काठमाडौं । काठमाडौंको भाटभटेनीबाट पूर्वतर्फ अलिकति अगाडि बढेपछि सानो चोक आउँछ । चोकबाट दायाँतर्फ लागेपछि केही अगाडि आउँछ, रेल विभागको कार्यालय । त्यसको छेवैमा छ, विशालबस्ती लेखिएको ठूलो गेट । गेटबाट प्रवेश गरेरे केही अगाडि बढेर फेरि दायाँ मोडिएपछि आउँछ, आदर्शनगरको मोक्षमार्ग । घरका कम्पाउन्ड वालमा टाँसिएका घर नम्बरसहित मार्ग बताउने आदर्शनगरका बोर्डसँगै अरू बोर्ड पनि भेटिन्छन् ।
आदर्शनगर टोल सुधार समितिले विभिन्न चेतनामूलक बोर्ड कम्पाउन्ड वालमा टाँसेको छ । तिनैमध्येको एउटा बोर्डमा लेखिएको छ, आदर्शनगरका तीन मन्त्र– मस्तिस्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी ।
अर्को बोर्डमा लेखिएको छ– सरसफाइमा दिनू ध्यान, स्वस्थ राख्न जिउज्यान ।
कुनै बोर्ड टिलिक्क टल्किएका छन् भने कुनै धुलोधुवाँ लागेर लतपतिएका । जे होस्, ती बोर्डले टोल सचेत छ अथवा केही सचेत मान्छे बस्छन् भन्ने सन्देश दिइरहेको थियो ।
नभन्दै एउटा घरभित्र देखिए पाइन्ट–सर्टमाथि खैरोकालो स्टकोट लगाएका झुस्स दारीजुँगा पालेका पुरुष । ती व्यक्ति रहेछन्, आदर्शनगरका महापुरुष !
“यी सबै बोर्ड मैले बनाउन लगाएर टाँसेको हो नि !,” अधबैँसे एक पुरुषले सुनाए, “यी एक–एक बोर्ड र यसका वाक्यको अर्थ छ ।”
गेट खोलेर भित्र पस्दा भेटिए, राजाराम पौडेल । अर्थात्, यी सबै दृश्य थिए सिनेमाका लागि तयार पारिएका । ठाउँ त नक्कली होइन, तर मार्ग र बोर्ड बनावटी हुन्, मात्र सिनेमाको छायांकनका लागि तयार पारिएको ।
अधबैँसे पुरुष थिए, कलाकार तथा निर्माता रविन्द्रसिंह बानियाँ । उनी भन्दै थिए, “कुनै पनि कुरा सिनेमामा नक्कलीजस्तो नदेखियोस् भनेर सानोसानो कुराको डिटेलिङ गरेका छौँ । एकैपटक प्रिन्ट गरिएका यी बोर्ड साँच्चै आमगल्लीमा जस्तै कुनै नम्बर र अक्षरसमेत मेटिएका र कुनै नयाँजस्तै देखियोस् भनेर यस्तो बनाएका हौँ ।”
त्यति बेलै देखिए सेटमा चलचित्र निर्देशन गरिरहेका प्रदीप भट्टराई । उनको आँखा छेउमै रहेका कलाकारको टि–सर्टमा पुगेर ठोक्किएछ । ‘तिम्रो सिनमा आज रातो टि–सर्ट छ र ?’ उनले जवाफ दिए, ‘होइन, यत्तिकै ला’को ।’
‘ए ए’ भन्दै उनी फर्किंदै थिए, अर्का कलाकारले सोधे, ‘पूरै एग्रेसिभ हुने हो म ?’
‘हो नि ! पूरै रिसाहा स्वभावको मान्छे हुन्छ नि, त्यस्तै स्वभाव छ तपाईंको । मिटिङमा रिसाएर टेबुल ठोकेर बोल्ने हो तपाईं ।’
‘ए ए ल ।’
छेउमा रहेका रवीन्द्रले भने, “ऊ त्यो पार्किङमा बाइक छ नि, देख्नु’भो एक लटको बाइक ? बिजनेसमेन सौरभ ज्योतिको कलेक्सनबाट ल्या’को । छेउमा रहेको त्यो अर्को बाइक छ नि, त्यो नेपालमै एकपिस मात्रै छ रे ! त्यस्तो महँगो !”
महापुरुष त हरि दाइ (हरिवंश आचार्य) त होला !
“त्यस्तो छैन । मान्छे महापुरुष पनि हुन सक्दैन र गिरेर राक्षस पनि हुन सक्दैन भन्ने हो । हरि दाइले त्यो सन्देश दिनुहुन्छ ।”
पाइन्ट–सर्टमाथि खैरोकालो स्टकोट लगाएर झुस्स दारीजुँगा पालेका पुरुष हरिवंश हुन् ।
हाफपाइन्टमा रहेका राजाराम गेटबाहिर बाइक रोखेर हेलमेट नखोली गेट खोलेर स्वाट्ट् भित्र पसे । ‘कट ! फेरि एकपटक लिऔँ यो सिन,’ निर्देशक बोले । एकपटक होइन, राजारामले त्यही सट पटकपटक दिए ।
‘भित्र जाँदा हुन्छ, सकियो ?’ एक महिलाले सोधिन् ।
‘आजको सकियो, भोलि अब एक छिन फेरि सुटिङ हुन्छ, थ्याङक्यु आमा,’ रविन्द्रले भने ।
“उहाँ घरभेटी आमा, उहाँको घरलाई चाहिँ हामीले राजाराम दाइको घर बनाएका छौँ,” रविन्द्रले भने, “हाम्रो आफ्नो घर कस्तो हुन्छ, यस्तो घरलाई आफ्नो भनेर नाटक गर्नुपरेको छ, हा हा हा ! हाम्रो काम त अजिबकै हो ।”
क्रियटिभ हस्तक्षेप कत्तिको गरिरहनुभएको छ ?
“म त रौँ–चिरा केलाउने हो । प्रत्येक सिन मात्रै होइन, त्यसको सानोसानो कुरामा पनि म यो किन भनेर प्रश्न गर्छु,” रविन्द्रले जवाफ दिए, “मैले मजा लिने भनेको नै सिनेमा निर्माणको प्रोसेसमा हो । प्रोसेसमा जति मजा आउँछ, त्यति सिनेमा हेर्दा पनि आउँदैन ।”
छायांकनमा भन्दा पनि उनी स्क्रिप्टमा नै लेखक र निर्देशकसँग झगडा गर्छन् । छायांकनमा त त्यो त्यति धेरै सम्भव हुँदैन पनि । स्क्रिप्टमा भने हरेक सिन, कलर, एंगल, डाइलगमा उनी लेखक र निर्देशकसँग जवाफ खोज्छन् ।
“यस्तो डिस्कसमा कि मलाई उनीहरूले स्पष्ट पार्न सक्नुपर्छ होइन भने मैले भनेको हुनुपर्छ भन्ने मेरो तर्क हुन्छ,” उनी स्पष्ट पार्छन्, “मैले भनेकै हुनुपर्छ भन्ने होइन । मलाई लजिकसहित स्पष्ट पारेको अवस्थामा म लेखक र निर्देशकको भनाइमा सहमत हुन्छु । कि उनीहरूले मलाई सहमत गराउनुपर्यो कि मैले उनीहरूलाई ।”
त्यसो त उनलाई नै विश्वास गर्ने हो भने उनी निर्देशकलाई सुटिङमा पनि छोड्दैन थिए । केही वर्ष अगाडि ‘टलकजंग भर्सेस टुल्के’को छायांकन भइरहेको थियो । रविन्द्र कार्यकारी निर्माता थिए । फिल्म निर्देशन गरिरहेका थिए, ब्लक बस्टर सिनेमा ‘लुट’ निर्देशक ‘निश्चल बस्नेत । रविन्द्र हरेक सटमा निश्चललाई यस्तो होइन, यसो गरौँ भन्थे । यो होइन, यो एंगल ठिक हुन्छ होला भन्थे । निश्चलको पछिपछि लागेर यस्तो र उस्तो गरौँ भन्थे ।
देख्नेलाई नै असहज लागेछ, उनका साथीले साँझ भने, ‘...होइन, तिमी निर्देशक हौ कि निश्चल ? हेर्दा त तिमी पो निर्देशकजस्तो देखिरहेका छौ त । यो भएन, त्यो भएन, त्यसो होइन, यसो गरौँ भन्छौ । यसरी हुँदैन, यस्तै हो भने निर्देशकले फिल्म छोड्लान् ।’
हँ ! झस्किए रविन्द्र । हो त है ? मैले त निश्चललाई सहयोग गरेजस्तो पो लागिरहेको थियो ।
‘सहयोग होइन, हस्तक्षेपजस्तो देखिरहेको छ ।’
त्यसपछिको अर्को दिन निश्चललाई भने, ‘मैले त डिस्टर्ब नै गरेँ कि क्या हो ! सरी है, मैले जान्ने भएर भनेको होइन । मेरो विचार राखिरहेको थिएँ । सहयोग गरिरहेको छु भन्ने लागेको थियो ।’
निश्चलले हाँस्दै भने, ‘होइन, मलाई सिकाउनेभन्दा पनि तपाईंको उद्देश्य मलाई सहयोग गर्ने नै हो भनेर चुप लागेको हुँ । तर, अझै एक–दुई दिन यस्तै गरिरहेको भएचाहिँ सहयोग गरेकै भए पनि भन्नैपर्ने हुन्थ्यो ।’
अहिले सायद रविन्द्र परिपक्व भए । ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘जात्रा’, ‘जात्रै जात्रा’ गरिसक्दा उनले धेरै अनुभव पनि सँगाले । त्यसैले उनी प्रदीपसँग जति विवाद र तर्क–वितर्क गर्छन्, कथा र स्क्रिप्टमै गर्छन् । छायांकनमा त सहजीकरण गर्ने मात्र हो ।
जसले जतिसुकै चित्त दुखाए पनि नेपाली चलचित्र उद्योगमा निर्माता होइन, फाइनान्सर हावी छन् । भलै, उनीहरू आफूलाई प्रोडुसर अथवा निर्माता भनाउँछन्/लेखाउँछन् । निर्माता त त्यो हो, जसले चलचित्रको रौँ–चिरा केलाउने क्षमता राख्छ । उनीहरूको भूमिका चलचित्रका क्रिएटिभ डिपार्टमा हुन्छ । कार्यकारी निर्मातामा त त्यो अधिकार हुन्छ, जसले निर्देशकलाई कलात्मक पक्षमा हस्तक्षेपसमेत गर्न सक्छ । भलै, यसमा अन्तिम अधिकार निर्देशककै हुन्छ । नेपालमा भने व्यवहारत निर्माताको भूमिका निर्वाह गर्ने कमै छन् । सच्चा निर्माताको टड्कारो खाँचो छ ।
गौरी मल्ल आइपुगिन् ।
‘दिदी आइपुग्नु त भयो, तर आज तपाईंको सिन सुटिङ पो हुँदैनजस्तो छ,’ रविन्द्रले भने, ‘लौ ! डबिङ गर्दागर्दै छोडेर स्टुडियोबाटै आ’को । नहुने भए अघि नै भन्नुपर्थ्यो नि ।’
‘तपाईंलाई फोन गर्दा मौसम बिग्रिएको थिएन । तपाईं आउँदाआउँदै मौसम बिग्रिएर पानी पो पर्न लाग्यो ।’ रविन्द्रले गौरीलाई कन्भिन्स गर्न खोजे ।
मौसमले गर्दा कति सिन सेड्युलअनुसार भएको छैन । आउटडोर सिन खिच्न नमिलेपछि छायांकन युनिट इनडोर छायांकनतर्फ लाग्यो ।