जनकपुरधाम । धनुषा महेन्द्रनगरका नारायण साह गएको सोमबार जनकपुरस्थित श्रम कार्यालयमा भेटिए । महेन्द्रनगरकै एभरेस्ट पेपर मिलले उनलाई १३ महिनाको पारिश्रमिक दिएको छैन ।
उनी त्यही काम गरेबापतको तलबका लागि डेढ वर्षदेखि जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सरकारी कार्यालय धाइरहेका छन् । तर, उनले आश्वासनबाहेक केही पाएका छैनन् ।
मजदुरी गरेर परिवार चलाउँदै आएका नारायण निराश देखिन्थे । अनि भन्दै थिए– आफैँले काम गरेबापतको पैसा लिन यतिसम्म समस्या हुन्थ्यो भन्ने लागेकै थिए ।
३६ प्रतिशत ब्याजदरमा ५४ हजार रूपैयाँ ऋण लिएर घरखर्च र नाति नातिनीको विद्यालय शुल्क तिरिरहेको उनी बताउँछन् ।
“सुरु समस्या भएपछि छिमेकीसँग सापटी लिएर जसोतसो गुजरा चलाइरहेको छु । ऋण लिएको पैसा विद्यालय शुल्क, लत्ताकपडा र सापटी तिर्दा नै सकियो,” उनले भने, “पैसा अभावका कारण उपचार गराउन सकिरहेको छैन ।”
त्यस्तै, सोही उद्योगमा कार्यरत अर्का मजदुर रामबाबु महतोको पीडा पनि उस्तै छ । उद्योगले उनको पनि १३ महिना काम गरेको पैसा नदिँदा उनी पनि समस्यामा छन् । रामबाबु महेन्द्रनगरमै कोठा लिएर बस्छन् ।
“उद्योगले पुसदेखि पुरानो तलब र काम दिएको छैन,” उनले भने,“पैसा नहुँदा चिसो मौसममा पनि न्यानो कपडा किन्न सकिनँ । म त चिसो खेप्न सक्छु । तर, बालबच्चालाई धेरै गाह्रो भएको छ ।”
सम्झौता हुन्छ, कार्यान्वयन हुँदैन
मजदुरका प्रतिनिधि सतेन्द्र सिंह २५० मजदुरको करिब १० करोड रूपैयाँ उद्योगले नदिएको बताउँछन् । मजदुरले साढे १३ महिना काम गरेको तलब नदिएर उद्योग ठग्न खोजेको उनको भनाइ छ ।
उद्योग र मजदुरबीच पटक–पटक वार्तामार्फत सहमति हुँदै आएको छ । पटक–पटक उद्योगका प्रबन्धक सन्तोष दाहालसँग सम्झौता भएपनि तलब दिन नदिएको सतेन्द्रले बताए ।
“०७७ फागुन २८ र ०७८ असार २९ गते श्रम तथा रोजगार कार्यालय जनकपुरको रोहबरमा सम्झौता भएको थियो । तर, कार्यान्वयन हुन सकेको छैन,” उनले भने ।
जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयले पत्राचार गर्दा जवाफमा लचिलोपन देखिएपनि तलब दिन अटेर गरेको उनी बताउँछन् ।
सञ्चय र बिमामा पनि जालझेल
मजदुर मदन कर्णले सञ्चय कोष र जीवन बिमामा पनि उद्योगले जालझेल गरेको बताए । ३५ जनाको सञ्चय कोषको रकम बैंकलाई लामो समयदेखि नबुझाएको उनको भनाइ छ ।
“हाम्रा सबै कागजात उद्योगले राखेको छ । सुरुमा उसले हाम्रा कागजात माग्यो,” उनले भने, “तर, उद्योगले हामीलाई कुनै पनि कागजात दिएको छैन । बिमा र सञ्चयकोषका कागजात पनि दिएको छैन ।”
०४७ सालमा उद्योगले गरिदिएको जीवन बिमाको लाभ आफूहरूले पाउन नसकेको मजदुरहरूले बताएका छन् ।
कच्चापदार्थ नहुँदा उद्योग नै बन्द हुने अवस्थामा छ । गत पुस २९ गतेदेखि मजदुरलाई उद्योगले काम दिएको छैन । उद्योगले कोरोना महामारी र उद्योग मर्मतसम्भार कारण आफूहरूलाई बेतलबी बिदामा राखेको बताउने गरेको उनीहरू बताउँछन् ।
तर, उद्योगका प्रबन्धक सन्तोषले तलब किस्तामा दिने सहमति गरेको बताउँदै मजदुरले पटक–पटक आन्दोलन गरेर उद्योगको काम प्रभावित पारेको बताए ।
उद्योग व्यवस्थापन पक्षकै अमरेशचन्द मेहताले पनि लामो समयदेखि मजदुरको तलब बाँकी रहेको स्वीकार गरेका छन् । पटक–पटक सञ्चालक फेरबदल हुँदा मजदुर मारमा परेको उनको भनाइ छ ।