काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले आफूलाई नसमेटेको भन्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संघले आजदेखि आयोग कार्यालय अगाडि धर्ना दिएको छ ।
द्वन्द्वपीडितले द्वन्द्वको चपेटामा परेका पीडित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सम्मानजनक पहिचान गराउनुपर्ने, घाइते सुरक्षाकर्मीको उपचार गर्नुपर्ने, द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्नुपर्ने लगायत माग राख्दै विभिन्न नाराबाजीका साथ तीन घण्टा धर्ना गरेका हुन् ।
‘आयोगले सशस्त्र द्वन्द्वका कारण सुरक्षाकर्मीमाथि भएको क्षतिबारे केही नबोलेकाले’ आफ्नो पहिचान गराउनका लागि धर्ना गरिएको संघका अध्यक्ष बिना दाहालले बताए । उनले आयोगको ऐन संशोधन गरेर आफ्ना सुनवाइ गर्नुपर्ने बताए । संघका सचिव तुल्सी बस्नेतले राज्यका तर्फबाट द्वन्द्वकालमा ज्यान गुमाएका सुरक्षाकर्मीलाई आयोगले अन्याय गर्न खोजेको आरोप लगाए ।
संघले बिहान १० देखि अपराह्न १ बजेसम्म धर्ना गरेको हो । सशस्त्र द्वन्द्वका बेला करिब छ हजार ५०० सुरक्षाकर्मीले ज्यान गुमाउनाका साथै घाइते भएका थिए । रासस