काठमाडौं । जलविद्युत् प्रवर्दकहरुलाई जलविद्युत् आयोजना विकास गर्दा वातावरणीय अध्ययन, समाजिक व्यवस्थापनमा संवेदनशील हुन सुझाव दिएका छन् । हिमालयन हाईड्रो एक्पोको जलवायु परिवर्तन, वातावरणीय अध्ययन तथा सामाजिक व्यवस्थापनसम्बन्धी अन्तरक्रियाका सहभागीले आयोजनामा हुने लगानीको दिगो प्रतिफल सुनिश्चिताका लागि यस्तो आवश्यकता बढ्दो रहेको औंल्याएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत मनिशराज पाण्डेले जलवायु परिवर्तनका असर वर्तमानमा मात्र नभएर भविश्यका लागि थप चुनौतिपूर्ण हुने बताए । नेपालका अधिकांश जलविद्युत् आयोजना पहाडी इलाकामा बन्ने र संरक्षण गर्नुपर्ने क्षेत्रमै आयोजनाहरु धेरै हुँदा विकास र वातावरणलाई सन्तुलित रुपमा लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।
सानिमा हाइड्रोका प्रमुख डा. सुवर्णदाश श्रेष्ठले वातावारणीय सामाजिक विषयबस्तुलाई प्राथमिकतामा नराखेकै कारण क्षति भोग्नु परेको बताए । “अब जलविद्युतमा लगानीमात्र सोच्ने होइन वातावरण समाजिक व्यवस्थापनमा सोच्नुपर्छ । जलवायु परिवर्तन, आयोजनाको दिगोपन, स्थानीय सहभागितामा जान सकेमात्र हाम्रा आयोजना र त्यसको प्रतिफल दिगो हुनेछ,” उनले भने ।
एनएमबी बैंकका सरद तुलाधरले वातावरण र समाजिक पक्षलाई व्यवस्थित गर्न सरकारी निकायको सकारात्मक भूमिकाको अपेक्षा गरिएको बताए ।