site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी गर्न सकिन्छ १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात

सरकारले अध्यादेशमार्फत कानुन बनाएर विदेशमा लगानी गर्न सक्ने र नेपालमै बसेर बहुराष्ट्रिय कम्पनी खोल्न सकिने सन्देश दियो, यो स्वागतयोग्य विषय हो । म सूचना प्रविधिको क्षेत्रमा लागेको २६ वर्ष भयो । अध्यादेश आएपछि पहिलोपटक हामीले प्रधानमन्त्रीसँग ‘आईसीटी मिटअप’ गर्‍यौँ ।

२६ वर्षको अवधिमा प्रधानमन्त्रीज्यूले प्राथमिकतामा राखेर यो मिटअप गर्नुभएको थियो । यो सूचना प्रविधि क्षेत्रका लागि निकै नै सह्रानीय विषय हो । मैले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको कार्यपत्रमाथि टिप्पणी गर्दै गर्दा एउटा 'कमिटमेन्ट' चाहियो । तपाईं अब हुनेवाला प्रधानमन्त्री हो । अबको केही वर्षमा प्रधानमन्त्री हुनुहोला । प्रधानमन्त्री भएसँगै तपाईंले यस क्षेत्रको विकासका लागि यी कामहरू गर्छु भन्ने प्रतिबद्धता दिनुपर्छ ।

सूचना प्रविधिलाई अगाडि बढाउन सबैभन्दा पहिलो चाहिने भनेको इन्टरनेट हो । सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क २०१९’ मा ब्रोडब्रान्ड इन्टरनेट कनेक्टिभिटी वा इन्टरनेटलाई पाँच नम्बरको बुँदामा डिजिटल फाउन्डेसनअन्तर्गत ‘डिजिटल नेपाल इनेबल मेक इन्टरनेट एक्सेस फन्डामेन्टल राइट्स एभ्री सिटिजन’ भनिएको छ ।

सरकारले यसो भन्दैगर्दा आज इन्टरनेटको रोयल्टीमा चार प्रतिशत, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा दुई प्रतिशत, टीडीएसमा १० प्रतिशत, टेलिकम सेवा शुल्क (टीएससी)मा १० प्रतिशत कर लाग्ने गरेको छ । यी सबैमा हामीले १३ प्रतिशत कर तिर्ने गरेका छौँ । यी सबै करसहित हामीले ४२.३८ प्रतिशत कर इन्टरनेटमा तिर्नुपरेको छ ।

हामीले इन्टरनेटलाई आधारभूत आवश्यकता भन्ने गरेका छौँ । सूचना प्रविधिमा फड्को मारेर १० वर्षको योजना पनि बनाएका छौँ । ३० खर्बको सूचना प्रविधि वस्तु निर्यात गर्ने लक्ष्य लिएका छौँ ।

त्यसका लागि सबैभन्दा पहिला इन्टरनेटको आवश्यकता पर्छ । यसको परिमार्जनका लागि हामीले धेरै वर्षदेखि ‘लबिइङ’ गर्दा हालसम्म पनि यसमा संशोधन भएको छैन ।

सरकारले कर लिन र राजस्व उठाउनका लागि मात्रै यस्ता कुरा प्रचार गरिरहेको हो वा यसमा संशोधन गरेर अझ सुचारु गरेर जान सकिने हो ? सबै नागरिकको हातमा २४ सै घण्टा इन्टरनेट चलाउने वातावरण बनाउने हो ? त्यो सामर्थ्यमा हामीले लैजानपर्ने जस्तो मलाई लाग्छ ।

सार्क राष्ट्रको तथ्यांक पनि उल्लेख गरौँ । सार्क राष्ट्रमा पनि अफगानिस्तानले मात्रै आरटीडीएफमा २.५ प्रतिशत कर लगाएको छ । पाकिस्तानले १.५ प्रतिशत कर लगाएको छ ।

रोयल्टीमा पाकिस्तानमामात्रै १.५ प्रतिशत तिर्ने गरेको छ । बाँकी सार्क राष्ट्र नेपालमा जस्तो अन्य कर लगाइएको छैन । आरटीडीएफबाट हाम्रोमा थुप्रै ल्याब पनि बनाइएको छ ।

विद्यायलमा बनाइएको ल्याब कत्तिको प्रयोगमा आएको छ ? भन्ने प्रश्न पनि छ । त्यसलाई पनि प्रयोगमा ल्याउनुपर्ने हो । यसका लागि प्राइभेट सेक्टरसँग समन्वय गरेर एक प्रकारको ‘वर्कफोर्स’ तयार गर्न सकिन्छ । विद्यायलको समयमा विद्यार्थी र अन्य समयमा सामान्य नागरिकले पनि त्यो ल्याब प्रयोगको अवधारण ल्याउन उपयुक्त हुन्छ ।

नेपालमा बाहिरको लगानी वा एनआरएन डायस्पोराको कुरा छ । उहाँहरूलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहित गर्न सक्छौँ । तर, नेपालमा अहिले जुन प्रकारको लगानी आउँदै छ, त्यो फेरि फिर्ता लैजाने सुनिश्चित छैन । लगानी फिर्ता लैजाने विश्वास हामीले दिलाउन सक्नुपर्छ । अहिले विदेशमा डलर पठाउनपर्‍यो भने विदेशी कम्पनीले तीन महिनाको मात्रै क्रेडिट लिमिट दिन्छ । डलर पठाउन कहिले एउटा ठाउँ, कहिले अर्को ठाउँबाट सिफारिस लिनुपर्छ ।

नीति बनेको छ तर, कर्मचारीतन्त्रले यस्तो घुमाइदिन्छ कि कहिले यता र कहिले उता धाउनुपर्ने अवस्था छ । यसले गर्दा हाम्रो क्रेडिट हिस्ट्री बिग्रिरहेको हुन्छ । त्यसकारण यसलाई कसरी सहज बनाउने ? नीति त छ तर, त्यो नीतिलाई कसरी सहज बनाउने भनेर कर्मचारीतन्त्रमा छलफल हुनुपर्ने आवश्यकता छ ।

स्टार्टअप कम्पनीमा सहुलियत योजना निकै राम्रो हो । सुरुवातमा पाँच वर्षका लागि ‘ट्याक्स होलिडे’को योजना ल्याउनुपर्छ । अहिले हाम्रो बजेट बनाउने बेला भएका कारण यसलाई समावेश गर्न आग्रह गर्दछु ।

त्यसकारण ‘ट्याक्स होलिडे’को योजना ल्याउन सकियो भने यसमा ठूलो लगानी चाहिने भएकाले ‘ट्याक्स होलिडे’ वा कुनै कम्पनीले पाँच करोड माथिको कारोबार गरेकालाई मात्रै कर लगाउने नीति लिनुपर्छ । यस्तो नीतिले सूचना प्रविधिमा धेरै फड्को मार्न सकिन्छ ।

अहिले बैंकमा पैसा थुप्रिएको सुनिन्छ । धेरै बैंकहरूमा तरलता उच्च छ । केही समयअघि महिलाहरूका लागि बिनाधितो १५ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरिएको थियो । तर, बैंक जाँदा मसँग धितो मागियो । त्यसमा पनि बैंकले हामी १५ लाख होइन, १० लाखमात्रै दिन सक्छौँ भन्यो । सरकारले ल्याउने यस्तो कर्जामा हामी बुझेकाहरू लिन जाँदा त यति समस्या छ । बिनाधितो भनेकामा धितो मागिन्छ भने दूरदराजमा सानो बिजनेस गर्न खोज्नेका लागि कसरी गर्न सक्छन् ? उनीहरूका लागि यो सम्भव नै छैन ।

अझ ‘पेपरवर्क’मा यति धेरै घुमाइन्छ कि त्यो ऋण लिनै सकिँदैन । त्यसकारण बिनाधितोको ऋण हो भने बिनाधितो नै पाउनुपर्‍यो । विदेशी लगानी नेपालमा ल्याउनुपर्‍यो भने एउटा सर्त राख्नुपर्छ । त्यसमा पाँच प्रतिशत नेपालीको सेयर हुनैपर्ने व्यवस्था गर्नुपर्‍यो ।

पाँचदेखि १५ प्रतिशत नेपालीको सेयर भयो भने कुनै काम विदेशीले नेपालमा आएर गरेको छ भने भोलिका दिनमा उनीहरूले लगानी फिर्ता गए भने पनि नेपालीले नै त्यसमा लगानी बढाएर कम्पनी चलायमान गराउन सक्छ । यसले नलेज सेयरिङ पनि हुन्छ । यसकारण विदेशी लगानीको हरेक क्षेत्रमा केही प्रतिशत नेपालीको लगानी अनिवार्य गर्नुपर्छ ।

यसका लागि संरचना बनाउने भनिएको छ । सूचना प्रविधि बोर्ड (आईटी बोर्ड) बनाउनु आवश्यक छ । उक्त बोर्डले यी सबै कामहरू गर्छ । जसरी टुरिजम बोर्डले पर्यटकका लागि सबै काम गरिरहेको छ । समस्याहरूको लबिइङमा बोर्ड लागेको छ । यसप्रकारको अवधारण यहाँ ल्याउनुपर्छ ।

हामीलाई केही नीतिहरू तुरुन्तै चाहिन्छ । एकद्वार प्रणाली आवश्यक छ । सरकारले त्यसको परिकल्पना गरेको छ । आजसम्म हामीलाई डेटा एक्सचेन्ज मेकानिजम छैन । एकअर्कालाई तथ्यांक दिने मेकानिजम छैन ।

डेटा इन्टर अपरेटरबिलिटी भन्छौँ, त्यो मेकानिजम बनाउन जरुरी छ । त्यसलाई कसरी मिलाउने ? यसको नीति बनाउनुपर्छ । यसले डाटा आदानप्रदान हुन्छ र एउटै ठाउँबाट सबै काम गर्न सकिन्छ ।

मर्केन्टायल कम्युनिकेसनले सेवा दिइरहेको 'डट एनपी' नीति अहिलेसम्म आएको छैन । त्यसको पनि नीति बनाउन जरुरी छ । नेपालमा पठाओ, टुटल, इन्ड्राइभजस्ता संस्थाहरू छन्, जसले राइड सेयरिङ गरिरहेको छन् । यस्ता राइड सेयरिङ गर्नेहरूका लागि पनि नीतिको समस्या छ ।

धेरै वर्ष भइसक्यो, सूचना प्रविधि विधेयक पास हुन सकेको छैन । सूचना प्रविधिमा सबैभन्दा समस्या भनेको ‘लेबर एक्ट’ छ । यसमा एउटा बुँदा सूचना प्रविधि क्षेत्रका लागि मिल्ने खालको छैन, यसमा परिमार्जन आवश्यक छ ।

यस्तै, दूरसञ्चार पूर्वाधार नियमावली अड्केको धेरै वर्ष भइसक्यो । सात वर्षदेखि त्यो अड्किरहेको छ । यसमा पूर्वाधार सेयरिङको नियम आइसकेको छ । तर, नियमावली आएको छैन । नियमावली नआएका कारण पूर्वाधार सेयरिङ गर्न पाइएको छैन ।

‘दूरसञ्चार पूर्वाधार नियमावली, २०८०’ सञ्चार मन्त्रालयमा अड्किएको धेरै समय भयो । यसलाई चाँडो भन्दा चाँडो ल्याउनुपर्छ । विदेशमा लगानी गर्न पाउने अध्यादेशबाट आयो त्यसको पनि नीति आउन आवश्यक छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आफैँले काम नगर्ने र त्यसमा डेटाको ठूलो आवश्यकता हुन्छ । यसका लागि हामीसँग ‘प्रोपर क्लिन डेटा’ हुनुपर्‍यो । डेटा क्लिन गर्ने दायित्व कसको हुने हो, त्यसको पनि व्यवस्था हुनुपर्छ । एआईको काम गर्नका लागि जीपीयू मेसिन नभएको अवस्था छ । अहिले केही मूल्य कम भएर आएको छ, तर भोलिका दिनमा यो अर्फोड गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता छ ।

(नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शनिबार 'बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा घिमिरेले गरेको टिप्पणीको सम्पादित अंश)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro