site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हलिउडको सेट टेकेपछि अनुभूत भएको त्यो लघुताभास
SkywellSkywell

करिअरको पहिलो चलचित्र ‘बुलबुल’ले राम्रै चर्चा पायो । बक्सअफिसमा धमाका मच्चाउन त सकेन, तर समीक्षकको तारिफ पायो । फिल्म राम्रो भएपछि स्वाभाविक रूपमा निर्देशक नोटिस हुने नै भए । केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पनि फिल्मले अवार्ड उचालेपछि निर्देशक विनोद पौडेलमा काम गर्ने ऊर्जाको पारो थप उकालो लाग्यो ।

उनलाई बलिउडका डुप्लिकेट सिनेमा बनाएर दलदलमा फस्नु थिएन । वर्षौँदेखि हजारौँ हराइरहेको बाटो हिँडनु थिएन । त्यसैले उनी लामो समय दिमागमा राखेको स्टोरी बोकेर आठ महिना अगाडिको एक साँझ अमेरिकाको जहाज चढे । भुटान हुँदै नेपाल आएर अमेरिका पुगेका भुटानी शरणार्थीको कथा भन्न विनोद अमेरिका पुगे । चलचित्र उतै खिच्नु थियो । नेपाली चलचित्र यस्तो हुन्छ भनेर विदेशका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुग्नु थियो । नेपाली चलचित्रको स्वाद विश्वभरका सिनेमामेकरलाई चखाउनु थियो । मनभरि यही परिकल्पनाको पोको बोकेर उनी गुल्जार अमेरिका पुगे ।

पेन्सिलले कागजमा घर बनाउनु एउटा कुरा, माटोमा कंक्रिटको घर ठड्याउनु अर्कै कुरा । अर्थात्, फिल्म त बनाउने तर कसरी ? 

KFC Island Ad
NIC Asia

अमेरिकामा सिनेमा बनाउनु थियो । त्यताको प्रक्रिया र तौरतरिका बुझ्नु थियो । 

फेरि उही प्रश्न– तर, कसरी ?

Royal Enfield Island Ad

कि त्यहाँ काम गरेको अब्बल नेपाली प्रोडक्सन डिजाइनर चाहिन्थ्यो । होइन भने हलिउड सिनेमामा काम गर्ने अमेरिकी नै लिनुपर्थ्यो । पहिलो अप्सनमा नेपालीले त्यसरी प्रोफेसनल रूपमा काम गरेकै थिएनन् वा विनोदले पाएनन् । सिनेमाका थुप्रै पेजमा विज्ञापन गर्दा पनि उनले खोजेको नेपाली मूलको प्रोडक्सन डिजाइनर भेटेनन् । दोस्रो, हलिउड सिनेमामा महँगो पारिश्रमिकमा काम गरेको प्रोडुसरलाई विनोदले कसरी अफोर्ड गर्न सक्नु । 

त्यसो भए विकल्प के त ?

‘हलिउडमा यति धेरै सिनेमा बनिरहेका हुन्छन्, ब्याकग्राउन्ड आर्टिस्टका लागि भए पनि काम गर न, भयो भने त यहाँ कसरी सुटिङ हुन्छ, प्रोडक्सन डिजाइनको काम कसरी हुन्छ, काम कसरी गर्ने केही त थाहा हुन्छ,’ क्रितना बास्कोटाले सुझाइन् ।

त्यही दिनबाट विनोदले खोज्न थाले फिल्मका पेजहरू । उनी पुगे एन्जेला कास्टिङ कम्पनीको पेजमा, जहाँ मागिएको थियो– नेटफिक्सले बनाउँदै गरेको चलचित्र ‘विट जर्म’का लागि केही कलाकार । एडम ड्राइभर मुख्य भूमिकामा रहेको चलचित्रका लागि ब्याकग्राउन्ड आर्टिस्ट मागिएको थियो । डाइलग बोल्ने रोल त कहाँ पाउनु, पासिङ रोल नै सही । उनले अप्लाई गरे ।

त्यसअघि, बालबालिकाका लागि नेटफिल्क्सले बनाउँदै गरेको युट्युब कन्टेन्टका लागि न्युयोर्कमा दरखास्त दिएका थिए । बालबालिकासँगै गीत गाउनुपर्ने रोल थियो । एसियन फेस चाहिने भएकाले एप्लाई गरे । यहाँबाट रेस्पोन्स त आयो, तर प्रोडक्सनले भन्यो– तिमी आउन सक्छौ भने आऊ । तर, टाढा रहेछौ । हामी न्युयोर्ककै लोकल खोजिरहेका थियौँ । बस्ने व्यवस्था गर्न सक्दैनौँ । अनुभवका लागि गरेको अप्लाई । रेस्पोन्स आएको थियो । ओहायो बस्ने विनोदले हुन्छ भनेका थिए ।

त्यही बेला एन्जेला कास्टिङले ‘ओके’ गरेको मेल पठायो । न्युयोर्कको अवसर क्यान्सिल गरे । कारण, ओहायोमा छायांकन हुने भएकाले लामो ड्राइभ गर्नुपर्ने थिएन । बस्नका लागि समस्या भएन ।

‘विट जर्म’का लागि प्रोडक्सनले कस्ट्युमको साइज लियो । ओहो, कस्ट्युमको साइज लिएबापत पनि पारिश्रमिक ! विनोद छक्क परे । नपरून् पनि किन, नेपालमा त्यस्तै ब्यानर पर्‍यो भने कति सेन्ट्रल क्यारेक्टरले नै पैसा पाउँदैनन् ।

कोभिड–१९ टेस्टको रिपोर्ट नेगेटिभ आयो । काम पाउने पक्का भयो । तीन दिनपछि विनोदको सेड्युल तय भयो ।

सेटमा पुगेपछि विनोदले थाहा पाए उनको क्यारेक्टर । फेमेली मेन र पुलिस अफिसर उनले अभिनय गर्ने क्यारेक्टर थियो । त्यसपछि उनलाई पुर्‍याइयो, खानेबस्ने व्यवस्थासहितको एक लक्जरियस स्पेस । जहाँ चलचित्रको कथा सन् १९८५ को भएको प्रष्टै झल्को आइरहेको थियो । सोही समय झल्काउने पोस्टरहरू चारैतिर थिए । १९८५ का होटेल कस्ता थिए, त्यो समयका रेस्टुराँ र समाज कस्ता थिए, देखाउने तस्बिर र स्केचहरू चारैतिर थिए । विनोदलाई लागिरहेको थियो– म १९८५ को डिकेडमा छु । त्यो समयका क्यारेक्टर कस्ता थिए, त्यो स्वतस्फूर्त रूपमा कलाकारमा आओस् भनेर प्रोडक्सनले त्यो मिहिनेत गरेको थियो । त्यहाँ उनले आफूजस्तै करिब सयजना ब्याकग्राउन्ड आर्टिस्ट देखे ।

त्यसपछि सुरु भयो, सुटिङको प्रतीक्षा । मेकअप आर्टिस्टले त्यो समयका तस्बिर हेरेर उनीहरूलाई मेकअप गर्थे । उनीहरू यति डिटेलिङमा जान्थे, हरेक सानोसानो कुरामा पनि असिस्टेन्ट डिरेक्टरसँग के–कसरी, कस्तो भनेर सोध्थे र त्यहीअनुसार काम गर्थे । हाम्रोमा त यति डिटेलिङ हिरो/हिरोइनको मेकअपमा पनि गरिँदैन– विनोद मनमनै सोच्थे । उनलाई लाग्थ्यो, स्टार नै भइयो कि क्या हो ! तर, यथार्थ उनी ब्याकग्राउन्ड आर्टिस्ट मात्रै थिए । 

मेकअप सकिएपछि सुटिङको प्रतीक्षा हुन्थ्यो । तर, कतिखेर सुटिङ हुन्छ थाहा हुँदैनथ्यो । सुटिङ सेटको कुन कुनामा हुँदै छ भन्ने पनि थाहा हुँदैनथ्यो । सुटिङ हेर्ने त कुरै भएन । आधा काठमाडौंको क्षेत्रफलजति सुटिङ सेट थियो । कहाँ के हुँदै छ भन्ने नै पत्तो हुँदैनथ्यो । पालो आउनेहरूलाई असिस्टेन्ट डिरेक्टर र उनका असिस्टिेन्टहरू लिन आउँथे । गाडीमा राखेर लैजान्थे ।

पहिलो दिन स्टुडियोमा सुटिङ थियो । सुटिङका लागि ठूलठूला घरहरू थिए । घरअगाडि चक्कावाला रिमोटबाट सार्न मिल्ने रूखहरू थिए । यो पनि उनले लञ्च गर्न जाने बेला देखेका ।

“यस्ता इकुप्मेन्टहरू देखेँ मैले, जुन आजसम्म न मैले देखेको थिएँ न त परिकल्पना नै गरेको थिएँ,” विनोद भव्य र सभ्य हलिउडको प्रोडक्सन डिजाइनको स्मरण गर्छन्, “हामी यहाँ बसेर बलिउड र हलिउडजस्ता सिनेमा बनेन, अब बनाउनुपर्छ भन्छौँ, हामीले त्यो भनिरहँदा त्यहाँको भव्यताको हामीले सामान्य परिकल्पना पनि नगरी बोल्दा रहेछौँ । त्यहाँको रिसोर्सको शून्य दशमलव शून्य एक प्रतिशत पनि हामीसँग रिसोर्स छैन । अनि, कसरी हामी बलिउड, हलिउड र साउथका सिनेमासँग हाम्रा चलचित्र कम्पेयर गर्छौँ ?” विनोदले खेल्दै गरेको चलचित्र चार सय मिलियन अमेरिकी डलरमा बन्दै थियो ।

त्यहाँ सिनेमाका लागि चाहिने सानो प्रप्सका लागि छुट्टै उद्योग छ । हाम्रोजस्तो हचुवाका भरमा प्रप्स प्रयोग हुँदैन । सानोसानो कुरामा लजिक लगाएर काम हुन्छ । हाम्रोमा ? सबैलाई भलिभाँती थाहा छ ।
 
गाडीहरू थुप्रै हुन्छन् । ती गाडी हल्लाउने मेसिन हुन्छ । मेसिनले गाडी हल्लाइरहेको हुन्छ । विनोद तीनै गाडीमध्ये एउटा गाडीको ड्राइभर हुन्छन् । उनले चलाएको गाडीछेउबाट चलचित्रका मुख्य अभिनेताको गाडी पास हुन्छ । उनको सिन यही हो । तर, विडम्बना ! उनले रोल पाएनन् । किन ? जुन फेमेली आएको थियो गाडीमा बस्न, त्यो फेमेलीसँग विनोदको फिचर्स मिलेन । विनोद हेरेको हेर्यै भए । अर्कैले अवसर पायो । सेटमा पुगेर उनी फर्किए ।

अर्को दिन । स्टुडियो बाहिर सुट थियो । रातिको समयको सिन । करिब चार सय गाडी थिए । काठमाडौंको आधाभन्दा धेरै क्षेत्रफल ब्लक गरेर राखिएको थियो । १९८५ का दशकमा प्रयोग हुने गाडी थिए । ठूलो फ्याक्ट्रीमा ग्यास लिक भएपछि गाडी लिएर सहरबाट भागेको सिन थियो । आफ्नो परिवार लिएर भाग्नुपर्ने भएकाले विनोदलाई प्रोडक्सनले परिवारका सदस्य दियो । धन्न यसपटक परिवारका सदस्यका लागि ल्याएको ब्याकग्राउन्ड आर्टिस्टसँग उनको अनुहार मिल्यो । अवसर पाए । 

पानी परेको समयमा कार कुदाउनु थियो । भिड भएकाले ७–१० को स्पिडमाा गाडी कुदाउनुपर्थ्यो । त्यसै गरे । कति डिस्टेन्समा गाडी कुदाउने ? पहिला नै ट्रेनिङ दिइएको थियो ।

“कहाँबाट कस्तो क्यामेराले खिच्यो, भोलि सिनेमामा आफ्नो अनुहार देखिन्छ कि देखिँदैन थाहा छैन,” विनोद भन्छन्, “सायद अनुहार देखिँदैन । किनभने, अनुहार देखाउने व्यक्तिको सुट स्टुडियोमा हुन्छ । पिक्चरमा क्वालिटी आओस् भनेर स्टुडियोमा खिचिन्छ । यसका लागि गाडीभित्र लाइट राखेर खिचिन्छ । साउन्डदेखि लाइटसम्मका लागि यो गर्दा रहेछन् ।”

जब हलिउडको भव्यता देखे, उनलाई लाग्यो– नेपालमा त सिनेमा क्षेत्रले उद्योगको रूप नै लिएको रहेनछ । “हामी बामे सर्न पनि पो थालेका रहेनछौँ । भर्खर जन्मिएका मात्रै रहेछौँ भन्ने मलाई अनुभूत भयो । जसले बलिउडसँग नेपाली सिनेमा कम्पेयर गर्छ, त्यो त मूर्ख हो,” उनी भन्छन् ।

चलचित्र ‘साँघुरो’का मुख्य कलाकार शुशांक मैनालीले भनेका थिए, ‘विनोदजी, मलाई पनि अवसर मिल्छ कि भन्दिनुस् न ।’

विनोदले असिस्टेन्ट डिरेक्टरसँग कुरा गरे । उनले प्रक्रिया पुर्‍याएर आवेदन दिन भने । नभन्दै उनले पनि अवसर पाए । विनोदलाई साथी भए शुशांक ।

सुटिङमा आवश्यक परे बोलाउँथे । नभए बस्ने, पढ्ने, सिनेमा हेर्ने । दिन त्यसैगरी कटिरहेको थियो । काम नभए पनि दिनको ३०० देखि ३५० डलरसम्म पारिश्रमिक पाउँथे ।

सँगै बस्ने थुप्रै हुन्थे । तर, उनले लामो समय आफू फिल्ममेकर हुँ भनेनन् । कारण, त्यहाँ जसरी फिल्म मेकिङ हुन्छ, त्यस्तै फिल्ममेकर हो भन्ने उनीहरूले सोच्थे । “त्यसैले मैले धेरै दिनसम्म आफ्नो परिचय लुकाएँ,” उनी भन्छन्, “त्यहाँ फिल्ममेकरलाई दिने सम्मान नै बेग्लै छ । तर, लामो समयसम्म सँगै बसेका र पारिवारिक गफसमेत हुने केही अमेरिकी जो मजस्तै ब्याकग्राउन्ड आर्टिस्टका लागि आएका थिए, उनीहरूलाई भने मैले म फिल्ममेकर हुँ भनेर भन्दा छक्क परे । फिल्ममेकर भएर पनि यहाँ किन ! उनीहरू अचम्मित भए । मैले हलिउडको फिल्म मेकिङबारे बुझ्न आएको भनेँ । उनीहरू मलाई पनि तिम्रो सिनेमामा काम देऊ है भन्थे ।”

उनीहरू त्यहाँको जस्तै ठूलो मेकर होला भन्ने सोच्थे । तर, आफू कति सानो फिल्म उद्योगको फिल्ममेकर भन्ने विनोद स्वयंलाई मात्रै थाहा थियो । प्रोडुसर नपाएर भौँतारिरहेको पीडा उनले मात्रै भोगेका थिए ।

२५औँ दिनमा विनोदले एउटा रोल पाए, पुलिस अफिसरको । चार/पाँचवटा गाडी ठोक्किएर ठूलो दुर्घटना भएको हुन्छ । त्यहाँ साइरन बजाउँदै पुलिसको गाडीमा पुलिस अफिसर विनोद पुग्छन् । त्यहाँ कतै धुवाँ निस्किरहेको थियो, कतै आगो लागेर खरानी भइसकेको थियो । पुलिस अफिसर बनेका विनोदलाई उनका असिस्टेन्टले ब्रिफिङ गरिरहेका छन् । उनले ब्रिफिङ लिइरहेका बेला चलचित्रका मुख्य क्यारेक्टर एडम ड्राइभरको गाडी छेउबाट पास हुन्छ ।


 
करिब ३० देखि ४० सेकेन्डको त्यो सिन खिच्न रातभर लाग्यो । यही दिन हो, उनले पहिलोपटक क्यामेरा देखेको । क्यामेराले कसरी कुन एंगलबाट खिचिरहेको छ, पहिलोपटक देखेको ।

जसले क्यारेक्टरमा विनोदलाई ब्रिफिङ गरेका थिए, ती कलाकारसँग विनोदको कुरा भयो । उनले विनोदलाई भन्दै थिए– १२ वर्ष भयो ब्याकग्राउन्ड आर्टिस्ट भएर काम गरेको । उनले ‘एभेन्जरस इन्डगेम’, ‘स्पाइडरम्यान’को दुईवटै सिरिज तथा मार्बल स्टुडियाेका सिनेमामा पनि काम गरिसकेका रहेछन् । उनी विनोदलाई सुनाउँदै थिए, ‘यति ठूलो फिल्म इन्डष्ट्रिमा हामी एक्टर त कहाँ बन्न सक्छौँ र ! डाइलग पाउन त मुस्किल छ ।’ स्पाइडरम्यानमा चाहिँ उनले छोटो डाइलग पाएका रहेका छन् । सायद उनको जिन्दगीकै ठूलो उपलब्धि । 

तर, ब्याकग्राउन्ड आर्टिस्ट नै किन नहोस्, विनोदले अनुभूत गरे– त्यहाँ इज्जत छ । सेटमा लैजाँदा गाडी आउँछ । गाडीबाट सुटिङ स्पटमा लैजाँदा छाता ओडाउने अर्कै मान्छे हुन्छ । खान र बस्ने व्यवस्थामा कुनै कन्जुस्याइँ छैन । राम्रो पारिश्रमिक छ । त्यसैले त उनीहरू दशकौँदेखि ब्याकग्राउन्ड आर्टिस्ट भएर काम गरिरहेका छन् । त्यसमा सन्तुष्ट नै छन् । 

“जब म सुरुमा त्यहाँ जाँदै थिए, मलाई लागिरहेको थियो– १२ वर्षसम्म फिल्म कलेज चलाएको मान्छे, फिल्म बनाइसकेको डिरेक्टर, म यति सानो काम गर्न जाँदै छु,” विनोद स्मरण गर्छन्, “तर, मलाई काम गर्नेभन्दा पनि सिक्ने र जान्ने हुटहुटी थियो । जब म त्यहाँ पुगेँ, त्यसपछि मलाई लाग्यो– यहाँ नआएको भए मैले धेरै कुरा बुझ्ने नै थिइनँ । हरेक मुभमेन्टमा सिकिरहेको थिएँ । बुझिरहेको थिएँ । त्यसमै रमाइरहेको थिएँ ।”

अन्तिम दिन विनोदले मोनिटर हेर्ने अवसर पाए । निर्देशक आउने÷जाने गरिरहेका थिए । विनोदले टाढैबाट मोनिटर हेरिहेका थिए । फ्रेम हेरे । सट कसरी लिइरहेको छ, हेरे । त्यो देखेपछि त्यसअघि अत्तालिइरहेका उनमा अचनाक आत्मबल बढ्यो ।

“चार सय मिलियन डलरमा सिनेमा बनिरहेको छ । पैसा त पानी बगेजस्तो बगिरहेको छ । हामी त केही पनि हैनौँ भनेर आत्मग्लानि भइरहेको थियो । हामीले त केही पनि पो गरेका रहेनछौँ,” विनोद भन्छन्, “जब त्यो मोनिटर हेरेँ, मेरो दिमागमा आयो– जुन डिरेक्टरले मोनिटर हेरिरहेको छ, उसले हेर्ने त्यही फ्रेम त हो । १६ः९ को फ्रेम । मैले हेर्ने पनि त्यही फ्रेम हो । उसले कोर्ने फ्रेम पनि त्यही हो, मैले कोर्ने फ्रेम पनि त्यही हो । फरक यति हो, ऊसँग अथाह सम्पत्ति छ । ठूलो प्रोडक्सन डिजाइन छ । हामीसँग लिमिटेड सोर्स छ । फरक यति त हो ।”

विनोदलाई लाग्यो– मैले देखेको कथा र मेरो अनुभूति मेरो तरिकाले भन्छु । ऊसँग जति स्रोतसाधन छ, त्यसकै परिधिमा रहेर भन्छ । तर, उसले बनाउने पनि चलचित्र नै हो, मैले बनाउने पनि चलचित्र नै हो ।

त्यसपछि विनोदले आफैँलाई प्रश्न गरे– म किन अत्तालिरहेको छु ? जुन दिन म ह्युज प्रोडक्सन पाउँछु, त्यो दिन म पनि काम गर्न सक्छु । किनकि, कोर्ने त उही सेम फ्रेम त हो ।

जब २५औँ दिनमा विनोदलाई अवसर पाए म पनि गर्न सक्छु भन्ने अनुभूत भयो, २६औँ दिन उनले कास्टिङ डिरेक्टरलाई फोन गरेर भने– आजदेखि मेरो सेड्युल नराखिदिनू, म आउँदिनँ ।

उनी घर फर्किए । लेख्न थालेको स्क्रिप्टले निरन्तरता पायो । प्रोडुसर खोज्ने क्रम अघि बढ्यो ।

अर्को दिन फोन गरेर कास्टिङ डिरेक्टरले भन्दै थिए– बराक ओबामाले ब्ल्याक फ्रिडम फाइटरमा केन्द्रित भएर बनाउँदै गरेको चलचित्रमा भन्दिएको छु, जानू, त्यहाँ राम्रो पैसा छ । तर, विनोद भने– सरी !

जब उनले हलिउडको अकल्पनीय प्रोडक्सन देखे, त्यहाँ विनोदले लञ्चको मौका पारेर असिस्टेन्ट प्रोडक्सन डिजाइनरसँग लामो संवाद गरेका थिए । उनको जिज्ञासाको केन्द्र थियो, प्रोडक्सन डिजाइन कसरी हुन्छ ?

तिनले भनेका कुरा र दिएका आइडिया विनोदको दिमागमा सुरक्षित थिए । त्यसैले आफू र अंकित पौडेल (सिनेमेटोग्राफर)ले नै हेर्ने तयारी गरेको प्रोडक्सन डिजाइनको काम गर्ने व्यक्तिको खोजी गर्न थाले विनोद । खोजेजस्तो नेपाली मूलका व्यक्ति भेटिएनन् । त्यसैले उनले फोन गरे नेपालमा रहेका विमल सुवेदीलाई । विनोदको आग्रहमा नाइँनास्ति नगरी विमल अमेरिका पुगे । र, सुरु भयो– ‘रवर सिटी’को सुटिङ ।

अहिले यो चलचित्रको केही अंश छायांकन गरेका उनले बाँकी काम अर्को वर्ष गर्दै छन् । “म सायद त्यो हलिउड मुभीमा नगएको भए रबरसिटी एकैपटक छायांकन गरिसक्थेँ । तर, जब फिल्म खिच्दै जाँदा कथाअनुसारको मौसम भएन, मैले सुटिङ रोकेँ,” विनोद भन्छन्, “प्रोडक्सन डिजाइन सिनेमाका लागि कति महत्त्वपूर्ण छ भनेर मैले त्यसपछि बुझेँ ।”

जब विनोदले हलिउडका सिनेमाको भव्य प्रोडक्सन डिजाइन हेरे, त्यसपछि उनले वर्ल्डका मास्टर क्लास निर्देशकका मास्टर पिस सिनेमा दोहोर्‍याएर हेरे । ती फिल्ममा उनले लिंक गरेर हेरे, त्यहाँको प्रोडक्सन डिजाइन । र, त्यसले चलचित्रलाई दिएको उचाइ ।

‘बुलबुल’मा प्रोडक्सन डिजाइनलाई विनोदले जति सामान्य रूपमा लिएका थिए, ‘रबरसिटी’मा त्यति नै सशक्त पक्षका रूपमा लिए । १२ दिन लगातार वेदर चेन्ज भएपछि उनले अर्को वर्षसम्मका लागि छायांकन थाती राखे । कारण, उनी आफ्नो फिल्मलाई जुन कलर दिन चाहन्थे, त्यसमा सम्झौता गर्न तयार थिएनन् ।

“कति सम्झौता गर्नु सधैँ ! सम्झौता गर्दागर्दै आज नेपाली चलचित्र शून्य अवस्थामा छ । यसलाई अब माथि उठाउनु र विश्व मानचित्रमा नेपाली सिनेमाको स्थान दाबी गर्ने दायित्व हाम्रै त हो,” उनले जिम्मेवारीको काँध थापे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro