काठमाडौं । नेपाली चलचित्रले भारतमा बजार विस्तार गर्न सकेको छैन । धेरै हदसम्म संस्कार र संस्कृति मिल्ने भारतमा करिब ६ दशक लामो यात्रा तय गरिसक्दा पनि बजार विस्तार गर्न नसकेको हो । भलै, पछिल्लो समय केही प्रयास भने हुन थालेका छन् ।
सन्तोष सेन भारतमा थिएटर रिलिजकै लागि लामो समयदेखि मुम्बईमा छन् । उनले चलचित्र ‘प्रेम गीत–३’ हिन्दीमा डब गरिसकेका छन् । हिन्दी चलचित्रसरह भारतका थिएटरमा रिलिज गर्ने उनको तयारी छ ।
दिनेश राउतको चलचित्र ‘प्रकाश’ पनि हिन्दीमा डब गर्ने तयारी छ । हिन्दीमा डब गर्नुको उद्देश्य त्यहाँ रिलिज गर्नु नै हो ।
केही समय अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘परस्त्री’ले पनि भारतमा बजार खोज्ने प्रयास गरेको छ । सुरज पाण्डेले निर्देशन गर्ने उक्त चलचित्र हिन्दीमा खिचिने बताइएको छ । ‘परस्त्री’का लेखक दीपेन्द्र के खनाल यो चलचित्र हिन्दीमा डब मात्रै नभएर सोही भाषामा खिच्ने तयारी रहेको बताउँछन् ।
भारतमा नेपाली चलचित्रको बजार खोज्ने एकाध प्रयास भए पनि सीमा जोडिएको अर्को मुलुक चीनमा भने यति पनि प्रयास भएको छैन ? छैन भने किन ?
चलचित्र निर्देशक प्रदीप भट्टराई भन्छन्, “चीनमा नेपाली चलचित्रको बजार खोज्नु भनेको सगरमाथा पार गर्नुसरह हो ।” चीनमा नेपाली चलचित्रको बजार खोज्न त्यति सहज र सरल नभएको उनी बताउँछन् । त्यहाँको भाषा र राजनीतिक व्यवस्था ठूलो चुनौती रहेको उनको बुझाइ छ ।
चीनको बजारसम्म जाने प्रयास नै नगरिएको निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् । नेपाली चिन्तन नै ‘खेताला’ प्रवृत्ति भएको उनको टिप्पणी छ । लाहुरे संस्कारबाट हुर्किएका नेपाली अहिले पनि अह्राए/सिकाएको काम गर्ने चिन्तनबाट अझै बाहिर आउन नसकेको मनोज बताउँछन् । जबसम्म चलचित्रलाई व्यापारको मनोविज्ञानबाट हेरिँदैन तबसम्म नेपाली चलचित्र चीनको बजारमा नपुग्ने उनी सुनाउँछन् ।
“जबसम्म भिजन भएका व्यापारीको जन्म हुँदैन तबसम्म नेपाली समाजको विकास हुँदैन । चौतर्फी व्यापारको भिजन भएको व्यापारीले जबसम्म चीनमा नेपाली चलचित्रको बजार खोज्दैन त्यो समयसम्म नेपाली चलचित्र चीन जाँदैन,” मनोज भन्छन् ।
केही व्यक्तिले चलचित्र ‘जात्रा’ चिनियाँ भाषामा डब गरेर देखाउन आग्रह गरेको प्रदीप सुनाउँछन् । तर, डब गर्ने डबिङ आर्टिस्टको पनि अभाव रहेको उनी बताउँछन् । आर्ट बुझेको चिनियाँ डबिङ आर्टिस्टसम्म नेपाली चलचित्रकर्मीको पहुँच नरहेको उनको भनाइ छ ।
“डबिङ गरेर तपाईंको चलचित्र दिनुस् भनेर मलाई भनिएको थियो । तर, चिनियाँ डबिङ आर्टिस्टसम्म पहुँच नभएका कारण त्यो सम्भव भएन,” प्रदीप भन्छन्, “चिनियाँ भाषामा स्क्रिप्ट अनुवाद गर्ने व्यक्ति चाहियो । डबिङ गरिएको चलचित्र अहिले यहाँको भन्दा राम्रो हुनुपर्छ, जुन सम्भावना अहिलेको अवस्थामा निकै कम छ ।”
यो अवस्थामा मात्रै चीनमा नेपाली चलचित्र
नेपाली चलचित्र दुई तरिकाले मात्रै चिनियाँ बजारमा पुग्ने उनको विश्वास छ । व्यापार अथवा आर्टको उच्चतम विन्दुमा पुगेपछि मात्रै नेपाली चलचित्र चीनमा पुग्ने उनको भनाइ छ ।
“आर्टको उच्चतम विन्दुमा पुगेपछि चिनियाँ बजारले आफैँ नेपाली चलचित्र खोज्छ । तर, यसका लागि त्यो लेवलका कलाकार नेपाली चलचित्र क्षेत्रले तयार गर्नुपर्छ, जुन अहिले छैन,” मनोज भन्छन्, “आर्टको इन्डिपेन्डेन्ट पक्ष सशक्त भयो भने त्यसले आफैँ बजार खोज्छ, होइन भने यहाँ प्रोडक्ट तयार गरेर त्यहाँ पनि बेच्छु भन्ने भिजन भएको व्यापारी चाहिन्छ ।”
बजारको बुझाइ, आकार र सम्भावनालाई अध्ययन गरेर त्यहीअनुसारको सामग्री तयार गर्ने दक्ष व्यापारीले मात्रै चीनको बजार खोज्न सक्ने उनको ठहर छ ।
यी दुवै पक्ष नेपालमा नरहेकाले तत्काल नेपाली चलचित्रले चीनको चलचित्र बजारको ‘सपना’ नदेखे हुने उनी बताउँछन् । यी दुई पक्ष सशक्त भएको खण्डमा भारत, अमेरिका र युरोपमा पनि नेपाली चलचित्र सहजै जाने तर नभएकै कारण अहिलेसम्म नेपालमै खुम्चिनुपरेको उनी सुनाउँछन् ।
विद्यमान समाजमा जे उपलब्ध छैन त्यो समाज आफूले देखेको प्रोडक्टको सम्भावनाको ठूलो क्षेत्र हो । त्यसैले सम्भावना भएको क्षेत्रमा लगानी गरेको खण्डमा सफलता पनि हासिल हुन सक्ने मनोजको बुझाइ छ । “सम्भावना खोतल्ने क्रमको विकास भने सुरु भएकाले अर्को पुस्ताले आर्ट र कमर्सको उच्चतम विन्दुमा पुगेर काम गर्ने सम्भावना छ,” उनी अपेक्षित सुनिए ।
तत्काल सम्भावना छैन
हिन्दी चलचित्रले पनि चीनमा रिलिज हुन ठूलो संघर्ष गर्नुपर्ने प्रदीप बताउँछन् । एउटा हिन्दी चलचित्रले एक अर्बभन्दा धेरै बजेट चीनमा चलचित्र रिलिज गर्न पब्लिसिटी खर्च गर्ने गरेको भन्दै त्यो नेपाली चलचित्रकर्मीका लागि सम्भव नभएको उनको ठहर छ ।
“इन्डियामै नेपाली चलचित्र चलाउन सकिएको छैन । त्यसैले चीनमा चलचित्र चलाउने धेरै परको कुरा हो । सपना देख्न पनि पाइयो, खुसी हुन पनि पाइयो, तर झल्याँस्स ब्युँझिनुपर्छ,” प्रदीप भन्छन् ।
चलचित्र ‘प्रकाश’का निर्माता महेन्द्र अधिकारी पनि मनोजको मतमा सहमत छन् । अहिलेको अवस्थामा व्यापारीहरूले मात्रै चीनमा नेपाली चलचित्रको बजार खोज्न सक्ने उनी बताउँछन् । “अहिले चलचित्रकर्मीहरूको प्रयासले मात्रै चिनियाँ बजारमा नपाली चलचित्र पुर्याउन सकिँदैन । यदि, चीनका हलमा नेपाली चलचित्र रिलिज गर्ने हो भने व्यापारीले मात्रै सक्छन्,” महेन्द्र भन्छन्, “राम्रो प्रोडक्टका रूपमा नेपाली व्यापारीले चिनियाँ व्यापारीसँग सहकार्य गरेको अवस्थामा मात्रै नेपाली चलचित्र त्यहाँ (चीन) रिलिज गर्न सकिन्छ ।”
चीनमा विदेशी चलचित्रका लागि कोटा प्रणाली रहेको र त्यसका लागि राज्यले पहल गर्नुपर्नेमा उनको जोड छ । कोटा प्रणालीबाट केही राम्रा चलचित्र चिनियाँ बजारमा पुर्याउन सके विस्तारै बजार प्रवद्र्धन हुने महेन्द्र बताउँछन् ।
पहल भइरहेको छ
सरकारी तवरबाटै चीनमा नेपाली चलचित्रको बजार खोज्न प्रयासरत रहेको चलचित्र विकास बोर्डले जनाएको छ । चीनले लागु गरेको कोटा प्रणाली सुरक्षित गर्ने गरी पहल भइरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् ।
“चीनमा बलिउड, हलिउडका सिनेमाको कोटा सिस्टम छ । हामीले प्रयास गरिरहेका छौँ,” बोर्ड अध्यक्ष दयाराम भन्छन्, “चीनमा यसअघि नेपाली चलचित्र सिन्दूर चलेको रहेछ । चाइना टेलिभिजनमा पनि यो चलचित्र देखाइएको रहेछ । पुनः नेपाली चलचित्र चीनमा रिलिज गर्ने पहल हामीले गरिरहेका छौँ ।”
चीनको संस्कृति हेर्ने विभागसँग नेपाली चलचित्र त्यहाँका हलमा रिलिज गर्ने गरी व्यवस्था मिलाउन पहल गरिरहेको दयाराम बताउँछन् । नेपाली चलचित्रका लागि पनि कोटा छुट्टयाउन पहल गरिरहेको उनको भनाइ छ । बोर्डसँगै चलचित्र निर्माता संघले पनि पहल गरिरहेको उनी बताउँछन् । सकारात्मक नतिजा आउने बोर्डको अपेक्षा छ ।
चीनसँगै बर्मा र सिक्कमसँग पनि नेपाली चलचित्रको हल रिलिजका लागि बोर्डले पहल गरिरहेको उनले जानकारी दिए ।
४३ देशमा चलचित्र अवैतनिक दूत
बजार विस्तारकै लागि बोर्डले चीनसहित विश्वका ४३ देशमा चलचित्र अवैतनिक दूत नियुक्तिको पहल गरिरहेको छ । बोर्डले गरेको पहलमा सरकार सकारात्मक रहेको अध्यक्ष दयाराम बताउँछन् ।
“चलचित्र क्षेत्रको विकास र विस्तारका लागि हामीले सकेसम्म प्रयास गरिरहेका छौँ । ४३ वटा देशमा चलचित्र अवैतनिक दूत नियुक्त गर्ने पहल गरिरहेका छौँ,” उनी भन्छन्, “यो प्रक्रिया धेरै अगाडि बढिसकेको छ । सञ्चार मन्त्रालयबाट निर्णय भएर परराष्ट्र मन्त्रालय पुगिसकेकाले छिट्टै यो प्रक्रिया अन्तिम चरणमा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।”
परराष्ट्र मन्त्रालयले सहमति दिएको खण्डमा सम्बन्धित देशमा रहेका नेपाली चलचित्रकर्मीहरूमध्येबाट एकजना चलचित्र अवैतनिक दूतका रूपमा नियुक्त हुनेछन् । उनीहरूको जिम्मेवारी सम्बन्धित देशमा नेपाली चलचित्रको बजार विस्तार र प्रवद्र्धनका लागि पहल गर्नु हुनेछ ।