काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डरको वरीयतामा शीर्ष १० मा पर्न सफल भएका छन् ।
गत साता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा दीपेन्द्र ‘म्यान अफ दी सिरिज’ घोषित भएका थिए । दीपेन्द्रसिंहले शृंखलाको पाँच इनिङ्समा एक शतक र दुई अर्धशतकसहित २५५ रन बनाएका थिए । उनी शृंखलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् ।
दीपेन्द्रले फाइनलमा पीएनजीविरुद्ध अविजित ५४ रन बनाउनुका साथै चार ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए ।शृंखलामा दीपेन्द्रले १४.२ ओभरमा एक मेडनसहित ९९ रन दिएर सात विकेट लिए । धेरै विकेट लिनेमा दीपेन्द्र चौँथो स्थानमा रहे । नेपालकै करण केसीले सबैभन्दा धेरै १३ विकेट लिए भने सन्दीपले ११ विकेट लिए ।
अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन् । बंगलादेशका शाकीब अल हसन दोस्रो र इङ्ल्यान्डका मोइन अली तेस्रो स्थानमा छन् । नामिबियाका जेजे स्मिथ चौँथो स्थानमा छन् ।
दीपेन्द्र ब्याटिङतर्फ भने ३८औँ स्थानमा छन् । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३६ र आसिफ शेख ९९औँ स्थानमा छन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ३८औँ स्थानमा छन् । त्यस्तै अभिनाष बोहरा ८६औँ स्थानमा रहेका छन् ।