काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘पिर’ रिलिज हुँदा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनायो । नेतृत्त्वले असन्तुष्टि नजनाए पनि उसका विभिन्न संगठनले आपत्ति जनाउँदै बहिष्कारदेखि आन्दोलनसम्मको चेतावनी दिए । बजारमा अहिले प्रकाशको गीतको चर्चा छ । तर, बहिष्कार र गीत युट्युबबाट हटाउनुपर्ने दबाबकै कारण प्रकाश मिडियादेखि टाढा छन् ।
नेपाली सांगीतिक क्षेत्रका लागि यो नै पहिलो घटना भने हैन, जुन सिर्जना राजनीतिक दलका नेताहरूको टाउको दुखाइको विषय बनेको होस् । तीन वर्ष अगाडि पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा...’ बोलको गीतले तत्कालीन सत्तारूढ दल नेकपाले चर्को विरोध गरेको थियो । युवा संघ नेपालले धम्की दिँदै वक्तव्य नै निकालेको थियो । अन्ततः उनले गीत युट्युब च्यानलबाट हटाए । यो गीतलाई लिएर संसद्मा बहस भयो । सत्तारूढ दलले गीतको विरोध गर्यो । प्रतिपक्षी दलले तारिफ । अहिले पनि अवस्था उस्तै छ ।
माओवादी माओवादीजस्तै रहेन । सशस्त्र आन्दोलनका प्रतिबद्धता भुल्दा कार्यकर्ता तथा पूर्वलडाकुको जीवन दयनीय छ भन्दा उसलाई चोट पर्यो । अरू दल अभिव्यक्ति स्वतन्त्रताको कुरा गरिरहेका छन् । आफूतर्फ औँला सोझिँदा आन्दोलित हुने, अरूतर्फ औँला उठ्दा ‘खुच्चिङ’ भन्ने प्रवृत्ति छ ।
कलाकार हरिवंश आचार्य व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताउँछन् । व्यवस्थाले सुरक्षित गरेको अधिकार कलाकारले उपभोग गर्न नपाएको उनको ठहर छ । पञ्चायत कालमा रहेको समस्या अझै पनि हटिनसकेको उनको भनाइ छ ।
“पञ्चायतकालमा पनि यस्तै हुन्थ्यो । एकदलीय व्यवस्था थियो । व्यवस्थाविरुद्ध बोल्यो भनेर हामीलाई थुनिन्थ्यो,” हरिवंश स्मरण गर्छन्, “त्यो समय अभिव्यक्ति स्वतन्त्रता थिएन । त्यसैले कार्यक्रम गरेपछि हामी घरमा बस्दैन थियौँ । अरू कसैको घरमा गएर बस्थ्यौँ ।”
बहुदल हुँदै लोकतन्त्र र गणतन्त्र आयो । यसका लागि कलाकारको पनि योगदान छ । अभिव्यक्ति स्वतन्त्रताकै लागि आफूहरूले आन्दोलन गरेको स्मरण गर्दै यसको उपभोग पनि गर्न पाउनुपर्ने उनी बताउँछन् । हरेक आन्दोलन र परिवर्तनमा कला–साहित्य क्षेत्रको पनि उत्तिकै सहभागिता र योगदान रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा त्यसको विरोध गर्नु भन्दा पनि आफ्नो कमजोरी भएको स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
सर्जक तथा स्रष्टाले आफ्नो भावना पोख्न पाउनुपर्नेमा हरिवंशको जोड छ । “माओवादीले हतियार उठाएर त्यत्रो आन्दोलन किन गरेको ?,” उनको प्रश्न छ, “समानता र अभिव्यक्ति स्वतन्त्रताका लागि होइन र ?”
समानता भएन र बोल्न पाइएन भनेर आन्दोलन गरेको राजनीतिक दलले नै सर्जक तथा स्रष्टाले भावना अभिव्यक्त गर्दा विरोध गर्नु दुर्भाग्य भएको भन्दै उनी भन्छन्, “यस्तो अवस्थामा त हाम्रो कमजोरी औँल्याइदिनुभयो भनेर धन्यवाद पो दिनुपर्छ ।”
कुनै राजनीतिक दल वा व्यक्ति रिसाउला भनेर सर्जकले सिर्जनाको गर्भबाटै सोच्नुपर्ने अवस्था आए राम्रो र निष्पक्ष सिर्जना हुन नसक्ने उनको भनाइ छ । “कहिले सत्तारूढ दल रिसाउला, कहिले प्रतिपक्षी दल रिसाउला । समाजमा भएको यथार्थ भन्दा त्यो कसै न कसैलाई बिजाउला । कोही रिसाउने पो हो कि भनेर सिर्जना गर्न थालियो भने झन् त्यो निष्पक्ष हुँदैन,” उनी भन्छन्, “यसो गर्ने हो भने लोकतन्त्र, गणतन्त्र ल्याएको के काम ? पहिलाकै मान्छेलाई बुझाए भइगयो ।”
आर्टिफिसियल र कपोकल्पित सिर्जना गर्न नहुने तर भएको कुरालाई आफ्नो सिर्जनामा समावेश गर्न सकिने उनको धारणा छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति केही सकारात्मक भएकाले घटनाले अझै ठूलो रूप नलिएको उनको बुझाइ छ । प्रचण्डले पनि प्रकाशको गीत ‘पिर’लाई लिएर आपत्ति जनाएको भए अवस्था झन् बिग्रिने थियो भन्दै हरिवंश भन्छन्, “प्रचण्डले जे भन्नुभएको छ त्यो उहाँका कार्यकर्ताहरूले पनि फलो गर्नुपर्छ ।”
प्रचण्डले जनयुद्धबारे सयौँ वर्षसम्म बहस भइरहने भन्दै गीतलाई लिएर उत्तेजित हुन नपर्ने बताएका थिए । “तर्क–वितर्क हुन्छन्, त्यसलाई स्वाभाविक रूपले लिनुपर्छ,” उनले भनेका थिए ।
कलाकारले गीत, नाटक, चलचित्र वा साहित्यका अरू विधाबाट गरेका कटाक्षभन्दा नेताहरू स्वयं एकले अर्को दल र नेतालाई गरेको विरोध चर्को हुने गरेको हरिवंश स्मरण गराउँछन् । “उहाँहरू आफैँ व्यक्तिगत कुराहरूलाई लिएर शब्द, बोली तथा हाउभाउले त्यति धेरै कटाक्ष गर्नुहुन्छ । एउटा नेताले अर्को नेतालाई गाली गरेको सुन्यो भने लाज लाग्छ,” उनी भन्छन्, “सर्जकले सिम्बोलिक रूपमा भनेको भन्दा धेरै उहाँहरू एकले अर्कोलाई सार्वजनिक मञ्चमा भनिरहनुभएको हुन्छ । त्योभन्दा त धेरै नरम हुन्छ सिर्जनामा ।”
जुन बेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए, त्यो बेला कलाकारहरूले आवाज उठाएको विगत नभुल्न दलहरूलाई उनको सुझाव छ । पञ्चायतको अन्त्यका लागिदेखि गणतन्त्र स्थापनासम्म कलाकारले खेलेको भूमिका नजरअन्दाज नगर्न उनको आग्रह छ ।
“जुन बेला राजनीतिक दल र नेताहरूलाई तत्कालीन राज्य व्यवस्थाले बोल्न दिँदैन थियो, त्यो बेला आवाज हामीले उठाएका हौँ,” हरिवंश विगतको यथार्थ सम्झाउँछन्, “गणतन्त्रका लागि भएको आन्दोलनमै रुविन गन्दर्भ, अर्जुन पराजुलीलगायत सडकमा उत्रिएर आन्दोलनका लागि आम समुदायलाई अपिल गरेर सडक तताएको होइन ?”
आवश्यक पर्दा ‘ओहो ! धन्यवाद/स्याबास’ भन्ने तर भएको कमजोरी औँल्याउँदा रिसाउने प्रवृत्ति त्याग्न उनको सुझाव छ । राजनीतिक दल र नेताहरूमा संकुचित मानसिकता देखिएको र यसले समग्रमा कसैलाई पनि फाइदा नहुनेतर्फ सचेत हुनुपर्ने उनी बताउँछन् ।
प्रकाश सपूतले चार दिन अगाडि सार्वजनिक गरेको पिर गीतको भिडियोमा माओवादी पूर्वलडाकु जिन्दगी चलाउन देहव्यापारमा लागेको देखाइएपछि माओवादीनिकट विभिन्न संघ–संस्थाले आपत्ति जनाएका थिए । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा आत्मालोचना गर्न र युट्युबबाट गीत हटाउन धम्की दिएका थिए ।