बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिइन् ।
गुल्मीको दरबार गाउँपालिका-४ घर भएकी अस्मिता हाल तिलोत्तमा-३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएकी थिइन् ।
उनका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा छन् ।
अस्मिताको परिवारले शनिबार दिउँसो करिब ३ बजेको समयमा छोरी हराएको खबर आफूहरूलाई सुनाएको अस्मिताका बुवा नागेन्द्र पटहरालले बताए ।
हराएको खबर पाएलगत्तै खोजीकार्यमा लागेका उनीहरूलाई अस्मिताको घरबाट नै आइतबार फोन गरी छोरी मृत भेटिएको जानकारी गराएका थिए ।
खबर पाएसँगै घटना स्थल तिलोत्तमा-६ पश्चिम पहुनीस्थित तिनाउ नदीमा पुग्दा छोरीको शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएको पाइएपछि घटना शंकास्पद भएको माइती पक्षको आरोप छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले घटनाबारे थप अनुसन्धान अघि बढेको बताएका छन् । शवको पोस्टमार्टम पछिमात्रै अन्य कुरा जानकारी हुने उनले बताए । शव खोलामा घोप्टो अवस्थामा भेटिएको थियो ।