site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सपनाको गाँठो फुकाएका धर्मेन्द्र 
SkywellSkywell

आमाबुवा विशेष कामले पोखरा गएका थिए । धर्मेन्द्र (सेवान) दुई दिदीहरूसँग काठमाडौंमा थिए । पहिलोपटक मातृवात्सल्यको अभाव महसुस गरे चारवर्षे धर्मेन्द्रले । कहाँ गए आमाबुवा ? सुनेका थिए पोखरा । आउने दिन पनि भनेका थिए । तर, कहिले आउला त्यो दिन ? दिन बिते रात नजाने, रात गए दिन । आँसुले गह भरिन्थ्यो । मन भारी हुन्थ्यो । आँखाका डिल भरिन्थे । एक साँझ अनायासै उनको ओठबाट फुत्कियो– हे मेरे हम सफर... । गीत गाउँदै गर्दा आँसु थामिएन । त्यही हो पहिलोपटक धर्मेन्द्रलाई आफूले गाएको सम्झना ताजै रहेको । 

बुद्दि परियार लोक गीत–संगीतका साधक थिए । रेडियो नेपालबाट उनका गीतहरू बज्थे । रेशम फिरिरी... बुद्दि परियारको संकलनको गीत थियो । तिनै बुद्दिका छोरा हुन् धर्मेन्द्र परियार । बुद्दि पेसाले प्रहरी संगठनका सिपाही थिए । सँगै लोक गीत–संगीतका साधक पनि । एउटा संगीत साधकको घरमा अर्को त आउने नै भयो । पदम मिश्र, प्रवीण गुरुङ, पूर्ण नेपाली, अरुण थापालगायत व्यक्तिको जमघट हुन्थ्यो उनको घरमा । सारंगी, मादल, हार्मोनियम र तबला बजाएर गीत गाउँथे, संगीत भर्थे । बालवयमा देखेको त्यो महोलले धर्मेन्द्रलाई पनि तान्यो । उनलाई गीत गाउन मन लाथ्यो । माइली दिदी अनु राजबाहक पनि गीत गाउँथिन् । धर्मेन्द्र पनि गुनगुनाउँथे । 

लजालु धर्मेन्द्र
गाउन त मन लाग्ने तर शाही नेचरले रोक्ने । धर्मेन्द्र साथीहरूको समूहमा गाउन लजाउँथे । कक्षा छुट्टी भएपछि अरू निस्किन्थे । धमेन्द्र एक्लै बस्थे । शान्त खाली कोठामा गाउँदा भ्वाइस परावर्तन भएर आवाज थर्किन्थ्यो । उनलाई त्यहाँ खुब गाउन मन लाग्थ्यो । त्यो बेला चलेको गीत थियो, सुक्मित गुरुङ र मदन सिंहको ‘यो हावा त्यो लहर...।’ “त्यो बेला मलाई साथ दिने एउटा साथी छ जस्तो लाग्छ, तर स्पष्ट सम्झना छैन । यो गीत दिल खोलेर धीत मर्ने गरी गाउथेँ,” धर्मेन्द्र रोमाञ्चित हुँदै अतीत सुनाउँछन्, “एक दिन गाउँदा गाउँदै कक्षाकोठा सफा गर्ने दिदीहरू अचानक आउनुभयो । दिदीहरूले ओहो, धर्मेन्द्र कति मिठो गाएको ! भनेको सुनेपछि म लाजले टाप ठोकेँ ।”

KFC Island Ad
NIC Asia

प्रहरी सेवाबाट बुद्दिले रिटायर्ड लिए । आमाले पनि प्रहरीमा रहेको आफ्नो जागिर छोडिन् । फर्किने भए पुरानै थातथलो पोखरा । कक्षा–६ मा पढ्दै गरेका धर्मेन्द्रले पनि बुवाआमाको औँलो समाए । काठमाडौं छोेडेर पोखराको लेकसाइड पुगे ।

तालबाराही माध्यमिक विद्यालयमा भर्ना भएका धर्मेन्द्रलाई साथीहरूले भन्न थाले, ‘कति राम्रो छ तिम्रो स्वर, गाउने गर न ।’ उमेरसँगै थोरै साहस बढ्दै गयो । आत्मविश्वास पलाउँदै गयो । कक्षा–८ मा पुगेपछि बल्ल उनको शाही नेचरमा बदलाव आउन थाल्यो । विस्तारै खुल्न थाले । साथीहरूसँग बोल्न र घुम्न थाले । 

Royal Enfield Island Ad

“संगीतमा खोइ के त्यस्तो तागत हुन्छ, एउटा मुटुसँग अर्को मुटु जोडिन्छ संगीतकै कारण । जब म गाउन थालेँ, शिक्षकहरूको प्यारो हुन थालेँ,” धर्मेन्द्र सम्झिन्छन्  । त्यही बेला हो उनले साँच्चै म गाउन सक्छु भनेर आफैँले आफैँप्रति विश्वास गरेको । गाउन सक्छु भन्ने थाहा पाए । र, अठोट गरे– मैले अब जिन्दगीमा काम गर्ने भनेको गाउने नै हो ।

बुवाको चाह
सांगीतिक कार्यक्रममा स्कुलले बुद्दिको सहयोग माग्थ्यो । कारण, उनी संगीत मात्रै होइन नृत्य पनि गर्थे । तत्कालीन राजा वीरेन्द्र शाहका त प्रिय नै थिए बुद्दि । त्यही भएर महेन्द्र पुलिस क्लबमा भर्ना भएका थिए । बुद्दिले सहयोग गरेको कार्यक्रममा धर्मेन्द्र गीत गाउँथे । छोरोले गाउँदो रहेछ भनेर त्यहीँबाट बुद्दिले थाहा पाए ।

रगतमा संगीत र नृत्य बोकेर हिँड्ने बुद्दि छोराले भने यो बाटो नसमाइदिए हुन्थ्यो भन्ने अव्यक्त चाह राख्थे । कारण, यसमा उनले भविष्य देखेका थिएनन् । संगीत र नृत्यमा अगाध लगाव हुँदाहुँदै पनि प्रहरी सेवामा जागिर खानुको पीडा उनले भोगेका थिए । त्यसैले छोराले संगीत होइन अरू नै पेसा समाएर सुनौलो भविष्य सुरक्षित गरोस् भन्ने चाहन्थे । बुद्दिले धर्मेन्द्रलाई संगीतमा प्रेरित गरेनन् । धर्मेन्द्र डराइ–डराइ गाउँथे । त्यो बेला धर्मेन्द्रले बुवाको चाहलाई जसरी लिए पनि अहिले उनी बुझ्छन्, मेरै लागि त भन्नुभएको रहेछ भनेर । यद्यपि, जरा जे थियो, त्यही पलायो । धर्मेन्द्र संगीतकै फेरो समाएर त्यतैतिर लहसिए । 

स्वरको बाह्रखरी
पढाइमा एसएलसीमै पटक–पटक ठेस लाग्यो । पढाइमा होइन उनलाई संगीतमा उठ्नु थियो । बेला–बेला काठमाडौं आउँदा संगीत पाठशाला डोरमी पुग्थे । भानुभक्त ढकालले स्वरको खेल सिकाए । स्वरको आरोह–अवरोह छिचोलेर सुरुमा बग्न सिकाए । 

जिन्दगीले गोरेटो कोरिसकेको थिएन । धर्मेन्द्र कहिले काठमाडौं त कहिले पोखरा गरिरहन्थे । पोखरा पुग्दा टोले दाइहरूसँग गिटार सिक्थे । ग्लिेटर्स नामक ब्यान्ड थियो । त्यसको पफर्मेन्स हेर्थे । त्यसैगरी गाउन पाए ? लोभिन्थे । मनभरि सपनाको फूलबारी हुर्काउँथे ।

०६० सालमा बुवा बुद्दिले कहिल्यै नफर्किने बाटो समाएर अन्तिम हात हल्लाए । पढाइ रोकिसकेको थियो । संगीतको बाटो रोज्न त खोजिरहेका थिए, तर हिँड्ने कसरी ? आँखा खोलिदिने कोही थिएन । 

पहिलो अवसर 
त्यही बेला ग्लिेटर्स ब्यान्डका साथीहरूले भोकलिस्टका लागि बोलाए । आमासँग सल्लाह गरे । आमाले धर्मेन्द्रलाई संगीत सिक्ने अवसर हो भनिदिइन् । संगीतको ढोका उघ्रिएको उनले अनुभूत गरे । 
 
लेकसाइडका पवहरूमा गुञ्जिन थाले धर्मेन्द्र । त्यो समय लेकसाइडका पवमा अहिलेजस्तो धेरै नेपाली हुँदैन थिए । विदेशीकै संख्या उच्च हुन्थ्यो । अंग्रेजी गीत गाउनु पर्थ्यो । धर्मेन्द्र अंग्रेजी गीत नै गाउँथे । इन्टरनेट अहिलेको जस्तो सहज पहुँचमा थिएन । त्यसैले अंग्रेजी गीतको प्लेलिस्ट पर्यटकसँगै माग्थे । धर्मेन्द्र सीडी पसलमा गएर प्लेलिस्ट हेरेर डब गरेर ब्यान्डमा प्राक्टिस गर्थे । 

त्यो समय उनले धेरै सिके । गाउन सिके, स्वर माझियो । स्टेजमा गाउनु पर्थ्यो, पफर्म गर्न जाने । अगाडि मान्छेहरूको भिड हुन्थ्यो, डर हरायो । दर्शककै सामु गाए, आत्मविश्वास उच्च भयो । त्यसले उनलाई निखार्दै थियो । सिक्ने अवसर त पाए नै, सँगै महिनामा ५/६ हजार खल्तीमा पर्थ्यो । घरमा खासै दिनु पर्दैन थियो । त्यसैले चाहेको लुगा किनेर लगाउँथे । त्यही बेलादेखि हो उनी स्टाइलिस हुन सुरु गरेको । लेकसाइडमा धर्मेन्द्र र उनका साथीहरू हिँड्दा मान्छेहरू फर्की–फर्की हेर्थे, उनीहरूको स्टाइल । रक म्युजिकमा उनीहरू पोखरामा हिट भए । पोखरामा हुने कन्सर्टमा अक्सर उनीहरू छुट्दैन थिए । ओपनिङ एक्ट उनीहरूकै भागमा पर्थ्यो । भोकलिस्टका नाताले उनी सेन्टर क्यारेक्टरमा थिए । त्यसैले पोखरामा उनको तरक्की बढ्दै थियो । 

नेपाली लोकगीत–संगीत त उनले जिनमै थियो । रक, पप र आधुनिक पनि पबमा गाए । रेडियो नेपालमा नवराज लम्सालको ‘मधुवन’ होस् वा दाहाल यज्ञनीधिको ‘जदौ’ र ‘साहित्य संसार’ उनी नछुटाइ सुन्थे । वासुदेव मुनालको बाल कार्यक्रम सुनेर हुर्किएका धर्मेन्द्रले नेपाली साहित्य र संगीतबारे थोरबहुत बुझे/सिकेका थिए । त्यसैले उनलाई गीत र कविता लेख्न मन लाथ्यो । लेखेको गीत, कविता आमालाई खुसुक्क सुनाउँथे । आमाले ‘गज्जब छ छोरा, ठिक गरिस्’ भन्थिन् । धर्मेन्द्र खुसीले बुरुक्क उफ्रिन्थे, अहिले स्टेजमा उफ्रिएजसरी नै ।

निरज ताम्राकार जसले सायद धर्मेन्द्रमा प्रबल सम्भावना देखेका थिए । त्यसैले उनी भनिरहन्थे– धर्मेन्द्र तिमीले आफ्नै गीत रेकर्ड गर्नुपर्छ । बरु, म पनि तिमीसँग सहकार्य गर्छु । एकातिर निरजको आग्रह, अर्कातिर पोखराको चौघेरा नाघेर देशभर फैलिनुपर्छ भन्ने आफ्नै रहरले फणा फिजाएपछि उनले जिन्दगीकै पहिलो रेकर्ड गराए, यो अँधेरी रात...। 

आमाको आँसु 
धर्मेन्द्रले आफ्नो कम्पोज दिएका थिए एक साथीलाई । त्यो सुनेर काठमाडौंबाट रञ्जना क्यासेटका भगवानदास श्रेष्ठले कर्ण दासमार्फत गीत गाउन काठमाडौं बोलाए धर्मेन्द्रलाई । 

त्यही बेला निरजले भने– धमेन्द्र गायन रियालिटी शो हुँदै छ । यसमा टप १० मात्रै पनि पुग्न सक्यो भने नाम हुन्छ । गीत रेकर्डिङ र स्टेज प्रोग्राम त भ्याइनभ्याइ हुन्छ ।

कस्तो प्रकृतिको कार्यक्रम हो नेपाली तारा ? धर्मेन्द्रलाई थाहै थिएन । रातरातभर पबमा गाउने । अक्सर दिनभर सुत्ने । खासै धेरै कुरा थाहै हुँदैन थियो उनलाई । तर पनि निरजले भनेपछि राम्रै त होला, उनले सोचे ।

अडिसनका लागि नेपाली ताराको टोली पोखराको सांग्रिला पार्क पुगेको थियो । पछ्याउँदै धमेन्द्र त्यहीँ पुगे ।

पबमा गाउने बानी परे पनि सायद प्रतिस्पर्धा भएकाले उनी आत्तिए । सायद उनको कलाको चाल संगीतकार एवं निर्णायक आलोकश्रीले पाए । उनलाई दुईपटक मौका दिए । अब पनि मैले मौका गुमाएँ भने मैले गरी खान्न भन्ने मनमा थियो । त्यसैले हिम्मत जुटाएर गाए, अब चोटहरूले पिरोल्दैन मलाई... । नभन्दै यो गीतले उनलाई चोट दिएन । धर्मेन्द्रका लागि काठमाडौंको ढोका खुल्यो । 

धर्मेन्द्रका हरेक सिर्जनाकी साक्षी उनकी आमा हुन् । पहिलो स्रोता उनै हुन् । साँझ घर पुगेर धर्मेन्द्रले दिउँसोको बेलिविस्तार लगाए । आमाले बरर खुसीमा आँसु झारिदिइन् । धर्मेन्द्र पनि भक्कानिए । “मेरो उपलब्धि नै आमाको जिन्दगीको गन्तव्य रहेछ भन्ने उहाँका आँखाबाट बगेको आँसुले बताइदियो,” सन्तानको खुसीमा द्रवीभूत हुने आमाको कथा सुनाए धर्मेन्द्रले, “मलाई लाग्यो, अब मैले मेरा लागि मात्रै होइन आमाका लागि पनि केही गर्नुपर्छ । मैले यसैगरी आमालाई खुसी दिइरहन सक्नुपर्छ भन्ने मनमा लाग्यो ।”

काठमाडौंमा दिदीहरू थिए । धर्मेन्द्र आमाको आँसु सम्झिएर आफूलाई गीतमा डुबाउँथे । दिदीहरू उनको मिहिनेत देखेर गिटारदेखि पाइन्ट र जुत्ता समेत किनिदिइरहन्थे ।

दिदीहरू प्रहरीको कडा अनुशासनमा बसे पनि मन कठोर भएका थिएनन् । संगीतका सोखिन थिए । नारायणगोपाल, बच्चु कैलाश, दीप श्रेष्ठका यी–यी गीत गायौ भने राम्रो हुन्छ भनेर प्लेलिस्ट फोनमै सुनाउँथे । धर्मेन्द्र त्यही लिस्ट बोेकेर क्यासेट सेन्टरमा पुगेर डब गरेर ल्याउँथे र अभ्यास गर्थे ।

प्रतिस्पर्धा जित्छु भन्ने भन्दा पनि हरेक हप्ता एउटै उद्देश्य हुन्थ्यो, आज मैले उत्कृष्ट गाउनुपर्छ । हरेक शृंखलामा जितको मिठो पल अनुभव गर्दै गए । त्यही उद्देश्य प्राप्तिका लागि गरेको मिहिनेतले उनलाई सफलताको खुड्किलो चढाउँदै लग्यो । 

प्रथमलाई ५० हजार र बाइक पुरस्कार थियो । तर, उनलाई फाइनललिस्ट हुनु अगाडि नै प्रतिस्पर्धा जितिसकेजस्तो लागिसकेको थियो । कारण, उनीलाई घरमै फ्यानहरूको फोन आउन थालेको थियो । बाटोमा हिँड्दा धेरैले चिन्न थालिसकेका थिए । पपुलर फेस भइसकेका थिए । त्यसैले उनलाई अब नजिते पनि मलाई यो पपुलारिटीले सांगीतिक बजारमा सहज बाटो दिन्छ भन्ने भइसकेको थियो । तर, त्यो समयमा ५० हजार आफैँमा ठूलो रकम थियो । बाइक थोरैले चढ्थे । त्यसैले जितेँ भने ५० हजार आमालाई दिन्छु, मोटरबाइक आफैँ चढ्छु भन्ने मनमा सोच पलाएको थियो ।

“तर, सेकेन्ड भए पनि मलाई नेपाली ताराले दिएको पपुलारिटीले गायकका रूपमा चिनजाउन मद्दत गर्छ भन्ने आत्मविश्वास थियो,” उनी सम्झिन्छन्, “त्यसैले म सेकेन्ड हुनलाई पनि तयार भइसकेको थिएँ ।”

अन्ततः धर्मेन्द्र फस्ट रनरअप भए । तर, वेस्ट पफर्मर अवार्ड जिते । यो अवार्डले उनलाई स्टेज उक्लिन आउँदा दिनमा सहज बनाउँछ भन्ने संकेत गरेको थियो ।

सपना र विपना
सपना र विपना एकै किन हुन्थ्यो र ? नेपाली तारामा उनी फस्ट रनरअप भए । पपुलारिटी पाए । बाटो हिँडदा मान्छेहरूले ‘ओई, ऊ त्यो धर्मेन्द्र होइन !’ भन्न थाले । जब उनी नेपाली ताराको सेटबाट बाहिर आए, सेटमा सहभागीहरूसँग मात्रै प्रतिस्पर्धा थियो, अब त आफूले आइडल मानेकाहरूसँगै प्रतिस्पर्धा गर्नुपर्ने भयो । बाटो हिँड्दा सबैले चिन्ने भए, तर धर्मेन्द्रको गीत कुन हो ? थिएन । 

नाम बिकेको थियो । तर, गीत बिकाउन बाँकी थियो । यसका लागि वास्तविक प्रतिस्पर्धा हुन बाँकी थियो । भलै, उनी म्युजिक कम्पनीको खोसाखोसमा थिए । नाम चलेका म्युजिक कम्पनीहरूले उनलाई बोलाइरहेका थिए ।

समय अहिलेको जस्तो सिंगल ट्रयाकको थिएन । आठवटा गीत जम्मा पारेर एल्बम निकाल्नु पर्थ्यो । स्टेज कार्यक्रमका लागि उनलाई अफर आइरहन्थ्यो । सकेसम्म छोड्न भएन । जान्थे । त्यसले उनको एल्बम निकाल्न ढिलो भयो । नेपाली तारामा सेकेन्ड भएका उनले आलोकश्रीको सुरताल म्युजिकबाट दुई वर्षपछि ‘द सेकेन्ड’ शीर्षकको एल्बम निकाले । रङरङ थपी... गीत मार्क भयो । यो एल्बमले अन्नपूर्ण म्युजिक अवार्डमा बेस्ट एल्बम अफ द इयर पायो ।

पोखरामा पबमा प्रायः अंग्रेजी गीत गाउने उनलाई त्यो समय रकस्टार हुन मन लाग्थ्यो । त्यसैले लोक–पप तथा आधुनिक गीतलाई फ्युजन गरेर एक्सपेरिमेन्टल गीत तयार गर्न थाले । त्यो समय रिमिक्सको ट्रेन्ड थियो । ‘बुवाको गीत ‘रेशम फिरिरी’ रिमिक्स गरौँ, रातारात हिट हुन्छ, स्टेजमा भ्याइनभ्याइ हुन्छ’ भनेर थुप्रै अफर आए । तर, उनले त्यो बाटो रोजेनन् ।

कारण, उनका बुवाका गीत पहिला नै मिसयुज भइसकेका थिए । पुरानो होस् वा रिमिक्स जताततै बुवाका गीत बज्थे । तर, एक रुपैयाँ कसैबाट कहिल्यै रोयल्टी पाएको उनले थाहा पाएका थिएनन् । “अब मैले फेरि रिमिक्स गरेँ भने मेरो बुवाको सिर्जना प्रयोग गरेर पुनः म्युजिक कम्पनीले फाइदा उठाउँछन् भनेर मैले मानिनँ,” धर्मेन्द्र भन्छन् ।

दोस्रो एल्बम उनले ‘मेरो आइड’ रियाज म्युजिकबाट बजारमा ल्याए । जोरीपारी... गीतले अन्नपूर्ण म्युजिक अवार्ड पायो ।

नेपाली तारासँगै पहिलो र दोस्रो एल्मबमका गीतले उनलाई देश–विदेश घुमायो । बैंक ब्यालेन्स थपिँदै गयो । अर्को महत्त्वपूर्ण पक्ष, उनले धेरै दर्शक–स्रोताको नेपाली गीतप्रतिको चाह बुझे । र, उनी निष्कर्षमा पुगे, नेपाली कलरको गीत नेपालीको पहिलो रोजाइमा पर्दा रहेछन् । 

एकातिर लोकभाका मिसिएका गीतमा काम गर्दा नेपाली पहिचान झल्किने, अर्कोतर्फ बुवा हिँडेको बाटो । बुवाका गीतलाई संरक्षण गर्दै ट्रिब्युट दिनुपर्छ भन्ने निष्कर्षमा पुगे । त्यसैले उनले रेशम फिरिरी... अडियो भिडियो प्रोडक्सन दर्ता गराए ।

ट्रिब्युटस्वरूप ‘हेर्दा राम्रो माछापुछ्र्रे...’ गाए । रेशम फिरिरी... गाए । यो एल्बममा उनले कसैको पैसा लिएनन् । स्पोन्सर खोजेनन्, कारण बुवाका गीतमा उनको सम्मानस्वरूप आफैँ लगानी गर्छु भन्ने निर्णय थियो ।

ती फ्यान, यी शुभेच्छुक
इन्डिय आइडल अविजित सावन्त र नेपाली कलाकारको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा कन्सर्ट थियो । उनी गीत गाउन जाँदै थिए । ‘धर्मेन्द्र धर्मेन्द्र’ भन्दै एक हुल केटीहरूले उनलाई घेरा हाले र किस गरे । लिबिस्टिकले उनको गाला पूरै रातो भयो । रञ्जित आचार्यले उनलाई आफ्नो गाडीमा हालेर बाहिर निकाले ।  माहोल शान्त भएपछि पुनः ब्याक स्टेज पुर्‍याइदिए । लिबिस्टिकले रातो भएको अनुहारको मेकअप पुछेर धर्मेन्द्र स्टेजमा उत्रिए । 

अहिलेजस्तो सोसल साइट त्यो बेला थिएनन् । कलाकारहरू अहिलेको जस्तो जताततै देखिने सस्ता भइसकेका थिएनन् । कलाकारलाई दर्शक–स्रोताले देख्न कि टेलिभिजन कि स्टेज कार्यक्रम थिए । त्यसैले कलाकारको क्रेज थियो । उनीहरूलाई प्रत्यक्ष देख्न लामै समय कुनुपर्ने समय थियो । 

केही समयको देन, केही आफ्नै गायकीको शिल्पको देन, जे होस् धर्मेन्द्रले जीवनमा थुप्रै फ्यान भेटेका छन्, किशोर–किशोरीदेखि वृद्ध–वृद्धासम्म । आफैलाई असहज महसुस हुने गरी बिहान–बेलुकै विवाह गर्छु भन्नेहरूको फोन बाक्लै आइहन्थ्यो । अटोग्राफ, भेटघाट गर्न चाहनेहरू त कति–कति । 

तर, धर्मेन्द्रले गरेको अनुभव केटीभन्दा केटा फ्यान उनका धेरै छन् । त्यसो त उनी फ्यान भन्दा पनि शुभेच्छुक भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । 

भरोसा नगरेको आकांक्षा
जिन्दगीका धेरै सपना पूरा भए धर्मेन्द्रका । कति सोचेका सपना पूरा भए, कति देख्दै नदेखेका पनि । कल्पना गरेर पनि भर नपरेको यति धेरै दर्शकको माया पाए । 

भर नपरेको अर्को एउटा सपना पनि पूरा भयो उनको । गीत गाएरै काठमाडौंमा घर बनाउँला भन्ने आफ्नै रहरमा आफैँलाई कम भरोसा थियो । तर, पूरा भयो । धर्मेन्द्र भन्छन्, “आमाले आँसु बगाएर मलाई मेरै सपनाको बाटो हिँड्ने अनुमति दिनुभयो, मैले आमालाई उपहारस्वरूप काठमाडौंमा घर बनाएर उपहार दिएँ ।” उनले सुटुक्क एउटा वाक्य बोले, “म आमाको भक्त हुँ नि !” 

अधुरो सपना
धेरै सपना त उनका पूरा नै भए, तर केही सपना अधुरै छन् । धर्मेन्द्रले बुवालाई ट्रिब्युट दिन उनका गीत पुनः रेकर्ड गरे । तिनै गीतले अवार्ड उचाले । तर, बुवालाई खुसी उनले जीवनकालमै दिन सकेनन् । बुद्दिले अलि चाँडो बिदाइको हाल हल्लाए, उनले धर्मेन्द्रको पौरख देख्नै पाएनन् । जब–जब बुद्दिको ट्रिब्युटस्वरूप तयार पारिएका गीतले अवार्ड उचाल्छन्, व्यस्तताले धर्मेन्द्र त्यो अवार्ड ग्रहण गर्न समारोहस्थलमा पुग्न सक्दैनन् । 

“जब म मेरो बुवाको गीतबाट मेरै हातले अवार्ड थाप्नेछु, त्यो दिन मेरो बुवाले आफ्नो सांगीतिक करिअरमा आजपर्यन्त जीवित रहेको अनुभव गरेको महसुस गर्नेछु,” धर्मेन्द्र भन्छन्, “बुवाले सत्कर्म गर्नुभयो । त्यसको आशीर्वाद मैले पाएँ । तर, तीनै अवार्ड स्टेजबाट मैले बुवालाई डेडिकेट गर्न पाइनँ । धेरै सपना पूरा भए पनि मेरो यो सपना अझै अधुरै छ ।” 

सिर्जनाको तौरतरिका
धर्मेन्द्र कार्यक्रमकै सिलसिलामा यूके पुगेका थिए । बेडमा पुगेर फेसबुक स्क्रोल गर्दै थिए । न्युज फिडमा आयो, एक सुन्दर युवतीले आत्महत्या गरेको समाचारको पोस्ट । 

किन गरिन् यी किशोरीले आत्महत्या ? समाचारमै थियो आत्महत्याको कारण । डाक्टर पढ्न नपाउँदा उनले संसार छोड्ने कठोर निर्णय गरेकी थिइन् । 

धर्मेन्द्रको मनमा प्रश्न उठ्यो, मरेर होइन बाँचेर पो सपना पूरा हुन्छ, होइन र ?

हारेर होइन संघर्ष गरेर पो सपना भेटिन्छ । सपना सहजै कहाँ भेटिन्छ, यसका लागि त पौठेजोरी खेल्नुपर्छ । परे परिवारमा पनि, समाजसँग त लड्नु नै पर्छ । आफ्नो सपनाको बाटो आफैँ खोल्नुपर्छ । 

मनमा अनेकन कुरा खेल्लाखेल्दै उनी निदाए । त्यही निद्रामा धर्मेन्द्रलाई गीत आयो, मरी जानु अगाडि...। सपनामा देखेको शब्द जुरुक्क उठेर हतार–हतार कापीमा कोरे । निद्रामै आएको शब्दको संगीत भने निद्रामा आएन । कति बसाइमा पनि भेटिएन । लामै समयको अन्तरालमा संगीत फेलापर्‍यो । त्यसैले बल्ल रेकर्ड गर्ने तयारीमा छन् । उनले यसलाई क्वालिटी म्युजिकको क्याटागोरीमा राखेका छन् । 

कहिले निद्रामा त कहिले विपनीमा । कहिले होसमा त कहिले जोसमा धर्मेन्द्रलाई शब्द र संगीत आउँछ । कहिले दौडिरहँदा त कहिले बसिरहँदा गीत–संगीतले उनलाई ढक्ढक्याउँछ । कपको कफीले बिदा माग्दै गर्दा उनी भने मानसपटलमा शब्द र संगीतको प्रवेशको भिन्नभिन्न तौरतरिका सुनाउँदै थिए, “कतिपटक दिमागमा आएपछि बिर्सिएला भनेर बाइक रोकेर मोबाइलमा लय र शब्द नोट गरेको छु । कतिपटक निद्राबाट ब्युँझिएर छेउको मोबाइल तानेर सिरकले मुख छोपेर सानो स्वरमा रेकर्ड गरेको छु ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro