काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रु–युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको बताएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पनि परेको बताए ।
“रुस र युक्रेन युद्धका कारणले पनि अर्थतन्त्र प्रभावित भएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, फलाम, कोइलाको मूल्यवृद्धिको प्रभाव प्रत्यक्षमा हामीमा परेको छ । यसले यातायात, निर्माण क्षेत्र प्रभावित भएको छ,” उनले भने ।
यद्यपि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भन्दै उनले यो पनि सकारात्मक पक्ष भएको बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको थियो ।