडौंमा सुरु प्रथम राष्ट्रिय खुला स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेस प्रतियोगिताको उद्घाटन गर्दै घिसिङले जुनसुकै मितिमा एसियाली खेलकुद भए पनि नेपाली खेलाडीहरू तयारी अवस्थामा रहेको बताए ।
उनले अहिले पनि एसियाली खेलकुदका लागि २३ खेलका विशेष बन्द प्रशिक्षणहरू भइरहेको जानकारी दिए । योपटक खेलाडीहरूको शारीरिक परीक्षण पनि गरिएको उनले जानकारी दिए ।
नेपालमा स्ट्रेन्थलिफ्टिङ तथा इन्क्लाइन बेन्चप्रेसलाई अघि बढाउनका लागि राखेपले आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
प्रतियोगितामा देशभरबाट खेलाडीहरूको सहभागिता रहेको महासंघले जनाएको छ । प्रतियोगिता आइतबार (भोलि)सम्म राखेपको कभर्डहलमा सञ्चालन हुनेछ ।