गीत कसको हुन्छ भन्नेबारे बाक्लै विवाद आउन थालेका छन् । कहिले शब्दलाई, कहिले भाकालाई लिएर त कहिले गायनलाई लिएर यसबारे विवादहरू आउने गरेका छन् । यति मात्रै होइन, कुनै गीतको भाकाको केही अंश पुरानो गीतको लयसँग मिलेको भन्दै विवाद हुँदै आएको छ ।
केही समय अगाडि वसन्त सापकोटाले महेश खड्काले आफ्नो नयाँ संगीत ‘नोगेन’मा आफ्नो पुरानो गीत ‘सागर सरी’को भाका हुबहु मिलाएको भन्दै आपत्ति जनाए । (भलै, यो विवाद अहिले सल्टिसकेको छ ।)
केही समय अगाडि प्रकाश सपुतले यस्तै आरोप शम्भु राईबाट खेप्नुपर्यो । शम्भु राई आफ्नो ‘जोर मादल बजाउँदै...’ तिहार गीतबाट प्रकाशले आफ्नो गीत ‘गलबन्दी’मा लय लिएको भन्दै रजिष्टारको कार्यालयसम्म पुगे ।
प्रायः हरेक गीतमा विवादित बन्ने दुर्गेश थापालाई पनि केही समय अगाडि गीत चोरीको आरोप लाग्यो । ‘बीच्चबीच्चमा–२’ मा प्रयोग भएको शब्द ‘आकाशैमा बादलु डम्मै छ...’ भन्ने शब्द प्रयोग गरे । यही शब्द अलिमियाको गीतमा उल्लेख छ । यो हुक लाइन मिल्यो, सञ्चारमाध्यममा यसले राम्रै स्थान पनि पायो । तर, कानुनी झमेला भने उनले बेहोर्नु परेन । कारण, अलिमिया ट्रष्ट मौन रह्यो ।
केही समय अगाडि मात्रै अञ्जु पन्तले गाएको विपीन किरणको गीत रचना रिमालले गाएपछि राम्रै बहस भयो । आफूलाई जानकारी र क्रेडिट नै नदिई आफूले गाएको ‘न बिर्सें तिमीलाई...’ रचनालाई गाउन लगाएको भन्दै अञ्जुले दुखेसो पोखिन् । उनले दुखेसो पोख्नुअगावै यसो गर्न पाइन्छ कि पाइँदैन भन्दै सर्जक र सञ्चारमाध्यममा बहस सुरु भइसकेको थियो । कोही पाइन्छ भन्दै थिए भने कोही पाइँदैन भन्ने मत जाहेर गरिरहेका थिए ।
यी त भए पछिल्ला केही उदाहरण । यस्ता थुप्रै आरोप–प्रत्यारोपका घटना छन्, जसले सर्जकहरूमाझ तिक्तता बढाएको छ । पटक–पटक एकै प्रकृतिका समस्याहरू दोहोरिरहेका छन् । अझै यस्ता घटना बल्झिरहने निश्चित छ । कारण, यी घटनाहरू बीचैमा मिलापत्रमा पुगेर टुंगिएका छन् । दोषी को हो ? खुट्याउने काम भएको छैन । कानुनको कठघरामा कोही उभिएको छैन ।
त्यसैले केही शब्द र भाका ‘मिल्नु वा मिलाइनु’लाई नेपाली सांगीतिक क्षेत्रमा सामान्य रूपमा लिने गरेको देखिन्छ । यसमा स्पष्टता कायम नभएसम्म यो समस्याले नेपाली सांगीतिक क्षेत्रलाई छोड्ने छैन ।
गीत कसको हुन्छ ? जवाफमा संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेष भन्छन्– गीतकारको हुन्छ । शब्दका रूपमा सिर्जना गर्ने पहिलो व्यक्ति गीतकार भएकाले यसमा पहिलो अधिकार गीतकारको हुने उनको तर्क छ ।
गीत मात्रै होइन, कसैले लय अर्थात् धुन मात्रै बनाएको छ भने त्यसको रचयिता संगीतकार भएकाले त्यसको अधिकार संगीतकारसँग हुन्छ । धुन र शब्द मिसिएपछि त्यसमा गीतकार र संगीतकारको बराबर अधिकार हुने प्रतिलिपि अधिकारका अभियन्ता समेत रहेका लक्ष्मण बताउँछन् । “जबसम्म कुनै गायकलाई गाउन लगाउँदैनन् तबसम्म त्यो गीतकार र संगीतकारको हो, हुन्छ,” उनी भन्छन्, “धुनमाथि संगीतकारको र गीतका शब्दमा गीतकारको अधिकार हुन्छ ।”
प्रतिलिपि अधिकार ऐनले यी दुवैलाई रचयिता भनेर सम्बोधन गरेको छ । यी दुवैको ५०/५० प्रतिशत अधिकार हुन्छ । गीतकार मात्रै होइन, धुन सिर्जना गर्नेलाई पनि ऐनले रचयिता भनेको छ ।
गीतकार र संगीतकारको सहमतिमा गायक वा गायिकालाई गाउन लगाएपछि त्यसलाई गाउँदै हिँड्ने अधिकार उसमा (गाउने व्यक्ति गायक वा गायिका)मा सुरक्षित हुन्छ । पफर्म गर्दै हिँड्ने अधिकार भने गाउने व्यक्तिसँग सधैँभरिका लागि हुन्छ ।
गीतमा शब्द, धुन र गायनसँग चौथो पक्ष जोडिएर आउँछ । चौथो पक्ष हो, उत्पादक अथवा लगानीकर्ता । जसले गीत, संगीत र गायनमा लगानी गर्छ ऊ नै उत्पादक हो । गीतकार, संगीतकार, गायक अथवा एग्रिगेटर वा अर्को कोही व्यक्ति पनि उत्पादक बन्न सक्छ । अथवा, गीतकार र संगीतकार वा गायक आफैँले पनि लगानी गरेर उत्पादन गर्न सक्छ । नेपालमा धेरैजसो गीतकार उत्पादक हुने गरेको पाइएको छ ।
“प्रोडुसर (उत्पादक) जोडिएपछि चारजनामा फरक–फरक अधिकार हुन्छ । पहिलो प्राथमिक अधिकार गीतकार र संगीतकारमा हुन्छ । उनीहरूले लेखेर दिएको भए लेखेअनुसार तर नलेखी गाउन लगाएको छ भने गीतकार र संगीतकारमा प्रथम प्रतिलिपि अधिकार रहिरहन्छ,” लक्ष्मण भन्छन्, “तर, कसैले गीत लेख्यो, संगीत भर्यो, गायो पनि तर उसले निश्चित रकम लिएर लिखित रूपमा कसैलाई हस्तान्तरण गर्यो भने जसले किनेको हो उसमा प्रतिलिपि अधिकार हुन्छ ।”
तर, यसका लागि गीतकार र संगीतकारले लेखेर नै प्रतिलिपि अधिकार हस्तान्तरण गरेँ भनेर दिनुपर्छ, अन्यथा पैसा लिएर कसैलाई दिए पनि त्यसको कपिराइट गीतकार र संगीतकारमै रहिरहन्छ ।
“राजेन्द्र थापासँग दीपकराज गिरीले पैसा तिरेर आफ्नो चलचित्रका लागि गीत किन्नुभयो भने त्यसमा राजेन्द्र थापाले यति वर्षका लागि वा सधैँका लागि मैले यति पारिश्रमिक लिएर प्रतिलिपि अधिकार हस्तान्तरण गरेँ भनेर लिखित गरिदिनुपर्छ,” लक्ष्मण भन्छन्, “यस्तो करार गर्दा रुपैयाँको लेनदेन हुनुपर्छ भनिएको छ । रुपैयाँको लेनदेन भएन भने पनि प्रतिलिपि अधिकार हस्तान्तरण भएको मानिँदैन ।”
प्रतिलिपि अधिकार ऐन र नियमावली
प्रतिलिपि अधिकार ऐन र प्रतिलिपि अधिकार नियमावलीले प्रतिलिपि अधिकारअन्तर्गत आर्थिक र नैतिक अधिकार स्पष्ट उल्लेख गरेकाले यसबारे हरेक सर्जक र स्रष्टा जानकार हुनुपर्नेमा उनको जोड छ । नैतिक अधिकार कहिले पनि हस्तान्तरण हुँदैन । आर्थिक अधिकार भने हस्तान्तरण हुन्छ ।
“नैतिक अधिकारमा नाम अनिवार्य उल्लेख गर्नुपर्छ । तर, आर्थिक अधिकार हस्तान्तरण हुने भएकाले सर्जकले उत्पादकलाई पैसा लिएर प्रतिलिपि अधिकार बेचेको हुनसक्छ,” उनी भन्छन्,” आर्थिक अधिकार उत्पादकलाई हस्तान्तरण गरिएको हो भने लिखतमा जे उल्लेख छ सोहीबमोजिम हुन्छ ।” आर्थिक अधिकारका लागि लगानी कसले गरेको हो त्यो स्पष्ट भएको अवस्थामा विवाद गरिरहनु नपर्ने उनको भनाइ छ ।
‘यहाँ बौद्धिक सम्पत्तिलाई सम्पत्ति नै मानिँदैन’
नेपालमा बौद्धिक सम्पत्तिलाई सम्पत्ति मान्ने चेतको विकास अझै भइनसकेको गीतकार यादव खरेल बताउँछन् । बौद्धिक सम्पत्तिलाई सम्पत्ति मान्ने चेतको विकास भएपछि मात्रै बौद्धिक सम्पत्तिको चोरी घट्ने उनको विश्वास छ ।
“मान्छेमा चेतनाको विकास नहुँदा एकै खालका विवादहरू आइरहेका छन् । लेख्ने र बनाउने व्यक्तिमा कानुनबारे जानकारी नभएर यस्तो भएको हो,” गीतकार यादव भन्छन्, “प्रतिलिपि अधिकारबारे चेतना नभएका कारण एकै प्रकृतिका घटना र विवादहरू आइरहेका छन् । यसबारे पढ्ने, पढाउने र अध्ययन गर्ने चलन नै कम छ ।”
विकासशील देशमा भौतिक जायजेथालाई मात्रै सम्पत्ति मान्ने सोच रहेको उनी बताउँछन् । धेरैमा घर–घडेरी, गाडी, पैसालाई मात्रै सम्पत्ति मान्ने चेत रहेको भन्दै उनी अभौतिक कुरालाई जबसम्म सम्पत्ति मानिँदैन तबसम्म प्रतिलिपि हननका घटना र विवादहरू दोहोरिरहने बताउँछन् ।
सर्जक तथा स्रष्टा मात्रै होइन, राज्य पनि यसमा धेरै सचेत नरहेको यादवको टिप्पणी छ । “हामी व्यक्ति मात्रै होइन, राज्यका सम्बन्धित विभाग तथा निकायहरू पनि बौद्धिक सम्पत्तिमा त्यति धेरै संवेदनशील भएको पाइँदैन,” उनी भन्छन् ।
६० प्रतिशत मेलोडी मिले चोरी
संगीतकार, गीतकार तथा गायक अर्जुन पोखरेल ६० प्रतिशतभन्दा माथि संगीत नमिल्ने बताउँछन् । “अनकन्सस माइन्डमा गीत बस्छ भनिन्छ, तर हुबहु मिल्छ भन्ने छैन,” पोखरेल भन्छन्, “कसैबाट प्रभावित संगीतकार भए केही मिल्न सक्छ । तर, ६० प्रतिशतभन्दा माथि मिलेको खण्डमा त्यसलाई चोरी नै भन्नुपर्छ ।”
केही कलर आउन सक्छ, तर एरेन्जमेन्ट पनि उस्तै गायन पनि उस्तै भने नहुने उनको अनुभव छ ।
पूर्वीय संगीतमा राग भुपाली, राग दुर्गा, राग मालकोश र राग वृन्दावनी सारंगको फ्रेमभित्र मात्रै बसेर कम्पोज गर्दा केही हदसम्म मिल्ने उनको भनाइ छ । नेपालमा यी फ्रेममा मात्रै बसेर कम्पोज गर्ने संगीतकार धेरै रहेकाले केही कम्पोज मिल्न सक्ने अर्जुन बताउँछन् ।
“पश्चिमेली लोकगीत यही फ्रेममा बसेर कम्पोज हुने हुँदा धेरै मिलेजस्तो लाग्छ । पूर्वेली र काँठका लोकगीतमा भने हाफ नोट धेरै प्रयोग भएकाले यी सँगै अन्य राग पनि मिसिएको पाइन्छ,” उनी भन्छन्, “हाफ नोट लिने र हाफ नोटमा जम्प गर्ने तरिका पनि करिब–करिब उस्तै हुन्छ । त्यसैले सा रे ग म मा बसेर वा टेबल ठोकेर कम्पोज गर्नेहरू एउटै मेलोडीमा उस्तै कलर देखिने सम्भावना धेरै हुन्छ ।”
खिड्का र मेलोडीको फ्लो पनि उस्तै हुनु भनेको कसैबाट प्रभावित भएर मात्रै हुने उनको तर्क छ । उनी भन्छन्, “तर, ठ्याक्कै हुबहु भने मिल्दै मिल्दैन ।”
अर्जुन ६० प्रतिशतभन्दा पनि माथि मिल्दा पनि नबोल्नु भनेको अघिल्लो सिर्जनाको हत्या भएको हेरेर बस्नु हो भन्छन् । “६० प्रतिशत भन्दा पनि माथि मिल्दा पनि नबाल्ने हो भने बलिउड, हलिउडलगायत विश्वका चलेका गीत म छिनमै मोडिफाइ गर्दिन सक्छु,” उनी अगाडि प्रश्न गर्छन्, “४०/५० प्रतिशत मोडिफाइ गरेर म संगीत सिर्जना गर्दिन सक्छु भने मैले नयाँ कम्पोज किन गर्ने ?”
४०/५० वा ६० प्रतिशतसम्म कम्पोज मिल्छ भने पनि मैले त्यो संगीत सुनेको छैन भनेर कम्पोजरले भनेको खण्डमा त्यसमा सत्यता नहुने उनको जिकिर छ ।
पफर्मर (गायक/गायिका)को अधिकार कति ?
केही समय अगाडि रि–रकेर्ड भएको गीत ‘न बिर्सें तिमीलाई’मा उप्पादकसमेत रहेका विपीन किरणले अञ्जु पन्त र जगदीश समाललाई क्रेडिट नदिएको भन्दै धेरैले आलोचना गरे । घुमाउरो शैलीमा अञ्जुले पनि असन्तुष्टि जनाइन् ।
आर्थिक अधिकार नरहे पनि नैतिक अधिकार भने प्रस्तोतामा पनि हुने भन्दै प्रतिलिपि अधिकार अभियन्ता लक्ष्मण शेष पनि अञ्जुकै पक्षमा उभिए । सिर्जनामा पहिलो अधिकार सर्जकको हुने भए पनि लामो समयको साधना तथा ज्ञान र बुद्धि आर्जन गरेर प्रस्तोता (गायक/गायिका)ले गाएको हुँदा कानुनमा जे भए पनि उसको अनुमतिबिना पुनः जस्ताको तस्तै रेकर्ड हुनु गलत भएको उनको धारणा थियो । यद्यपि, यसमा कानुन मौन रहेको उनी बताउँछन् । अन्ततः विपीनले अञ्जु र जगदीश दुवैलाई क्रेडिट दिए ।
“धेरै वर्षको त्याग, साधना र मिहिनेतले गायक/गायिकाले जीवन दिएको हुन्छ । त्यसैले ठूलो योगदान दिएको गीतलाई यो वा त्यो बहानामा अर्को मान्छेलाई बिनाअनुमति गाउन दिनु गलत हो,” उनी भन्छन्, “यो प्रवृत्ति पूर्णतया गलत छ । गीत–संगीतका विभिन्न संस्थाका पदाधिकारी र सर्जकहरू बसेर हामीले एउटा एमओयू पनि गरेका छौँ । त्यसले पनि यो अधिकार दिँदैन ।”
संगीतकार संघ, गीतकार संघ, प्रस्तोता समाज, उत्पादक संघ, संगीत उद्योग संघ, म्युजिक नेपाललगायत संघ–संस्थाका पदाधिकारी बसेर ०७३ मा एमओयू गरेका थिए । जसले प्रस्तोताको अनुमतिबिना गीत रि–रेकर्ड गराउँन पाइँदैन भन्छ ।
‘हाम्रा गीत चोरी भइरहेका छन्’
लोकगायक कुमार बस्नेत पछिल्लो समय नयाँ पुस्ताले नयाँ संकलन गर्न छोडेको बताउँछन् । पुराना लोकगीत र भाकाबाटै चोरी गरेर कतिपयले गीत गाइरहेको उनको गुनासो छ । “अहिलेको पुस्ताले खोज तथा अनुसन्धान गर्दैन । पुराना गीत गाएर हिट हुन खोजिरहेको छ,” कुमार भन्छन्, “हाम्रा कति गीत चोरी भइरहेका छन् । अरूका गीत गाएर, चोरेर गाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” अरूका गीत चोरेर गाउने प्रवृत्तिको अन्त्य नभएपछि यस्ता विवादहरू आइरहने उनको भनाइ छ ।
गीत चोरीको गुनासो सम्बोधन नभई लोकगायक जयनन्द लामाको निधन भएको उनी बताउँछन् । “अन्तिमपटक फोनमा कुरा हुँदा हाम्रा गीत चोरी भइरहेका छन्, कसरी रोक्ने होला भन्ने उसको गुनासो थियो,” कुमार भन्छन्, “धेरै पुराना सर्जक तथा स्रष्टाका गीतहरू चोरी भइरहेका छन्, यसलाई कसरी रोक्ने हो सम्बन्धित पक्षले ध्यान दिनुपर्यो ।”
प्रतिलिपि अधिकार आफूसँग भए पनि त्यसको अधिकार उपभोग गर्न नपाएको उनको गुनासो छ । प्रतिलिपि अधिकारको सुरक्षाका लागि सम्बन्धित निकायले पनि चासो नदेखाउने गरेको उनी बताउँछन् ।