काठमाडौं । हिमाल सफा गर्न जिम्मा पाएको नेपाली सेनाले निर्धारित लक्ष्यअनुरूप फोहोर संकलन गर्न असम्भव देखिएको छ ।
सेनाले ४ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएको छ । तर, बजेट अभावले उक्त योजना पूरा हुन सम्भव देखिन्न ।
सफा हिमाल अभियानको तेस्रो संस्करण सुरु हुँदा लक्ष्यअनुरूप काम गर्न सेनालाई करिब ४ करोड रुपैयाँ अपुग हुने देखिएको छ । सेनालाई १२ करोड ९६ लाख ७० हजार ३७२ बजेट आवश्यकता भएकोमा सरकारले ८ करोड ३० लाख मात्र बजेट विनियोजन गरेको छ । सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरू ल्होत्से, कञ्चनजंघा र मनास्लुको सफाई गर्ने योजना बनाएको छ ।
तर, बजेट अभाव हुँदा निर्धारित लक्ष्यअनुरूप फोहोर संकलन गर्न सेना असमर्थ हुने छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले यदि बजेटको अभाव भए कम फोहोर संकलन गर्ने बताए । उनले भने, “हिमाल सफा गर्दा सबैभन्दा ठूलो चुनौती शव ल्याउनु हो । एउटै शव ल्याउन पनि २० देखि २५ लाखसम्म लाग्छ । त्यसैले फोहोर संकलनमा बजेट महत्वपूर्ण पाटो हो ।”
सेनाले शवहरू हिमालबाट सुरक्षित अवतरण गरी टिचिङ अस्पतालमा ल्याई मेडिकल जाँच गरेर परिवारको जिम्मा लगाउने र बेवारिसे छ भने नियमअनुसार अस्पतालमा राख्ने गर्छ । सेनाले हिमालबाट संकलन गरिएको फोहोर पुनर्प्रयोग गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि साझेदार संस्था अभ्नी भेन्चर्सलाई हस्तान्तरण गर्ने गरेको छ ।
अभियान कसरी सम्पन्न हुन्छ ?
अभियान चैत २२ देखि जेठको २२ सम्म सम्पन्न हुनेछ । प्रधानसेनापति प्रभुराम शर्माले फोहोर संकलन गर्न जाने सेनाका टिम लिडरलाई ब्यानर हस्तान्तरण गरेर अभियानको उद्घाटन गरेका थिए । उनले प्रकृति र पर्यावरण जोगाउन सेना ४० वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खटिएको स्मरण गर्दै भने, “संविधानमै सेनालाई प्रकृतिको संरक्षणको लागि खटाइएको छ । हिमाली क्षेत्रको वातावरणीय सन्तुलनको लागि यस अभियानले केही हदसम्म सहयोग गर्ने अपेक्षा छ ।”
अहिले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षको संरक्षणका लागि मुलुकभर सबै निकुञ्ज गरी १ हजार ९४९ सैनिक तैनाथ छन् ।
प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न 'हिमाल बचाउने प्रयास' भन्ने मूल नाराका साथ सुरु भएको अभियानको पहिलो चरणमा सेनाले पूर्व तयारी तथा समन्वय गरेको थियो । दोस्रो चरणमा एक्लिमटाइजेसन तालिम सम्पन्न गरी तेस्रो चरणमा सफा अभियान कार्यको शुभारम्भ गरेको हो । यसका लागि सेनाले सैनिकतर्फ ३० र गैरसैनिकबाट ५७ गरी ८७ जना सहभागी हुनेछन् ।
प्रथम सगरमाथा आरोहण दलका सदस्य ९० वर्षीय कान्छा शेर्पाले सुरुमा हिमालमा फोहोर नभएको स्मरण गर्दै हिमालमा फोहोर नियन्त्रण गर्न प्रत्येक वर्ष सरसफाइ अभियान चलाउनुपर्ने बताए । यसैगरी, २५औँ पटक सगरमाथा सफल आरोहण गरी रेकर्ड राखेका कामीरिता शेर्पाले हिमाल सबै नेपालीको अमूल्य धरोहरका साथै जैविक विविधतालाई कायम गर्न महत्वपूर्ण भएकाले यसको संरक्षणमा सबैको भूमिका रहेको औँल्याएका छन् ।
खुम्बुु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टसील्हामु शेर्पाले हिमाल जोगाउन जनचेतना फैलाउन महत्वपूर्ण रहेको बताइन् । भन्छिन्, “पर्वतारोहीले आरोहण गर्दा भुलेर सबै सामान लैजाने हुँदा सगरमाथा बेस क्याम्पमा नै जनचेतना दिनेगरी हेल्प डेस्क राखे फोहोर थुपार्न नियन्त्रण हुन सक्छ ।”
हुनत बेस क्याम्पमा सगरमाथा प्रदूषण नियन्त्रण समितिले आरोहणकर्ताले हिमाल चढ्दा बोक्ने सामानको तथ्यांक राख्ने गरेको छ । तर, हेलिकप्टरबाट जाने सामानको भने तथ्यांक कतै पाइँदैन । तर, आरोहणकर्ताले ओर्लंदा कम्तीमा १० केजी फोहोर भने आफैँले बोकेर ल्याउनुपर्छ ।
हिमालको सरसफाइ अभियानमा जोडिएको हिमालयन रेस्क्यू एसोसियसनले उद्धारका लागि अन्तर्राष्ट्रिय रूपमा व्यावसायिक ट्रेनरबाट उद्दार सम्बन्धी तालिम दिने व्यवस्था गर्दै आएको छ । यसका लागि एसोसियसनले सेनाको वारफेयर शिक्षालयबाट तालिम दिने गरेको छ । हिमाली क्षेत्रमा जाँदा लेक लाग्नेलगायतका स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न काम गरिरहेको एशोसियसनका सीईओ गोविन्द बस्यालले जानकारी दिए ।
यस्तै, एसोसियसनले सगरमाथा बेस क्याम्पमा मेडिकल क्याम्प पनि खडा गरी आरोहणकर्ताको स्वस्थ्य उपचारमा काम गर्दै आएको छ ।
यस वर्ष सफा हिमाल अभियानको दौरान सेनाले हिमाली क्षेत्रमा पाइने जडीबुटीको अनुसन्धान गर्ने भएको छ । सेनाका चार डाक्टर अधिकृतहरू खट्टिएर हाई अल्टिच्युडले स्वास्थ्यमा पार्ने प्रभावबारे अध्ययन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि माउन्टेन मेडिसिन रिसर्चसमेत गर्नेछन् ।
सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा नेपाल सरकारका सम्बद्ध निकायहरू लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, विश्व वन्य जन्तु संगठन नेपाललगायतको आर्थिक एवं प्राविधिक सहयोग रहने छ । अभियान विश्व वातावरण दिवसका दिन औपचारिक रूपमा समापन हुनेछ ।
यस वर्ष चैत २० सम्म ३१ वटा हिमालमा ३१ वटा टिमबाट २५२ जनाले हिमाल चढ्न अनुमति पाएका छन् । जसमा १८७ पुरुष र ६५ जना महिला रहेका छन् ।