site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
’पीडित’ले बयान फेर्दा पनि किन छुटेनन् पल शाह ? अब फैसला कुर्नुपर्ने

काठमाडौं । उच्च अदालत पोखराले नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहलाई थुनामै राख्न आदेश दिएसँगै उनी तत्काल रिहा हुने सम्भावना सकिएको छ । गएको बिहीबार न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

यसअघि, जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए ।

अब जिल्ला अदालतले फैसला नगरी उनी रिहा हुने वा नहुने टुंगो लाग्ने छैन । बलात्कारको आरोप लगाएकी किशोरी र उनका बुवाले अदालतमा बयान फेरेपछि पलले उच्च अदालतबाट उन्मुक्ति पाउन सक्ने धेरैको अनुमान थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँका न्यायाधिवक्ता रामचन्द्र शर्मा अब जिल्ला अदालतको फैसला कुर्नुपर्ने बताउँछन् । उनले भने, “हाम्रो दाबी त अहिले पनि दोषी नै भन्ने हो । अब अदालतले के गर्छ त्यो कुर्नुपर्छ । केही साक्षीहरूको बयान अझै बाँकी छ ।”

शर्माका अनुसार पुर्पक्षका लागि जेल चलान भए पनि यति समयभित्रै मुद्दा टुंग्याउनुपर्ने भन्ने बाध्यकारी कानुन छैन । उनले भने, “सामान्यतया मुद्दा चलेको एक वर्षभित्र सकाउनुपर्छ भन्ने हो । तर, यही नै भनेर कतै छैन ।”

कतिपय कानुन व्यावसायी पीडितले बयान फेरे पनि सजाय हुन सक्ने बताउँछन् । अभियुक्तलाई दोषी प्रमाणित गर्न परिस्थितिजन्य प्रमाण, घटनामा जोडिएका व्यक्तिको बयानलगायत पनि घटनालाई पुष्टि गर्ने अधार हुन सक्ने सम्भावना रहने कानुन व्यावसायीहरू बताउँछन् ।

पलविरुद्ध प्राविधिक प्रमाण पनि प्रहरीले जुटाएको थियो । प्रहरी अधिकारीहरू पललाई दोषी सावित गर्न प्रमाण पर्याप्त रहेको दाबी गर्छन् ।

१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्तापछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा पुगेका थिए ।

फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

पलविरुद्धको उजुरीपछि सात दिन, १२, चार र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गराएको थियो । चैत १० मा जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro