site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
KFC Island Ad
Dabur Nepal
NIC Asia

मुख्य सरोकारवालालाई विश्वासमा नलिई सरकारले मात्र निर्णय गरे सङ्क्रमणकालीन न्यायको बाँकी काम सही अर्थमा टुंगिनेछैन । यसैले सङ्क्रमणकालीन न्यायका नाममा अहिले सरकारले देखाएको चासो सराहनीय भए पनि सफल हुनेमा सन्देह देखिएको छ ।
 
‘संक्रमणकालीन न्याय टुंग्याउन सरकारले ‘संक्रमणकालीन न्यायसम्बन्धी’ ऐनका साथै ‘बेपत्ता पारिएका व्यक्ति र सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन ’ पनि संशोधन गर्न विधेयक तयार छ  । द्वन्द्वपीडितहरू भने सरकारले जघन्य अपराधीलाई उन्मुक्ति दिने ऐन बनाउला कि भनेर सशङ्कित देखिन्छन् ।
 
ऐन संशोधन प्रक्रिया सुरु भएसँगै सरकारले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन नामका आयोगहरूको म्याद तीन महिना थपेको छ  । यी दुवै आयोगका अवधि आज असार मसान्तसम्म थियो । 
 
यस्ता आयोग यसअघि पनि बनेका थिए । तर, सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनभन्दा राजनीतिक नेतृत्व जघन्य अपराधका दोषीलाई उन्मुक्ति दिने उपायको खोजीमा बढी केन्द्रित हुँदा न्याय पीडितहरूको सपनाबाहिरको विषय बनिरह्यो ।  
 
घाउमा खाटा बसेजस्तो देखिए पनि समयैमा सही उपचार नभए भित्रभित्रै सैन पल्टेको हुनसक्छ । नेपाली जनताले भोगेको दस वर्षे हिंसात्मक द्वन्द्वको घाउ पनि न्यायको अभावमा अहिले यस्तै सैन पल्टिन पुगेको छ ।
 
माओवादीले सुरु गरेको हिंसा र राज्यद्वारा भएको प्रतिहिंसामा असङ्ख्य नेपालीले विनाकारण अकल्पनीय सास्ती र हानि सहनु परेको थियो । दोस्रो जनआन्दोलनपछि २०६३ मा विस्तृत शान्ति सम्झौता गरेर द्वन्द्वरत दुवै पक्षले हिंसा त टुंग्याए तर न्याय दिन सकेनन् ।
 
माओवादी लडाकुहरूमध्ये योग्य ठहरिएकालाई नेपाली सेनामा समायोजन गरियो । नेकपा ९माओवादी०का नेता निर्वाचनबाटै सत्तामा पुगे । राजनीतिक पहुँच हुनेहरूले यही बहानामा राज्यको ढुकुटीको डरलाग्दो दोहन गरे ।    
 
अहिले सरकारको नियत नराम्रो नहुनसक्छ । अन्यथा प्रमाणित नभएसम्म सरकारलाई पनि शङ्काको सुविधा नदिनु त न्यायोचित हुँदैन । तर, विगतमा देखिएको सरकारी व्यवहारले भने शङ्का नै उत्पन्न गराउँछ ।
 
सङ्क्रमणकालीन न्यायको प्रकरण जति छिटो टुंगिन्छ मुलुकलाई उति नै सहज हुन्छ । तर, यसको अर्थ मानवताविरुद्धको जघन्य अपराधमा समेत उन्मुक्ति दिएर मामिला सामसुम बनाउनुपर्छ भन्ने पक्कै हुँदैन । 
 
पीडितहरूले विश्वास गर्न सक्ने गरी कानुनमा परिमार्जन र आयोगहरूलाई सक्रिय गराउन खोजिएको हो भने त्यसलाई स्वागत योग्य नै मान्नुपर्छ । परन्तु, हिंसामा संलग्न राजनीतिक नेता कार्यकर्तालाई उम्काउने प्रपञ्च गर्न खोजिएको हो भने यो प्रत्युत्पादक हुनेछ । 
 
दोषीलाई माफी दिने अधिकार पीडितबाहेक अरूको हुँदैन र न्यायको बदलामा पैसा दिएर परिपूरण पनि हुँदैन ।  सरकार र राजनीतिक दलका नेताले यो सत्य आत्मसात् गर्नु जरुरी छ । बलमिच्याइँ गर्न खोजियो भने पीडितहरूका साथै अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्नेछैन । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro