काठमाडौं । मोरङको गछियाका फणिन्द्र घिमिरे र प्रेम चौधरी तथा मोरङकै बेलबारीका ज्ञानेन्द्र चौधरी र गजानन्द चौधरी रोजगारीको प्रलोभनमा भिजिट भिसामा दुबई पुगेर ठगिए ।
काठमाडौंको गोंगबु बस्दै आएका आर्यन नामले चिनिने रामकृष्ण मानन्धरलाई कुल १२ लाख रुपैयाँ बुझाएर दुबई पुगी अलपत्र परेका उनीहरू अहिले गाउँमै छन् । गाउँकै छिमेकी साहुबाट तीन/तीन लाखका दरले १२ लाख रुपैयाँ ऋण काढेर धन कमाउने सपना बोकेर दुबई उडेका थिए ।
तर, दुबईमा काम नपाएर अलपत्र परेपछि सँगैका साथीहरूसित ऋण नै लिएर नेपाल फर्किनुपर्यो । उनीहरू करिब २० दिनअघि नेपाल फर्किएका हुन् ।
काठमाडौं फर्किएर १२ लाख रुपैयाँ लिएर दुबई पठाउने बिचौलिया रामकृष्णलाई सम्पर्क गर्न अनेक उपाय लगाए । तर, रामकृष्ण उनीहरूको सम्पर्कमै आउन चाहेनन् ।
खोज्न आफैँ लागिपरे । तर, रामकृष्ण उनीहरूबाट सम्पर्कविहीन भए । त्यसपछि १२ लाख असुल गर्न प्रहरी प्रशासनसँग गुहार मागे । प्रहरीले लेनदेनको मुद्दा नहेर्ने भनेपछि उनीहरूले सञ्चारमाध्यमबाट आफ्ना समस्याहरू पोख्न थाले ।
यसैबीच, आर्थिक समस्याका कारण पीडित चारैजना गाउँ फर्किन बाध्य भए ।
पीडितको समस्या बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोसम्म पुग्यो । ब्युरोले उनीहरू चारैजनालाई सम्पर्क गर्दै ठगीकोे विवरण माग्यो । घटनाको सत्यतथ्य अनुसन्धान गरेर न्याय दिने आश्वासन दियो ।
मौखिक गुनासो टिपाएको दुई साता पुग्दा पनि ब्युरोबाट सकारात्मक प्रतिक्रिया नआएको फणिन्द्रको भनाइ छ । ‘‘अहिलेसम्म केही जानकारी पाएनौँ । साहुले घरमै आएर सावाँ–ब्याज माग्न ताकेता गर्न थालेपछि घर–परिवारमा तनाव बढेको छ । तीन/तीन लाख ठगी भएको छ । कसरी असुल्ने, अब कसलाई गुहार माग्ने ?,” उनले बाह्रखरीसित भने ।
दुबई बस्दै आएका मोरङकै मधुमल्लाका राजन कार्कीसँगको सम्पर्कले उनीहरू दुबई पुगेर अलपत्र परेका थिए । उनीहरूका अनुसार भिजिट भिसामा दुबई र त्यसपछि रोजगारीका लागि दुबईबाट माल्टा पठाइदिने भन्दै राजनले आश्वासन दिएका थिए । त्यति बेला राजनले नेपालमा सबै काम रामकृष्णमार्फत हुने भन्दै उनलाई पैसा बुझाउन भनेका थिए । दुबई पुगेपछि भने राजनले माल्टा पठाइदिने भन्दै प्रलोभन मात्रै दिइरहे । तर, पठाएनन् ।
रोजगारीका लागि माल्टा जाने आसमा दुबईमै केही महिना बित्यो । सोही समयमा उनीहरूले दुबईमै काम लगाइदिन राजनसँग अनुरोध गरे । अन्यथा, आफूहरूको रकम फिर्ता दिन कर गरे । त्यसपछि राजनले पनि ‘जसलाई पैसा बुझाएका थियौ, उसैसँग माग’ भन्दै उल्टै धम्क्याउन थालेको उनीहरू बताउँछन् ।
राजनले अब नेपाल नपठाउने र रोजगारी पनि नदिने भन्दै ज्यान मार्ने धम्की समेत दिएको पीडितको भनाइ छ । राजनले लगातार धम्की दिन थालेपछि दुबईमा रहेका नेपाली साथीभाइहरूबाट ऋण काढेर चारैजना स्वदेश फर्किए ।
करिब दुई साताअघि उनीहरूले राजनलाई फोन गरेका थिए । ‘‘फोनमा मोरङस्थित राजनको घरमा गएर आमाबुवाबाट हाम्रो पैसा असुल गर्ने भनेका थियौँ । त्यसपछि राजनले आफ्नो घर गएर आमाबुवालाई पैसा मागेर यातना दिएको खण्डमा तिमीहरूको पैसा दिँदै नदिने भन्दै चेतावनी दिए,” फणिन्द्रले भने । त्यसपछि पैसा नपाउने डरले राजनको घर नगएको उनी बताउँछन् ।
यद्यपि, सञ्चारमाध्यममा यो विषयमा समाचार आएपछि रामकृष्णले रकम दिने आश्वासनसहितको म्यासेज पठाएको उनले बताए । ‘‘मैले अरूलाई दिएको रकम असुल भएपछि दिने भन्दै एक–दुई दिन ह्वाट्सएपमा म्यासेज पठाएका थिए । अहिले फेरि रामकृष्ण सम्पर्कविहीन छन्,” फणिन्द्रले भने, ‘‘गाउँको छिमेकीबाट तीन/तीन लाख रुपैयाँ ऋण लिएर पैसा कमाउन गएका थियौँ । विदेशमा रुपैयाँ कमाएपछि गाउँ आएर तिरौँला भन्ने सोचमा ब्याजमा ऋण लिएका थियौँ । तर, रित्तो हात फर्किनुपर्यो । अहिले छिमेकी साहुले घरमै आएर सावाँ ब्याजसहित मागिरहेको छ ।”
आफ्नो गुनासो टिपाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फोन गरेको तर मन्त्रीको फोन नउठेको उनी बताउँछन् ।
पीडित गजानन्द चौधरीले बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक राजेश दत्तलाई फोन सम्पर्क गरेका थिए । उनका अनुसार प्रहरी निरीक्षक दत्तले आफूले यसबारेमा बुझेर फोन गर्ने बताएका छन् ।
प्रहरी निरीक्षक दत्तले पीडितहरूको उजुरी प्रक्रियामा रहेको बाह्रखरीलाई जानकारी दिए । ‘‘पीडितहरूको उजुरी हेरिरहेका छौँ । केस कहाँसम्म के गर्न सकिन्छ भनेर हेर्दै छौँ । त्यसपछि मात्रै भन्न सकिन्छ । बुझ्दै छौँ । त्यो केसबारे अध्ययन, अनुसन्धान भइरहेको छ,” उनले भने ।
पछिल्लो समय श्रम मन्त्रालयले भिजिट भिसाको समस्या समाधान गर्नका लागि विभिन्न मातहतका निकायसहित मार्सल टिम गठन गरिएको छ । मन्त्री श्रेष्ठ आफैँ बिचौलिया पक्राउ गर्नेदेखि विदेशमै गएर अलपत्रको उद्धार र व्यवस्थापनमा खटिन थालेका छन् । मन्त्रालयले विदेशमा अलपत्रहरूको गुनासा २४ सै घण्टा टिपाउन सकिने गरी गुनासो सेन्टर समेत स्थापना गरेको छ ।आज बिहान उनीहरूले उक्त सेन्टरमा फोन गरी आफ्ना गुनासा टिपाएका छन् ।
भिजिट भिसामा दुबई पुगेका युवाहरूको पीडा : कागजात कब्जा गरी लेबर क्याम्पमा राखेर कुट्छन्