काठमाडौं । इन्टरनेट टेलिभिजन (युट्युब)का सामग्री उत्तरदायी नभएकै कारण नियमनको प्रयास गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । कसैप्रति जिम्मेवार नहुने युट्युबका सञ्चालक र सामग्री (कन्टेन्ट)कै कारण नियमन गर्ने तहमा पुगेको मन्त्रालयले स्पष्ट पारेको छ ।
“युट्युबमा थुप्रै समस्याहरू हामीले देखिरहेका छौँ । विभिन्न क्रिया तथा प्रतिक्रियाहरू राख्ने तर ती कसैप्रति उत्तरदायी नहुनुपर्ने अवस्था थियो,” सञ्चार मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंह भन्छन्, “कहाँ दर्ता भएका छन् र कति छन् भन्ने पनि थाहा छैन । कन्टेन्ट कस्तोसम्म हुने कतै उल्लेख छैन । सोसल साइट भए पनि त्यसका लागि पनि विन्डो खोलियो । व्यावसायिक क्रियाकलापहरूलाई कसरी नियमन गर्ने र व्यवस्थित गर्ने भन्ने आशय हो ।”
यसका लागि छिट्टै निर्देशिका जारी गरेर थप स्पष्ट पार्ने मन्त्रालयको तयारी छ । “सबै युट्युबलाई होइन । लिस्टिङ गरेर दर्ता गर्ने प्रक्रियामा छौँ । व्यावसायिका रूपमा उत्पादन गरेर विज्ञापन प्रयोग भइरहेको अथवा अन्य किसिमबाट आम्दानी गरिरहेको छ भने त्यसलाई पनि करको दायरामा ल्याउने सरकारको उद्देश्य हो,” प्रवक्ता सिंह भन्छन्, “अहिले भइरहेका युट्युब च्यानललाई के गर्ने भन्ने कुरा निर्देशिका जारी गरेपछि थप स्पष्ट हुन्छ ।”
सरकारले केही दिन अगाडि सार्वजनिक गरेको नयाँ संशोधित नियमावलीअनुसार इन्टरनेट टेलिभिजन (युट्युब) च्यानल सञ्चालन गर्ने सञ्चालक व्यक्ति तथा संस्थाले इजाजत लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।
नियमनकारी नीतिको अभावका कारण उत्तरदायी हुनु नपर्दा पछिल्लो समय युट्युब च्यानलका सामग्रीप्रति धेरैले प्रश्न उठाउँदै आएको छन् । यसलाई नियमावलीले सम्बोधन गर्ने मन्त्रालयको विश्वास छ ।
युट्युबबाट भ्युजका आधारमा पैसा आउने भएका कारण पछिल्लो समय कतिपय युट्युब च्यानलका कन्टेन्ट अनुत्तरदायी, अभद्र र असभ्य भाषा तथा शैलीका हुँदै आएका छन् । भ्युजका लागि कन्टेन्ट र हेडलाइनसमेत फरक–फरक हुने गरेका छन् ।
कलाकार दीपकराज गिरी नेपालका कतिपय युट्युब च्यानललाई डामेर छाडा छोडिएको ‘साँढे’को संज्ञा दिन्छन् । युट्युब नियमनका लागि सरकारले प्रयास गर्यो रे ! भन्ने समाचारले मात्रै पनि आफूलाई खुसी बनाएको उनी बताउँछन् । युट्युब च्यानलका अराजक च्यानलबाट सबैभन्दा धेरै ‘बुलिङ’ बेहोर्नेमध्ये आफू पनि एक भएको भन्दै उनी भन्छन्, “सरकारले ल्याएको नियम भोलि लागु होला/नहोला त्यो फरक पाटो भयो, तर नियमनको प्रयास हुँदै छ भन्ने खबरले मात्रै पनि म खुसी भएँ । कारण, यसको बुलिङमा कति धेरै म परेको छु, त्यो मबाहेक अरूले अन्दाज पनि गर्न सक्दैन ।”
बोल्दै नबोलेका कुरालाई बोल्यो भनेर र हुँदै नभएका कुरालाई पनि आफूसँग जोडेर कैयौँ युट्युब च्यानलले आफ्नो छवि (इमेज) नै गलत बनाइदिएको आफूसँग अनुभव रहेको दीपक बताउँछन् । युट्युबले समाजमा आफूप्रति आम जनताको धारणा नै गलत बनाइदिएको उनको गुनासो छ । त्यसैले यसको नियमनको प्रयास हुनु राज्यको सकारात्मक कदम भएको उनको बुझाइ छ ।
समयानुसार संविधान र कानुनका बुँदा समेत परिर्माजन हुने भन्दै अहिले नियमावली जारी हुँदैमा समस्याको समाधान भयो भनेर बुझ्न नहुनेमा उनको जोड छ । यसको कार्यान्वयनमा सरकार कसरी अगाडि बढ्छ त्यसमा भरपर्ने उनी बताउँछन् ।
युट्युबको सदुपयोग भन्दा पनि दुरुपयोग धेरै भएका कारण अहिलेको अवस्था आएको उनको बुझाइ छ । “यसको आधारभूत पक्ष पनि बुझेनौँ । यसको संवेदनशिलता पनि बुझेनौँ । अहिले यसको नियन्त्रणका लागि जे बनाइँदै छ, यो अहिलेका लागि स्वागतयोग्य छ,” दीपक भन्छन्, “भोलिका दिनमा जब यो प्रयोगमा आउँछ, त्यति बेला हामीले दुरुपयोग गरेको युट्युब च्यानललाई सदुपयोग गर्छौँ अथवा गर्दैनौँ, त्यो हेर्न बाँकी छ ।”
सामाजिक सञ्जाल भएकाले यसको नियन्त्रण गर्न कठिन रहेको उनी बताउँछन् । अहिले जारी भएको नियमावलीले बाँध्न नसके त्यसलाई परिवर्तन गरेर भए पनि अगाडि बढनुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । अराजकता नियन्त्रणका लागि ढिलो भइसकेको उनको बुझाइ छ । आफूजस्ता धेरैलाई नियन्त्रणको प्रयास हुँदै छ भन्ने समाचारले मात्रै पनि उत्साह भरेको उनी सुनाउँछन् ।
“यसको नियन्त्रण त्यति सहज भने छैन । उत्तर कोरिया अथवा चीन नै हुनुपर्छ, जुन अहिलेको लोकतान्त्रिक व्यवस्थामा सम्भव छैन,” उनी भन्छन्, “प्रजातान्त्रिक प्रणालीमा वाक् स्वतन्त्रताका नाममा खराब तत्त्वहरू चाँडै फैलिन्छ । अहिले युट्युबमा देखिएको अराजकता पनि यही नै हो ।”
जंगलमा राम्रा बिरुवाको आडमा नराम्रा बिरुवा चाँडै हुर्किने उदाहरण दिँदै उनी प्रजातान्त्रिक शासन व्यवस्थाको दुरुपयोग गर्दै नेपालमा युट्युबमा अराजक सामग्रीहरू फैलिएको उनी बताउँछन् । विश्वका थुप्रै देशले चाहेर पनि नियन्त्रण गर्न नसकेको यो माध्यमलाई सरकारले कसरी नियमन गर्छ, त्यो भने हेर्न र अनुभव गर्न बाँकी नै रहेको उनको भनाइ छ ।
नियमावलीले अहिले इन्टरनेटमा भेटिने सबै युट्युब च्यानललाई भने समेट्दैन । निश्चित समय तोकेर पूर्वनिर्धारित रूपमा तय भएको सेड्युलअनुसार सामग्री प्रसारण गर्ने युट्युब च्यानललाई मात्रै नियमावलीले समेट्छ । “कुनै युट्युब च्यानलले समय तोकेर समाचार, कार्यक्रम, सांस्कृतिक सामग्रीहरू प्रसारण गर्छन् भने त्यो मात्रै यो नियमावलीले समेट्छ,” प्रवक्ता सिंह भन्छन्, “अहिले भएका सबै युट्युब च्याललाई यो नियमावलीले समेट्दैन । निर्देशिका जारी भएपछि यसबारे थप स्पष्ट हुनेछ ।” नेपालमा समय तोकेर नियमित रूपमा समाचार, कार्यक्रम तथा अरू सामग्री दिने युट्युब च्यानल भने निकै कम छन् ।
ओएसआर डिजिटल युट्युब च्यानल कम्पनीका व्यवस्थापक रुपेन्द्र खड्गी दर्ता भएर सञ्चालन हुनुपर्ने भएपछि केही व्यवस्थित हुँदै जाने तर तत्काल अहिले देखिएका संवेदनशील र अराजक सामग्री नियन्त्रण हुने सम्भावना निकै कम रहेको बताउँछन् । “ठूलो परिमाणमा आम्दानी गर्दै आएका च्यानलहरू दर्तामा आए पनि १०÷१५ हजार आम्दानी गर्नेहरू तत्काल दर्तामा आउँछन् भन्ने लाग्दैन । पाँच लाख रुपैयाँमा दर्ता भएर १०/१५ हजार आम्दानी गरेर रन हुन पनि कठिन हुन्छ,” उनी भन्छन्, “तर, राम्रो आमदानी गरिरहेकाहरू रजिष्टर हुन्छन् ।”
श्रीमान्-श्रीमतीको घर झगडा तथा उच्छृंखल सामग्री राख्नेहरू भने नियमावली जारी हुनेबित्तिकै तत्काल हटेर जाने सम्भावना कम रहेको उनको बुझाइ छ । सामाजिक सञ्जाल भएकाले व्यक्ति स्वयं संयम नभएसम्म कन्टेन्टमा नियन्त्रण नहुने उनी बताउँछन् ।
युट्युब गुगलमा उपलब्ध त्यस्तो एप हो, जुन जिमेल अकाउन्ट भएमा सहजै खोल्न सकिन्छ । युट्युब च्यानल अथेन्टिक जिमेल अकाउन्ट भएको जोसुकै व्यक्तिले आफूले चाहेको नाममा खोल्न र प्रयोग गर्न पाउँछ । तर, युट्युब च्यानलको नाम भने अरूसँग मिल्ने हुनु हुँदैन । त्यसैले नेपालमा अहिले कति युट्युब च्यानल छन् भन्ने तथ्यांक नरहेको सञ्चार मान्त्रालयले जनाएको छ । नेपाली भाषामा जुनसुकै देश तथा ठाउँबाट पनि युट्युब च्यानल चलाउन सक्ने भएकाले यसको संख्या कति छ यकिन नभएको सञ्चार मन्त्रालयका प्रवक्ता सिंह बताउँछन् ।
युट्युबबाट पैसा कमाउन कम्तीमा च्यानलमा एक हजार सस्ब्सक्राइब हुनुपर्छ । एक वर्षमा चार हजार घण्टा च्यानल हेरेको हुनुपर्छ । यति भएपछि मात्रै अप्लाई गर्दा युट्युब च्यानल मोनिटाइज हुन्छ । एक हजार सस्ब्सक्राइब र वाच टाइम चार हजार घण्टा भएपछि युट्युबले सम्बन्धित व्यक्ति वा संस्थालाई इमेल पठाउँछ । उक्त इमेलसँगै युट्युब च्यानल सञ्चलकले बैंक अकाउन्ट पठाउनुपर्छ । यति प्रक्रिया पुगेपछि युट्युबमा अपलोड गरिएका भिडियोबाट भ्युजका आधारमा पैसा आउन थाल्छ । रेभिन्युका लागि पनि अप्लाइ गर्नुपर्छ ।
कुन भिडियोको कति पैसा आउँछ त्यो भने निश्चित हुँदैन । भिडियोको लम्बाइ, त्यो हेरेको समय, त्यसमा आएका विज्ञापनका आधारमा युट्युबबाट रेभिन्यु आउँछ ।
सुरूमा वेस्टर्न युनियनबाट पनि नेपाली युट्युब च्यानल सञ्चालकले पैसा लिन सकिन्थ्यो । तर, अहिले बैंक खाता अनिवार्य छ । बैंकबाट रेभिन्यु आउने भएपछि संस्था वा व्यक्तिको आम्दानीअन्तर्गत कर तिर्नुपर्ने भएको छ ।
समयले पनि रेभिन्यु जेनेरेटमा फरक पर्छ । अक्टोबर, नोभेम्बर र डिसेम्बरमा अरू महिनाको तुलनामा धेरै रेभिन्यु आउँछ । तर, जनवरी, फेब्रुअरी, मार्चमा त्यही कन्टेन्ट अपलोड गरियो र भ्युज पनि त्यति नै छ भने पनि त्यसको रेभिन्यु कम हुन्छ ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको समयमा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई हुन्छ । कन्टेन्ट प्ले भइरहेका बेला युट्युबमा आउने विज्ञापनका आधारमा रेभिन्यु बढ्छ । जति धेरै विज्ञापन कन्टेन्टमा आउँछ त्यति नै धेरै च्यानललाई आम्दानी हुन्छ ।
सामान्यतः आठ मिनेटको म्युजिक भिडियोको १० लाख भ्युज युट्युबमा हुँदा ३० देखि ६० हजार रुपैयाँ आम्दानी हुने तर नोभेम्बर र डिसेम्बरमा यसको ३० देखि ५० प्रतिशतसम्म रेभिन्यु बढी हुने निर्देशक निकेश खड्का बताउँछन् ।
हाइलाइट्स नेपाल युट्युब च्यानल कम्पनीका सञ्चालक ओम गुरुङ नेपालमा असार मसान्तसम्म बजेट खर्च गरिसक्नुपर्ने बाध्यात्मक अवस्था भएजस्तै पश्चिमा देशमा डिसेम्बरसम्म विज्ञापनका लागि गरिएका कन्ट्रयाक पूरा गर्नुपर्ने भएकाले नोभेम्बर र डिसेम्बरसम्म युट्युबमा धेरै विज्ञापन आउने गरेको बताउँछन् । त्यसैले यो समय रेभिन्यु राम्रो हुने भएकाले आफूसँग भएका कन्टेन्ट युट्युब च्यानल कम्पनीहरूले रिलिज गर्ने गरेको उनी बताउँछन् ।
कुन देशबाट कतिले युट्युबको सामग्री हेरेका छन् त्यसले पनि रेभिन्यु निर्धारण हुन्छ । युरोप, अमेरिकी मुलुकबाट हेरिएको छ भने धेरै तर खाडी राष्ट्रबाट हेरिएको छ भने केही कम रेभिन्यु प्राप्त हुन्छ । युट्युबले नेपाली भूमिलाई आफ्नो बजारको भूगोलमा राखेको छैन । त्यसैले नेपालबाट हेरिएको भ्युजले रेभिन्युमा ठूलो अर्थ राख्दैन ।
नेपालबाट हेरेको भ्युजका आधारमा खासै धेरै रेभिन्यु नआउने ओएसआर डिजिटलका व्यवस्थापक रुपेन्द्रको भनाइ छ । “नेपालबाट हेरेका आधारमा नआउने गरेको त होइन, तर करिब करिब शून्यजस्तै मान्छौँ हामी । किनभने, नगन्य रूपमा मात्रै आउँछ,” उनी भन्छन् ।
नेपालबाट युट्युबमा विज्ञापन गर्ने कम्पनी निकै कम भएका कारण यस्तो भएको हो । नेपाली कम्पनीहरूले पनि गुगलमा, युट्युबमा विज्ञापन दिन थालेको अवस्थामा नेपाली भूमिबाट हेरेको आधारमा पनि आउने रेभिन्यु बढ्ने रुपेन्द्र बताउँछन् ।