काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन सर्त राख्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिन नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने बताएका हुन् ।
उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए । पाण्डेले विदेशमा गएर रेमिट्यान्स सहयोग भए/नभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिनेगरी व्यवस्था गर्दा राम्रो हुने बताए ।
उनले नेपालको ठुलो रकम विकशित मुलुकमा जाने तर मुलुकलाई कुनै योगदान नहुने अवस्था आएको बताए ।
उनले सरकारले नै विदेश जानका लागि सहयोग गरिरहेको देखिएको दाबी गरे । पूर्वमन्त्री पाण्डेले राष्ट्र बैंकले बाह्य क्षेत्रको दबाबलाई व्यवस्थित गर्न बनाउने नीतिले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराए ।
उनले मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुन सक्ने पनि बताए । पाण्डेले अर्थतन्त्रका सबै सूचकमा चाप रहेकाले सरकारले अगाडि सारेको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत कायम राख्न सरकारको लक्ष्य भए पनि पूरा नहुने देखिएको पनि बताए ।