
काठमाडौं । लगातार दोस्रो उपाधिका निम्ति दृढ ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ को लिग चरण शीर्ष स्थानमा रहँदै टुंग्याएको छ । भाटभटेनी ग्रुपको स्वामित्वमा रहेको ललितपुर सिटी एफसीले एनसेल एनएसएल २०२५ को लिग चरणमा पहिलो स्थान सुरक्षित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।
लिग चरणका ६ खेलमा ललितपुर सिटीले १० गोल गरेको थियो भने उसका प्रतिद्वन्द्वीले सिटीमाथि ६ गोल गरेका थिए ।
लिग चरणमा ६ खेल खेलेको ललितपुर सिटी एफसीले तीन जित र तीन बराबरसहित १२ अंक जोडेको छ । जारी प्रतियोगिताका सहभागी सात टिममध्येमा ललितपुर नै लिग चरणमा सबैभन्दा धेरै अंक जोड्ने टोलीसमेत हो ।
यो उत्कृष्ट प्रदर्शनले क्लबको निरन्तरता, रणनीति, र जुझारुपनलाई प्रतिबिम्बित गर्ने क्लबको धारणा छ ।
एनएसएल–२०२३ को विजेता ललितपुर सिटी एफसी अब प्लेअफमा प्रवेश गर्दै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ अघि बढेको छ ।
भाटभटेनी समूहको सशक्त नेतृत्व र प्रतिबद्धताको साथ पाएको क्लबले खेलाडी विकास, प्रशिक्षक टोली र समुदायसँगको सम्बन्धमा निरन्तर लगानी गर्दै आएको छ । जसले नेपाली फुटबलमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
अपराजित, अडिग, अविरल रहँदै प्रतियोगितामा अघि बढिरहेको ललितपुर अब उपाधिमा केन्द्रित छ । लिग चरणमा अपराजित रहँदा ललितपुर प्रतियोगितामा ‘अजेय टोली’ को रुपमा उदाएको छ । यो निरन्तरता र साहसी प्रदर्शन क्लब एकाग्रता, परिपक्व रणनीति, र ‘टिम फस्र्ट’ मानसिकताकै कारण सम्भव रहेको क्लबले जनाएको छ ।
एनएसएल–२०२३ को विजेतासमेत रहेको क्लबले आत्मविश्वास, उत्साह र कुशलतासाथ प्लेअफमा पाइला अघि बढाउँदा सम्पूर्ण देशभरिका फुटबल समर्थकलाई नै प्रेरणा दिइरहेको छ ।
क्लबको यो अपराजित लयमा प्रायोजक तथा साझेदारहरुको मुख्य भूमिका रहेको जनाएको छ ।
क्लबलाई एनएसएल–२०२५ मा प्रभु बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै, पावर्ड बाईमा एनसेल रहँदा मुख्य साझेदारमा बीवाईडी, सह–साझेदाहरुमा पेप्सी, स्मार्ट एन्ड ह्यान्डसम, अल आउट, युनाइटेड अजोड इन्स्योरेन्स र फ्रुट जेम्स छन् ।
क्लबले यी सबै केवल प्रायोजकको रूपमा मात्र नभई फुटबलको शक्ति र नेपाली खेलमा गर्वको भावना जगाउने विश्वास साझेदार भएको जनाएको छ । भाटभटेनीले फुटबलमात्रै नभई अन्य खेल र खेलाडीलाई पनि प्राथमिकतासाथ सहयोग गर्दै आइरहेको छ ।
भलिबलकी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरको रुपमा सम्झौता गरेको छ । यस्तै, टेनिसकी सिवानी गुरुङ, स्विमिङका ओलम्पियन शिरिष गुरुङ, नेपाली राष्ट्रिय बास्केटबलकी पूर्वकप्तान सदीना श्रेष्ठ, राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईसँग पनि खेल कौशल र व्यक्तित्व विकासका निम्ति भाटभटेनीले सहकार्य र सहयोग गर्दै आएको छ ।