site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानबाट हराएका पाँच लाख अमेरिकी हतियार कहाँ छन् ?

काठमाडौं । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराएका छन् । स्रोतहरूका अनुसार, ती अमेरिकी हतियार या त बेचिएका छन् या त तस्करी गरिएका छन् । हराएका ती अमेरिकी हतियरामध्ये केही अल–कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको विश्वास संयुक्त राष्ट्रसंघको छ ।

एक पूर्व अफगान अधिकारीले बताएअनुसार, सन् २०२१ मा तालिबानले अफगानिस्तानमाथि पुनः नियन्त्रण लिएपछि उनीहरूले लगभग १० लाख सैन्य हतियार र उपकरणहरूको भण्डार फेला पारेका थिए । यीमध्ये धेरैजसो अमेरिकाको आर्थिक सहयोगमा खरिद गरिएका थिए । यसमा अमेरिकामा निर्मित एम४ र एम १६ राइफलसहित अफगानिस्तानका पुराना हतियारहरू थिए ।

सन् २०२१ मा तालिबान अगाडि बढ्दै गर्दा अफगान सैनिकहरू केहीले आत्मसमर्पण गरेका थिए भने केहीले आफ्ना हतियार र सवारी साधनहरू लिएर भागेका थिए । त्यस्तै, अमेरिकी सेनाले पनि आफ्ना केही सैन्य उपकरणहरू त्यहाँ छोडेको थियो ।

स्रोतहरूले बताएअनुसार गतवर्ष दोहामा भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समितिको बैठकमा तालिबानले आधा सैन्य उपकरण र हतियार हराएको स्वीकार गरेको थियो । उक्त समितिका एक व्यक्तिका अनुसार धेरै स्रोतबाट पुष्टि गर्दा करिब पाँच लाख हतियार हराएका छन् ।

संयुक्त राष्ट्र संघले फेब्रुअरीमा जारी गरेको एक प्रतिवेदनमा अल–कायदासँग सम्बन्धित संस्थाहरूले कालो बजारबाट ती हतियारहरू किनिरहेको उल्लेख गरेको थियो ।  यसमा तहरीक–ए–तालिबान पाकिस्तान, इस्लामिक मुभमेन्ट अफ उज्बेकिस्तान, पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट र यमनको अन्सारुल्लाह मुभमेन्ट तालिबान समावेश छन् ।

“हामी हतियारहरूको भण्डारण र सुरक्षा लाई अत्यन्त सावधानीपूर्वक गर्छौं,” तालिबान सरकारका उपप्रवक्ता हमिदुल्लाह फित्रतले भने, “हतियारको तस्करी वा बेपत्ता पारिएको कुरा गलत हो । सबै हल्का र भारी हतियारहरू पूर्ण रूपमा सुरक्षित राखिएको छ ।” 

सन् २०२३ मा संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार तालिबानले जफत गरेका २० प्रतिशत अमेरिकी हतियार स्थानीय कमाण्डरहरूलाई दिएको थियो । यी कमाण्डरहरू आ–आफ्नो क्षेत्रमा स्वतन्त्र छन् । यहीकारणले गर्दा हतियारको कालोबजारी भइरहेको जनाइएको छ । 

“स्थानीय कमाण्डर र लडाकुहरूमाँझ शक्ति सुदृढ गर्न ठूलो मात्रामा हतियार उपहार दिइँदैछ । यसका लागि यिनै हतियारहरू प्रमुख स्रोत बनेका छन्,” संयुक्त राष्ट्रसंघले भनेको छ । 

कान्दाहारका एक पूर्व पत्रकारका अनुसार, तालिबानले सत्ता कब्जा गरेको एक वर्षसम्म त्यहाँ खुला हतियार बजार थियो, तर अब यो व्हाट्सएपमार्फत भइरहेको छ ।

स्थानीय कमाण्डरहरू र धनी व्यक्तिहरू मिलेर नयाँ र प्रयोग गरिएका अमेरिकी हतियार र सैन्य उपकरणहरूको व्यापार गरिरहेका छन् । यीमध्ये धेरैजसो हतियार अफगान सेनाले छाडेका हुन् ।

संयुक्त राष्ट्रसंघले आफ्नो प्रतिवेदनअनुसार यूएस स्पेशनल इन्स्पेक्टर जनरल अफ अफगानिस्तान रिकन्ट्रक्सन (एसआईजीएआर) को रेकर्डमा जे जति संख्यामा हतियारहरू थिए उक्त संख्या स्रोतबाट प्राप्त जानकारी भन्दा कम छ ।

संयुक्त राष्ट्रसंघले पनि आफ्नो सन् २०२२ को प्रतिवेदनमा सही तथ्याङ्क सङ्कलन गर्न असमर्थ भएको स्वीकार गरेको छ । विगत केही वर्षदेखि अमेरिकी विभाग र संस्थाहरूले अफगानिस्तानमा सैन्य उपकरणहरू आपूर्ति गर्दै आएका थिए ।

एसआईजीएआरले अमेरिकी विदेश मन्त्रालयको आलोचना गर्दै भनेको छ, “विदेश मन्त्रालयले हामीलाई अफानिस्तानमा छाडिएका हतियार र कोषबारेमा सीमित र गलत जानकारी दियो ।” यद्यपि, अमेरिकी विदेश मन्त्रालयले यसलाई अस्वीकार गरेको छ ।

अफगानिस्तानमा हराएका हतियार अमेरिकामा एक प्रमुख राजनीतिक मुद्दा बनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार अफगानिस्तानबाट हतियार फिर्ता गर्ने बताएका छन् ।

उनले ८५ अर्ब डलर बराबरका अत्याधुनिक हतियारहरू अफगानिस्तानमा छाडिएको दाबी गर्दै आएका छन् । “अफगानिस्तान विश्वमा सैन्य उपकरणहरूको सबैभन्दा ठूलो बिक्रीकर्तामध्ये एक हो, तपाईंलाई थाहा छ किन ? तिनीहरूले हामीले छाडेका हतियारहरू बेचिरहेका छन्,” ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमा भनेका थिए । 

हतियार फिर्ता ल्याउने विषयमा ट्रम्पले भने, “मेरो ध्यान यसैमा केन्द्रित छ । हामी हाम्रा सैन्य उपकरणहरू फिर्ता चाहन्छौं, चाहे त्यसको बदलामा हामीले पैसा नै तिर्नु किन नपरोस् ।”

ट्रम्पको तथ्याङ्क सधैँ शंकास्पद हुने गर्छ किनभने अफगानिस्तानमा खर्च गरिएको रकममा तालिम र तलबमा हुने खर्च पनि समावेश छ । गत वर्ष स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले विश्वका शीर्ष २५ निर्यातकर्ताहरूको सूची तयार पारेको थियो । यस सूचीमा अफगानिस्तानलाई समावेश गरिएको थिएन ।

ट्रम्पको जवाफमा तालिबानका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान टिभीलाई भनेका छन्, “हामीले यी हतियारहरू अघिल्लो सरकारबाट कब्जा गरेका हौं । तिनीहरू देशको सुरक्षा र रक्षाका लागि प्रयोग गरिनेछ ।”

तालिबानले नियमित रूपमा अमेरिकी हतियार प्रदर्शन गर्दै आएका छन् । यसमा बग्राम एयरफिल्ड पनि समावेश छ, जुन मुख्य अमेरिकी–नेटो बेस थियो । उसले यसलाई आफ्नो विजयको प्रतीकको रूपमा प्रस्तुत गर्छ ।

सन् २०२१ मा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएपछि पेन्टागनले छाडेको सैन्य उपकरणहरू निष्क्रिय पारिएको दाबी गरेको थियो । तर तालिबानले तिनै अमेरिकी हतियारहरू प्रयोग गरेर बलियो सेना निर्माण गरेको छ ।

अमेरिकी हतियारको सहयोगमा नै तालिबानले नेसनल रेजिस्टेन्स फ्रन्ट र इस्लामिक स्टेट समूहको क्षेत्रीय सहयोगी इस्लामिक स्टेट खोरासन प्रान्त जस्ता आफ्ना दुश्मन गुटमाथि जित प्राप्त गरेको थियो ।

पूर्व अफगान सरकारका एक स्रोतले बताएअनुसार ‘सयौं’ हाई मोबिलिटी मल्टिपर्पज ह्वील्ड भेहिकल (एचएमएमडब्ल्यूवी), माइन–प्रोटेक्टेड भेहिकल (एमआरएपी) र ब्ल्याक हक हेलिकप्टरहरू अझै पनि कान्दाहारका गोदामहरूमा भण्डारण गरिएका छन् ।

तालिबानले आफ्नो प्रचार भिडियोहरूमा केही कब्जा गरिएका सैन्य उपकरणहरू देखाएका छन् । तर कब्जा गरिएको ब्ल्याक हक हेलिकप्टर उडाउन भने तालिबानसँग प्रशिक्षण र प्रविधि विशेषज्ञ छैनन् । आफूसँग रहेका कयौं अमेरिकी हतियार तालिबानले प्रयोग गरेको छैन । केही सहज हतियारहरू मात्र तालिबानले प्रयोग गर्दै आएको छ ।
(बीबीसीबाट भावानुवाद) 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १४:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro