site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिरोइन हिरोको मायाप्रीति गाँस्ने पात्र होइन
SkywellSkywell

ट्रकमा चलचित्रका ठूलठूला पोस्टर टाँसेर त्यसमा अनमोल केसी, सलोन बस्नेतसहित सुहाना थापालाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने रहर थियो । यसले चलचित्रको प्रचार आम समुदायमा पुग्छ भन्ने उनलाई लागेको थियो । घरमै प्रोडुसर सुनीलकुमार थापा र निर्देशक आमा झरना थापा, भन्नलाई के–कसो हो भनेर डराउनुपर्ने थिएन । आइडिया सुनाइन् । सिनेमा प्रचारको सुहानाको तौरतरिका झरना र सुनील दुवैलाई मनपर्‍यो । तर, मन परेर मात्रै हुन्छ र ? हुँदैन । र, भएन पनि । 

‘ए मेरो हजुर–४’ ले छायांकनदेखि नै मार खायो । कोरोनाको त्रासमा भएको लकडाउनले सिनेमाको लगानी फ्रिज भयो । त्यसले सिर्जिएको तनावको पारो कति चढेको थियो ? त्यसको अनुभूत सुनील र झरनाले मात्रै गरेका छन् । छोरीका नाताले सुहानाले पनि नियालिरहेकी थिइन् । त्यसैले उनीहरू निष्कर्षमा पुगे– योपटकलाई यस्तै भयो, अर्कोपटक देखा जागेगा ! त्यसपछि उनीहरूले सिनेमाको पुरानै प्रचार शैली अपनाए । अर्थात् मिडिया, अन्तर्वार्ता, भेटघाट, फेसबुक ।

“अन्तर्वार्ता त पढेलेखेका र इन्टरनेट र अनलाइनको पहुँचमा रहेका व्यक्तिसामु मात्रै पुग्छ । त्यसमा पनि आधा घण्टा, एक घण्टा लामो अन्तर्वार्ता हेर्ने फुर्सद कसलाई छ ?,” सुहाना प्रश्न गर्छिन्, “यो पुरानो तरिकालाई अब बदल्ने समय भइसक्यो । केही व्यक्ति होइन, आम समुदायमा जान ढिलो भइसक्यो ।”

KFC Island Ad
NIC Asia

सिनेमा मासका लागि भनेर बनाउने अनि प्रचारचाहिँ सीमित त्यो पनि एउटा क्लासका लागि मात्रै गर्ने ? सुहाना नेपाली सिनेमाको प्रचार शैलीप्रति असन्तुष्ट सुनिइन् । छेउमै रहेकी झरना भन्छिन्, “सुहानालाई हाम्रो प्रचारको शैली मन परेको छैन । हामी उसको आइडियामा सहमत पनि छौँ । तर, योपटक कोभिडका कारण गर्न सकिएन । अर्को चलचित्रबाट हामी नयाँ तरिका अवलम्बन गर्नेछौँ ।”

यो मात्रै होइन, सुहानासँग यस्ता नयाँ तौरतरिका थुप्रै छन् रे ! उनी नयाँ पुस्ता हुन् नि ! त्यसैले देश–दुनियाँ अध्ययन गर्छिन् । नयाँ र मनासिब कुरा अवलम्बन गर्नुपर्छ भन्छिन् ।

Royal Enfield Island Ad

आइडिया छ, बजेट छैन  
निर्माता सहमत त छन् । तर, टार्नु÷पुर्‍याउनुपर्छ । उनका आफ्नै समस्या छन् । “हामी सानो बजेटमा सिनेमा बनाउँछौँ । पब्लिसिटीको बजेट त पछि कुरा, लोकेसन चार्ज गर्दा पनि दशपटक सोच्नुपर्ने अवस्था छ । लोकेसन चार्ज अफोर्ट गर्न नसकेर कहिले त्यसलाई माया मारेर अरू नै लोकेसनमा जानुपर्ने हुन्छ,” झरना भन्छिन्, “आइडिया भएका भाइबहिनी थुप्रै हुनुहुन्छ । तर, हामीसँग अफोर्ट गर्ने बजेट छैन । एउटा स्क्रिप्टका लागि बलिउडमा सयौँ जुट्छन् । करोडौँ स्क्रिप्टमा लगानी गर्छन् । तर, यहाँ मेरो प्रोडक्सनले स्क्रिप्टमा १० लाख खर्चिन १० पटक सोच्नुपर्छ । सीमित स्रोतसाधनको परिबन्धमा छौँ ।” 

सुहानालाई पनि यो सीमितता भलिभाँती थाहा छ । त्यसैले त उनी अहिले पुरानो शैलीमै आफूलाई सीमित गरिरहेकी छन् । उनी भन्छिन्, “मार्केटिङका लागि मासमा पुग्नसक्नुपर्थ्यो । तर, हुँदै नहुनुभन्दा थोरै भए पनि भएको राम्रो भनेर बस्नुपर्ने अवस्था आयो ।

घरमा पनि चलचित्र नै 
झरना निर्देशक, सुनील निर्माता, छोरी सुहाना अभिनेत्री । प्रोडुसरलाई बक्सअफिसमा कलेक्सनको चिन्ता हुन्छ । निर्देशकलाई चलचित्र ‘क्लास’को भइदियोस् भन्ने हुन्छ । एक्टर÷एक्ट्रेसलाई आफ्नो अभिनयको तारिफ होस् भन्ने चाहना हुन्छ । तीनवटै चाह बोक्ने एकै परिवारमा हुँदा कस्तो हुन्छ ?

पहिलो चिन्ता, चलचित्र आम मानिसमा पुग्छ कि पुग्दैन भन्ने चिन्ता तीनजनामै रहेको झरना सुनाउँछिन् । “मेरो फिल्मले हल पाउँछ कि पाउँदैन र दर्शक आउनुहुन्छ कि आउनुहुन्न भन्ने चिन्ता पहिलो हुँदो रहेछ । किनभने, हलमा दर्शक आए करिब–करिब सबै कुरा सोचेजस्तै भएर नै हो भन्ने हुन्छ,” उनी भन्छिन्, “बक्सअफिस कलेक्सन राम्रो भएन भने आगामी दिनमा यही क्षेत्रमा कसरी रहने, संघर्ष गर्ने भन्ने हुँदोरहेछ । बलिउड र साउथका चलचित्र हेर्न आएका दर्शक हाम्रो चलचित्र हेर्न आउनुहुन्छ कि हुँदैन भन्ने चिन्ता हामी तीनैजनामा छ ।”

परिवारका सबै सदस्य चलचित्रमा । अक्सर घरमा चलचित्रकै विषयमा कुरा हुन्छ । नेपाली चलचित्र उद्योग, कलाकार, आउँदो प्रोजेक्ट, स्टोरी, अभिनय, बजार, बजेटका विषयमा उनीहरूले चाहेर÷नचाहेर कुरा भइरहेको हुन्छ ।

अहिले निर्देशनमा रहे पनि मूलतः झरना अभिनेत्री नै हुन् । लामो समय उनले अभिनय गरेर आफूलाई प्रमाणित गरिन् । अहिले उनको विरासत थाम्ने क्रममा छिन्, छोरी सुहाना । अधिकांश समय चलचित्रबारे मन्थन् हुने घरमा झरना छोरीलाई अभिनय सिकाउँछिन् ? सिकाउँदिनन् ।

सुहानामा थिएटरमा गएरै अभिनय सिक्ने हुटहुटी छ । उनी थिएटर जाने तयारीमा पनि थिइन् । तयारी गर्दैगर्दा कोभिड–१९ का लकडाउन भइदियो । मञ्जुश्री डान्स र एक्टिङ क्लास लिने उनको योजना अलपत्र पर्‍यो ।

यस्तो समय घरमै बसेर आमासँग अभिनय सिक्न सकिन्न ? “सकिन्छ । तर, मलाई अरूले यसो गर, त्यसो गर भनेको मन पर्दैन । त्यसैले पनि होला, ममीले पनि मलाई सिकाउनुभएको छैन । मैले पनि सिकाइदिनुुुुस् भनेको छैन,” सुहाना भन्छिन्, “तर, यो सिनले यसो भन्न खोजेको हो भनेर भन्दिनुहुन्छ । सकेसम्म आफैँ बुझेर काम गर्न पाए अझै राम्रो हुन्छ कि भन्ने मेरो सोच सायद काम गर्ने प्रोसेस पनि होला ।”

आज मात्रै होइन, भोलिका दिनमा अरू ब्यानरका निर्देशकले पनि फलानोको जस्तै अभिनय चाहियो भनेर दबाब दिए आफू काम गर्न तयार नहुने उनी प्रष्ट पार्छिन् । छेउमै रहेकी झरना भन्छिन्, “म उसलाई अभिनय यसरी गर्नुपर्छ भनेर सिकाउँदिनँ । तर, उसलाई क्यारेक्टर, सिन र मुभमेन्टबारे बताएपछि उसले त्यसबारे यति धेरै अध्ययन गर्छिन्, मैले सिकाएभन्दा धेरै उसले आफैँ अभ्यास गर्छिन् । त्यो उसले गरेको काममा पनि देखिन्छ ।”

अरूले सिकाएको जस्तै गर्यो भने आर्टिफिसियल हुने भएकाले आफैँले स्वतस्फूर्त गरेको अभिनय अब्बल हुने उनको बुझाइ छ । त्यसैले अभिनयलाई बाँध्नेभन्दा पनि स्वतन्त्र छोडिदिनुपर्ने सुहानाको धारणा छ । सुहानालाई सिकाउनु नपरे पनि सेटका अरू कलाकारलाई भने झरना सानो–सानो कुरा पनि सिकाउँछिन् । तर, सुहाना भने स्क्रिप्ट लेखनदेखि नै सँगै बस्ने भएकाले सेटमा पुग्दासम्म उनी सिन र मुभमेन्टबारे प्रष्ट भइसक्छिन् ।

झरना जबरजस्ती उनलाई सिकाउन पनि चाहन्नन् । कारण ? “मैले उसलाई सिकाएँ भने त्यहाँ मेरो एक्ट आउँछ । तर, उसले आफ्नै तरिकाले गर्‍यो भने उसको एक्ट आउँछ,” झरना भन्छिन् ।

सुनील इमोसनल, झरना कडा, सुहाना अडिग
अरूको सेटमा नयाँ व्यक्ति, नयाँ कलाकार, नयाँ रहनसहन हुन्छ । तर, झरनाको सिनेमाको सेटमा पारिवारक माहोल हुन्छ । अथवा, श्रीमान्  प्रोडुसर । छोरी हिरोइन । आमा (झरना) निर्देशक । तर, सेटमा उनलाई कसैको श्रीमती र आमा हुँ भन्ने बिर्सिन मन लाग्छ । त्यसैले उनी सुनीललाई प्रोडुसरकै रूपमा हेर्छिन् । सुहानालाई हिरोइनकै रूपमा ।

“कलाकार हुँदादेखि नै म विवाहित हुँ । मेरो घरमा बच्चा र श्रीमान् हुनुहुन्छ । सासू–ससुरा हुनुहुन्छ भनेर कहिल्यै सोचिनँ,” उनी भन्छिन्, “जब सेटमा पुगेर आफन्त र तेरो मेरो भनिन्छ भने त्यहाँ राम्रो काम निस्किँदैन । फिल्डमा पुगेपछि म क्यारेक्टर मात्रै भएँ । अहिले म फिल्डमा पुगेपछि निर्देशक मात्रै हुन्छु।” 

सेटमा पुगेपछि मेरो छोरी हो सुहाना भनेर उनी लोलोपोतो घस्दिनन् । बच्चा रोएको देखेपछि सँगसँगै रुने उनको स्वभाव छैन । भावनामा बहकिएर छोरीसँगै उनी रुदिनन् । आमाको कोमल मन देखाएर कमजोर सिनेमा बनाउन उनी तयार हुँदिनन् ।

“हामीले हिमालको चिसोमा, चिसो याममा पातलो लुगा लगाएर छायांकन गरेका थियौँ । त्यो बेला सुहाना जाडोले लुगलुग काम्दा पनि मैले मेरो छोरी भनेर अँगालो मारेर उसलाई आमा भएको फिल दिइनँ । उसलाई जाडो हुन्थ्यो । भोक लाग्थ्यो । तर पनि त्यो कठिन क्षण देखेर पनि उनी बेवास्ता गर्दिन्थिन् ।

तर, छायांकनकै क्रममा से–फोक्सुन्डो लेकमा सुहानाको खुट्टामा ठूलो घाउ थियो । अनमोल अग्लो भएकाले उनले पनि हिल जुत्ता लगाउनुपर्थ्यो । हिल जुत्ता लगाएर पफर्म गरिरहँदा खुट्टाबाट रगत बगिरहेको देख्दा एक ठाउँमा उनको मन कटक्क दुखेको थियो । तर पनि उनले आफूलाई कन्ट्रोल गरेरै काम गरिन् ।

सुनील भने कोमल ह्रदयका छन् । छोरीलाई थोरै मात्रै गाह्रो भएको देखे भने उनका आँसु थामिँदैनन् । “रातो लुगा लगाएर लेकको छेउको ठूलो ढुंगामा सुहानाको मुभमेन्ट थियो । बेस्सरी ठूलो हावा चलिरहेको थियो । त्यही समय कहिले के कारण, कहिले के कारण सट मिलिरहेको थिएन । त्यसैले धेरै टेक खाइरहेकी थिइन् । जाडोले सुहाना कठ्यांग्रीसकेकी थिइन्,” झरना स्मरण गर्छिन्, “त्यो समय सुनीलजीले मलाई फोन गरेर छोरीलाई गाह्रो भइसक्यो, होस् नहोस्, राम्रो होस् कि नराम्रो होस् अब प्याकअप गर, हुँदै भएन भने भोलि बिहानको घाममा खिच, तर आज बन्द गर भनेर मलाई निर्देशन नै दिनुभएको थियो । त्यसपछि अब रिस्क नै हुन्छ कि भनेर मैले सुटिङ प्याकअप गरेको थिएँ ।” छोरीका लागि सुनीलको मन रोइहाल्छ ।

मान्छेको मन त हो कहिलेकाहीँ सहजता खोज्छ । पुसको जाडोमा झमझम पानीको लामो सिनमा पटक–पटक टेक लिँदा मेरो आफ्नै ममी हो मेरो दुःख देखेर चाँडो सकिदिए हुन्थ्यो भन्ने सुहानाको मनमा कताकति आउँछ । “तर, मेरो ममी यति स्ट्रिक डिरेक्टर हो । झन् भएनभन्दै टेक लिएको लियै गर्नुहुन्छ,” सुहाना सुनाउँछिन्, “उहाँ यति धेरै प्रोफेसनल हुनुहुन्छ । उहाँले सम्झौता नै गर्नुहुन्न । ममी हुँदैमा दङ्ग्याउन घुर्क्याउन पाइँदैन । म पनि सकेसम्म पारिवारिक माहोलभन्दा पनि प्रोफेसनल वातावरण नै खोज्ने प्रयास गरिरहेको हुन्छु ।” 

हिरोइन हिरोको मायाप्रीति गाँस्ने पात्र मात्रै होइन
सुहानाले होम प्रोडक्सनमा बनेका सिनेमामा मात्रै काम गरेकी छन् । यद्यपि, उनलाई बाहिरका ब्यानरबाट अफर नआएका भने होइनन् । अहिले सुहानाको हातमा दुईवटा स्क्रिप्ट हातमा छन् । तर, उनी हिरोको हिरोइन हुनका लागि मात्रै काम गर्ने पक्षमा छैनन् । झरनाको सोच पनि त्यही नै छ । “हामीले पैसाका लागि काम गर्ने होइन । क्यारेक्टर राम्रो आयो भने मात्रै काम गर्ने हो । अहिले पढिरहेको स्क्रिप्टमा क्यारेक्टरमा सुधार भयो भने काम गर्छिन् । होइन भने संख्या मात्रै बढाउन उनले काम गर्दिनन्,” झरना दृढ सुनिइन् ।

क्यारेक्टरले स्टोरी भन्नुपर्छ । हिरोका लागि मायाप्रीति गाँस्ने पात्र मात्रै हिरोइन बनाइनु हुन्न । यदि, कसैले यस्तै पात्रका लागि आग्रह गर्छ भने त्यस्तो फिल्म सुहानालाई खेल्नु नै छैन । “हाम्रो चलचित्रको संस्कार नै बसिसकेको छ, हिरोइन भनेको हिरोसँग डाँडामा नाच्ने र हिरोलाई ग्लोरीफाई गर्ने पात्र मात्रै हो,” सुहाना भन्छिन्, “यस्तै क्यारेक्टर मात्रै आइरहेकाले मैले ओके भन्न सकेको छैन । यसमा ममीले जे भन्नुभएको छ, त्यसमा म सहमत छु ।” महिला पात्र पनि पुरुष पात्रजस्त्रै बलियो छ भनेमात्रै आफू सिनेमाका लागि तयार हुने उनी सुनाउँछिन् ।

जता पनि परिवार 
सुहाना, झरना र सुनीललाई बिहान उही व्यक्ति आँखा अगाडि, सेटमा पनि उही पात्र आँखा अगाडि । साँझ पनि उही पात्रसँगै । “मलाई मात्रै होइन, कहिलेकाहीँ त उहाँहरूलाई पनि जता गए पनि उही व्यक्ति, उही कुरा, त्यही सिनेमाकै गन्थन भन्ने लाग्छ होला,” सुहाना भन्छिन्, “अहिले हाम्रो त्यस्तै भइरहेको छ । बिहानदेखि साँझसम्म सँगसँगै । सायद, घरपुग्दासम्म हामीलाई आ–आफ्नै स्पेस चाहिसकेको हुन्छ । त्यसैले हामी घर पुग्नेबित्तिकै आ–आफ्नै स्पेसमा पुगिसक्छौँ ।”

सिकाउने छोरी
सुनील र झरनाले सिनेमाको रंगीन दुनियाँमा दुई दशकभन्दा धेरै समय व्यतीत गरिसके । दर्जनौँ चलचित्रमा जोडिए । तिता–मिठा अनुभव र अनुभूति सँगाले । आँखै अगाडि सयौँ चलचित्र आए÷गए । त्यसैले उनीहरूसँग थुप्रै अनुभव र आइडिया छन् । तर, सुहाना आजको पुस्ताकी अभिनेत्री । इन्टरनेटको दुनियाँकी अभिनेत्री । संसार आफ्नै हातमा बोकेर बसेकी अभिनेत्री । त्यसैले त झरना र सुनीलले छोरीलाई भनेका छन्– हामी हिजोको पुस्ताका हौँ, तिमी आजको पुस्ताकी हौ । नयाँ–नयाँ विकास र विस्तार के कसरी भइरहेको छ, हामीलाई सिकाउने र बुझाउने काम तिम्रो हो । बुवा–आमाले दिएको जिम्मेवारी सुहानालाई शिरोधार्य छ ।

खाँचो परिवर्तनको
नेपाली सिनेमाको विकासका लागि धेरै कुरामा परिवर्तन आवश्यक छ । तर, त्यो विकास समय र दर्शकको मागअनुसार हुनुपर्छ । विषय र प्रतिभा धेरै रहेको तर स्रोत–साधनको टड्कारो अभाव रहेको सुहाना सुनाउँछिन् ।

“जबसम्म देश बलियो हुँदैन, राजनीतिक स्थायित्व हुँदैन, तबसम्म चलचित्र क्षेत्र पनि अब्बल हुँदैन । देशका हरेक पक्ष समानान्तर रूपमा अगाडि बढिरहेका हुन्छन्,” सुहाना भन्छिन्, “विकासशील देशमा, त्यसमा पनि सिनेमा उद्योगलाई अगाडि बढ्न सहज छैन ।”

चलचित्र हेर्ने अक्सर पछिल्लो पुस्ता नै हो । त्यसैले यो पुस्तालाई लक्षित गर्दैै कन्टेन्ट बनाउनु अहिलेको आवश्यकता हो । तर, स्क्रिप्ट लेख्न बस्दा म पाको, मैले भनेकै ठिक हो भन्ने अघिल्लो पुस्ताको जिद्दी स्वभाव अब परिवर्तन हुनुपर्नेमा उनको जोड छ । बाबाआमाका लागि सन्तान सधैँ सानो लाग्छ । तर, अहिलेको पुस्ताको प्रतिनिधित्व उनीहरूले नै गर्छन् भन्ने यथार्थलाई भुल्न नहुनेमा सुहानाको जोड छ ।

नेपालमा ‘क्लास’भन्दा पनि ‘मास’का लागि चलचित्र बनिरहेका छन् । प्रोडक्सन हाउसले मासका लागि चलचित्र बनाउँदा एक/दुईवटा मात्रै भए पनि क्लासका सिनेमा बनाउन सके नेपाली चलचित्र उद्योगको विकास हुने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro