site stats
बाह्रखरी :: Baahrakhari
देश
आन्दोलन भड्कने डर, शिक्षक महासंघ अध्यक्षले भने– संयमित हुन जरुरी

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरू ‘विजयोन्मुख’ भएको बताएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन् ।

आन्दोलन भड्कन सक्ने भयले सजग हुनुपर्नेमा महासंघ नेतृत्वले जोड दिएको छ । १७ दिनयता शिक्षक सडकमा छन् ।

“यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ,” सुवेदीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ ।”

Argakhachi Cement Island Ad

शिक्षक सडकमा उत्रँदा यातायात सेवा प्रभावित भएको छ । १६औँ दिन (वैशाख ४)को प्रदर्शनक्रममा बानेश्वरको निषेधित क्षेत्रनजिक पुग्दा केही शिक्षकले प्रहरीसित वादविवाद गरेको देखिएको थियो ।

“हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षड्यन्त्र गर्नेहरू पनि थुप्रै छन्,” उनले लेखेका छन् ।

भड्कनबाट आफूलाई जोगाउँदै मर्यादित भएर आन्दोलनमा जुट्न शिक्षकलाई उनले आह्वान गरेका छन् । “त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन । त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ,” उनले भनेका छन्, “मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ ।”

आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा सचेत बन्न उनले आग्रह गरेका छन् । हरेक दिन उनीहरूले माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गर्दै आएका छन् ।

“आन्दोलनको कार्यक्रम माइतीघरबाट सुरु हुने हो । त्यसैले पहिले नै बीचबाटो वा बानेश्वर गएर नबसौँ । माइतीघरबाटै जुलुसमा सहभागी भएर बानेश्वरतर्फ जाऔँ,” उनले लेखेका छन्, “आन्दोलन अवधिभर (१२ बजेदेखि ३ बजेसम्म) सडकमा नै रहौँ । पेटी नाघेर वारपार नगरौँ ।” 

अरू केही दिन धैर्य र मर्यादित भएर प्रदर्शन गरे उपलब्धि हासिल हुने उनको भनाइ छ । “हामी चार लाख शिक्षक–कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो । यो सत्यलाई मनन गरौँ,” उनले भनेका छन्, “त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौँ ।”

उनका अनुसार, शिक्षकको प्रदर्शन आज (वैशाख ५) १७औँ दिन पनि जारी रहनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्