
काठमाडौं । व्यस्त सडकभन्दा केही भित्र, शान्त र सफा गल्लीको दायाँपट्टि चिटिक्क परेको घर । केही बालबालिका खाइरहेका, कोही खेलिरहेका त कोही रोइरहेका छन् । चारवटामध्ये 'डी' कक्षाका बालबालिकालाई अनुशासनमा राख्न निकै मुस्किल छ । उनीहरूमध्ये केहीलाई त क्यामरा, चस्मा, मोबाइलजस्ता सामान त देख्नै हुन्न । कसैले यी सामान बोकेको देखेभने खोस्न, आक्रमण गर्न फुटाउन पनि बेर लाउँदैनन् उनीहरू ।
'सी' क्लासमा ६ वर्षमुनिका ससाना नानीबाबुहरू छन् । उनीहरू सानातिना निहुँमा पनि रोइरहन्छन् । एकजना रोएपछि पालैपालो अरू पनि रुन थाल्छन् । बेलैमा नफकाए कक्षामा कोलाहल नै मच्चिन्छ । अझै गाह्रो कुरा त के भने उनीहरूलाई फकाउन रूपा म्याम नै चाहिन्छ ।
खुला कक्षाकोठमा अरूभन्दा अलि अनुशासित भएर बस्छन् 'ए' क्लासका बालबालिका । उनीहरू नयाँ मान्छे देख्दा उत्साहित हुन्छन्, अभिभावदन गर्छन् । घुलमिल हुन आउँछन् । केही बालबालिकाले त पहिले देखेको मान्छेलाई भेट्दा ठ्याक्कै चिनेर नामै लिन्छन् । अलिअलि पढ्न, लेख्न र बोल्न पनि जानेका छन् । सबु म्यामले भक्तपुर स्कुल लैजान्छु भनेपछि त औधी खुसी हुन्छन् । कोही भने ज्ञानी भएर आफ्नो काम गरिरहन्छन् ।
सुन्दा कुनै नाटकको कथाजस्तो लाग्छन् यी दृश्य । तर, काठमाडौंका नरेफाँटमा सञ्चालन भइरहेको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र एसएसडीआरसीको दैनिकी हो यो । केन्द्रले अहिले ५२ जना अटिजम भएका बालबालिकालाई पुनर्स्थापनाका लागि लिएको छ । पुनर्स्थापना अर्थात थेरापीमार्फत् उनीहरूको व्यवहारमा परिवर्तन अनि परिवार र सामाजमा घुलमिल हुनेसम्मको अवस्थामा पुर्याउने कर्ममा लागि गरिरहेको छ, एसएसडीआरसी ।
दुई वर्षदेखिका बालबालिका भर्ना लिन्छ स्कुलले । तर, अभिभावकले ढिलो पहिचान गरेर १३ वर्षसम्म पनि ल्याइपुर्याउँछन् । तीमध्ये स्कुलमा ३० जना १० देखि ७ बजेसम्म बस्छन् । अरूलाई थेरापी र बानीव्यहार सुधारका लागि थेरापी गराइन्छ । १३ वर्षसम्म रिह्याब गराएपछि सिपमूलक तालिम दिन थालिन्छ । केही बालबालिका सुधार भएर युवा अवस्थामा पुगेपछि भए त्यही स्कुलमा स्टाफको रूपमा पुनर्स्थापित भएका छन् त केहीलाई विशेष स्कुलले सामान्य स्कुलसम्म पढ्ने अवस्थासम्म पुर्याइसकेको छ ।
अटिजम कुनै रोग नभई बाल्यकालमा नै हुने एक प्रकारको असामान्य अवस्था हो । अटिजम भएका ९० प्रतिशतमा एकदमै चञ्चल स्वभावका हुन्छन् । हिँड्दा एकदमै हान्निएर हिँड्ने, दौडिने, शान्त भएर बस्न नसक्ने, एउटै चिज चलाइरहने, खेलिराख्ने, हात तथा शरीर हल्लाइरहने तथा आक्रामक स्वभावका हुन्छन् ।
उनीहरूको बौद्धिकस्तर सामान्य बालबालिकासरह हुँदैन । उनीहरूका यस्ता स्वभाव अभिभावक वा अर्को पक्षले नबुझेमा उनीहरू आक्रमण गर्ने, चिथोर्ने, रोइरहने, तोडफोड गर्नेजस्ता क्रियाकलापमा उत्रिन्छन् । यस्तै असामान्य अवस्थाका बालबालिकालाई घरपरिवार र समाजमा पुनर्स्थापना गर्ने अभियानमा जुटेको छ एसएसआरडीसी परिवार ।
न कुनै दातृ निकायको सहयोग, न सरकारी अुनदान नै सहज छैन समाजसेवाको यो यात्रा । तर, सेवाभाव र धैर्यातालाई मुलमन्त्र मानेर विशेष स्कुल चलाइरहेका सञ्चालिका सविता उप्रेतीको हिम्मतले अहिले अटिजम भएका हजारौँ बालबालिकाको अभिभावकको केन्द्र बनेको छ एसएसडीआरसी । ११ वर्षअघि दुईजना बालबालिकाबाट सुरु भएको केन्द्रमा अहिले १७ जना स्टाफ राखिएको छ ।
अहिले जनचेतनाको स्तर बढेको छ । दैनिक १५ देखि २० जना अभिभावक परामर्शमा आउँछन् । पहिले धेरै ठाउँमा घुमेर आइपुग्थे, अहिले पहिलो रोजाइ बनेको छ ।
राम्रो आर्थिक अवस्था भएका अभिभावकले थेरापीको शुल्क तिर्छन् बाँकी सबैलाई निःशुल्क सेवा दिइरहेको छ ।
लकडाउनका बेला समय बिताउन गाह्रो, आफू आमा नभएकी सविताले ३०० जना बालबालिकाकी आमा बनेर नयाँ बाटो देखाइन् । जीवन परिवर्तन गराइन् । नियमित दाता नहुँदा एउटा इँटा अभियान चलाइन् । फेसबुकमार्फत जोडिएका सहयोगी हातहरूले ९ कोठाको भवन भक्तपुरको ताथलीमा बन्यो । जति ठूलो घर छ, त्यति नै खर्चका बाटोहरू पनि छन् । तर, जति सफा घर त्यति नै सफा मनले गर्दा यहाँसम्म आइपुग्न सम्भव भएको हो । मासिक १७ जना स्टाफ पाल्नुपर्छ ।
"कहिलेकाहीँ आफ्ना बालबालिकालाई पैसासँग तुलना गर्दा कताकता मन अमिलो हुन्छ । तर, एकदमै धैर्य राख्नुपर्छ । अभिभावकहरू अलिकति सुधार भए खुसी हुने तर आफूले भनेजस्तो नभए फ्रस्टेट हुने गर्छन् । पुरुष थेरापिस्टहरूले धैर्यता राखेर काम गर्न सक्दैनन् । ५२ जनालाई आधाआधा गरेर राख्ने योजना छ । सुरुमा ९ नम्बरका वडाध्यक्षलाई नै बुझाउन मुस्किल पर्यो । दर्ता लिन १ वर्ष लाग्यो," उनले भनिन् ।
रूपा तामाङ, स्कुल इन्चार्ज । जो १० वर्षदेखि विशेष स्कुलमा नै कार्यरत छिन् । आफ्नो छोरीसरह विशेष स्कुलका बालबालिकालाई बढी स्याहार गर्ने र माया गर्ने उनको आदत बसिसक्यो । अटिजम भनेको थाहा नै नपाएकी रूपालाई आत्तिएर भागेर कसले सामाजिक दायित्व निभाउँछ भन्ने भावले उनीहरूसँगै रमाउन प्रेरित गरेको थियो ।
अटिजम भएका बालबालिकालाई के समस्याले दुःख दिइरहेको छ भनेर पहिचान गर्नु नै अनुशासनमा राख्ने उपाय भएको भएको उनी बताउँछिन् । पूरै सामान्य व्यक्तिजस्तो हुन नसके पनि आफ्नो काम आफैँ गर्नसक्ने र व्यवहारमा परिवर्तन गराउन चाहिँ सकिन्छ । तुलना गर्ने अभिभावकको बानीलाई परिवर्तन गराउन परामर्श गर्छिन् ।
फिजियोथेरापिस्ट रीना नेपाल थेरापी गर्दैमा छोटो समयमा रिजल्ट नआउने बताउँछिन् । उनीहरूलाई सबै हाउभाउ सिकाउने र विस्तारै नक्कल गर्न सिकाउने गर्ने गरेको भनाइ छ ।
"एउटै कुरा सिकाउन ६ महिना पनि लाग्नसक्छ । आफूलाई एक्सप्रोस गर्ने तरिका पनि कसैले एक दिनमा पनि सिक्छन् । नक्कल गर्न सिक्यो भने सिक्ने सम्भावना बढी हुन्छ । २ देखि ३ महिनामा नै नक्कल गर्न सक्नेले चाहीँ सिक्छन् । बुझ्ने उमेर भइसकेका बालबालिकालाई सिकाउन सजिलो हुन्छ । कतिपय बालबालिका ११/१२ वर्षसम्म पनि बुझेका हुँदैनन् । बौद्धिक सिकाइलाई एउटा नमस्कार गर्नसम्म जान्नु पनि उनका लागि उपलब्धी हो," उनले भनिन् ।