site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्ज महानगरमा कुन पार्टीबाट को–को छन् आकांक्षी ?

जनकपुरधाम । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । मधेस प्रदेश निर्वाचनमय हुँदै छ ।

प्रमुख पार्टीका शीर्ष नेताहरू समेत मधेसमा व्यस्त हुन थालेका छन् । चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेका छन् । यसपालि आर्थिक राजधानी भनिएको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा सबै दलको ध्यानकेन्द्रित भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम (जनता समाजवादी पार्टी नेपाल)बाट वीरगन्जको मेयरमा निर्वाचित विजय सरावगी पार्टी परित्याग गरी गएको फागुन २७ गते एमालेमा प्रवेश गरे । त्योसँगै वीरगन्जको राजनीति तरंगित भएको छ ।

मधेस आन्दोलनबाट उदाएका नेता राजेशमान सिंह पनि एमालेमा प्रवेश गर्ने तयारीमा थिए । माघ २९ गते उनले सार्वजनिक रूपमै एमालेमा प्रवेश गर्ने घोषणा गरेका थिए । तर, सरावगी पहिले प्रवेश गरेपछि सिंह असन्तुष्ट बने ।

“मेरो पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भइरहेको थियो । तीनवटा मिति पनि तय भयो, पार्टी प्रवेश गर्ने,” उनले भने, “तर, स्थानीय नेताहरूले सबै मितिलाई सार्दै गए । ओलीजी एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन आएको बेला उहाँहरूले वर्तमान मेयरलाई प्रवेश गराउनुभयो ।”

स्थानीय नेताले ‘षड्यन्त्र’ गरेको उनको बुझाइ छ । सोही कारण आफूले जनता समाजवादी पार्टी (जसपा) रोजेको उनले बताए । सिंह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी चैत ७ गते जसपामा प्रवेश गरे । अब एमालेले सरावगी र जसपाले सिंहलाई मेयरका रूपमा अगाडि सार्ने निश्चितजस्तै छ ।

सरावगीले जसपा नेताले काम गर्न नदिएका कारण पार्टी त्याग गरेको बताए । नेताहरूले आफूलाई सहयोग गर्नुको साटो असहयोग गरेको उनको आरोप छ ।

“केन्द्र र प्रदेशमा आफ्नै सरकार हुँदा पनि अपेक्षाअनुसार काम गर्न सकिएन,” उनले भने, “जनताले त मसँग जवाफ माग्छन् । समग्रमा उहाँहरूले सहयोग गर्नु भएन । असहयोग गरेकै कारण एमालेमा गएको छु ।” एमालेबाट पुनः मेयरमै उठ्ने निश्चित रहेको उनको भनाइ छ ।

लोसपाबाट जिल्ला अध्यक्ष समेत रहेका पुरुषोत्तमलाल झा पनि वीरगन्ज मेयरका आकांक्षी छन् । झा पञ्चायतकालमा उपप्रमुख भइसकेका व्यक्ति हुन् । यसअघि नै पार्टीले आश्वासन दिएको भन्दै आफ्नो मूल्यांकन भए टिकट पाउनेमा उनी ढुक्क देखिन्छन् ।

लोसपाका नगर सभापति ओमप्रकाश सराफले झा नै आफ्नो पार्टीबाट उमेदवार बन्ने सम्भावना रहेको बताए ।

पटक–पटक वीरगन्जको प्रमुख भइसकेका तथा ०७४ मा तत्कालीन राजपाबाट मेयरमा पराजित विमल श्रीवास्तव लोसपामै छन् । उनले यसपालि झालाई समर्थन गर्ने बताइएको छ ।

नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षत्रीले मेयरको उमेदवारबारे अहिलेसम्म औपचारिक छलफल नभएको बताए । आठ आकांक्षीले अनौपचारिक रूपमा ‘लबिङ’ गरे पनि पार्टीले उमेदवार छनोट प्रक्रिया अगाडि नबढाएको उनको भनाइ छ ।

यही साताभित्रै वडा समिति हुँदै महानगरको उमेदवार छनोट प्रक्रिया थाल्ने उनले जानकारी दिए । यसअघि कांग्रेसबाट मेयरका आकांक्षी रहेका अजय द्विवेदी भने यसपालि खुलेका छैनन् । जनतासँग भिजेको, लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको र जनताले रुचाएको निष्पक्ष छविका मान्छेलाई पार्टीले उमेदवार बनाउने उनले बताए ।

नेकपा (माओवादी केन्द्र) यसअघिकै उमेदवारलाई अगाडि सार्ने मनस्थितिमा छ । ०७४ मा माओवादीले मोहमद रहबर अन्सारीलाई उमेदवार बनाएको थियो ।

माओवादीका पर्सा इन्चार्ज विजय महतोले उमेदवार टुंगो नलागेको बताए । तर, पहिलो प्राथमिकता रहबरलाई दिइने उनी बताउँछन् । पार्टी र जनताप्रतिको लगावका कारण उनलाई नै अगाडि सारिने महतोको भनाइ छ ।

उनका अनुसार ३१ वर्षीय रहबरले युवामाझ लोकप्रिय छवि बनाएका छन् । वीरगन्जमा मुस्लिम मतदाताको संख्या बढी भएकाले पनि सोही समुदायका उनलाई उमेदवार बनाउने सम्भावना छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले समेत वीरगन्जमा उमेदवार उठाउने तयारी गरेको छ ।

यसपालि वीरगन्जमा एमाले, कांग्रेस र जसपाबीच कडा प्रतिस्पर्धा हुन सक्ने देखिएको छ । दलहरूबीच चुनावी तालमेल हुँदा भने स्थिति फरक हुनसक्छ ।

०७४ को निर्वाचनमा सरावगी १९ हजार ३९३ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका द्विवेदीले १९ हजार १९७ मत पाएका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन राजपाका उमेदवार सिंह अहिले जसपामा छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro