site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोस्रोपटक विश्वकप खेल्ने ‘आत्मविश्वास’
त्रिवि मैदानमा अभ्यासमा व्यस्त खेलाडीहरू । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई अस्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकप–२०२२ मा खेलेको हेर्न पाइन्छ त ? पछिल्लो समय नेपाली क्रिकेटप्रेमीको मनमा खेल्ने प्रश्न यही हो । यसमा खेलाडीको आत्मविश्वास हेर्ने हो, सकिन्छ । खेलाडी, कप्तान र प्रशिक्षक त्यही भन्छन् ।

टिमका अनुभवी अलराउन्डर शरद भेषावकरको कुरा सुन्ने हो भने नेपाल दुई खेलको नतिजाले मात्र अस्ट्रेलिया भ्रमणबाट टाढा छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारी गरिरहेका शरदले भने, “वास्तवमै भन्ने हो भने, दुई खेलको कुरा हो । त्यसमा आफ्नो क्षमताअनुसार खेल्यो भने हामी विश्वकपमा पुग्नेछौँ ।”

आईसीसी ट्वान्टी–२० विश्वकप–२०२२ का लागि ओमानमा हुने ग्लोबल क्वालिफायर खेल्नका लागि नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ । ग्लोबल क्वालिफायर खेल्नुअघि नेपालले ओमान, यूएई र आयरल्यान्डविरुद्ध अभ्यास खेल खेल्नेछ । ओमान त्यही टिम हो, जुन क्वालिफायरमा नेपालकै समूहमा छ । 

KFC Island Ad
NIC Asia

ग्लोबल क्वालिफायरको समूह ‘ए’मा पनि नेपाल रहेको समूह ‘दुई’मा क्यानडा, ओमान र फिलिपिन्स छन् । सरसर्ती हेर्दा नेपालको मुख्य प्रतिद्वन्द्वी ओमान देखिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । अर्को समूह ‘एक’मा बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । त्यस समूहबाट आयरल्यान्ड र यूएईको सम्भावना बलियो देखिन्छ । समूह ‘ए’बाट फाइनल खेल्ने दुई टोलीले अस्ट्रेलियाको टिकट पक्का गर्नेछ । 

Royal Enfield Island Ad

शरदले त्यसैकारण ‘दुई खेल’को कुरा भनेका हुन् । यसअघि नेपालले बंगलादेशमा सम्पन्न २०१४ को विश्वकप खेलेको थियो । त्यसपछि विश्वकप छनोटमा नेपालको प्रदर्शन कमजोर रहेको छ । २०१४ को विश्वकप छनोट प्रतियोगिता खेलेका शरदसहित ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया र प्रदीप ऐरी ओमान भ्रमणको टोलीमा पनि समावेश छन् । संयोग त्यतिबेला विश्वकप खेल्दाको मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि अहिलेको टोलीमा छन् ।

त्यतिबेला र अहिलेको टोलीमा के फरक छ त ? उनै अनुभवी शरद भन्छन्, “पहिले टिम यस्तो तयार हुँदैनथ्यो । त्यतिबेला पावर हिटरहरू थिएनन् । अहिले धेरै फरक छ । खेलाडीहरू सबै रूपमा खेल्नका लागि तयार छन् । अब त्यो दिन राम्रो क्रिकेट खेल्यौँ र योजना कार्यान्वयन गर्न सक्यौँ भने नतिजा पनि राम्रो आउँछ ।”

शरदले भनेको जस्तै अहिलेका कप्तान सन्दीप लामिछाने पनि विश्वकपमा छनोट हुनेमा विश्वस्त छन् । कप्तानमा रूपमा सन्दीपका लागि यो पहिलो प्रतियोगिता हो । नेपालले पहिलोपटक विश्वकप खेल्दा सन्दीप १४ वर्षका मात्र थिए । उनी क्रिकेटमा भर्खरै बामे सर्दै थिए । अहिले सन्दीप विश्व क्रिकेटको 'स्टार' बनिसकेका छन् । नेपाललाई दोस्रोपटक विश्वकप खेलाउने गह्रौँ जिम्मेवारी सन्दीपको काँधमा आएको छ । 

“२०१४ मा पारस दाइले एउटा लिगेसी छाडेर जानुभएको छ । अब हाम्रो काँधमा त्यसलाई अघि बढाउने जिम्मेवारी थपिएको छ,” कप्तान सन्दीपले भन्छन्, “फेरि विश्वकप खेल्ने मेरो र सम्पूर्ण नेपालीको चाहना हो । यसपटक टिम पनि राम्रो बनेको छ । हामीले जुन हिसाबले तयारी गरेका छौँ । त्यसबाट हामी विश्वस्त छौँ । एउटा राम्रो सम्भावना बोकेर हामी ओमान जादैछौँ ।”

शरदले दुई खेल भनेको जस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान, आयरल्यान्ड र ओमान भएको बताउँछन् । मुख्य प्रशिक्षक पुबुदु पनि नेपाल विश्वकपमा छनोट हुनेमा विश्वस्त छ ।

“सबै योजनाअनुसार नै भइरहेका छन् । टिम जसरी अघि बढेको छ, त्यसबाट म खुसी छु । अहिले ब्याटिङमा सुधार भएको छ । नयाँ प्रतिभाहरू आएका छन् । नेपाल सु्पर ट्यालेन्ट खेलाडीहरू छन्,” पुस १३ गते दोस्रो कार्यकाल सम्हाल्न नेपाल आइपुगेका मुख्य प्रशिक्षक पुबुदुले नेपालको सम्भावनाबारे भने, “ओमान बलियो छ । उनीहरू घरेलु कन्डिसनमा खेल्दैछन् । उनीहरूले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेका छन् । आयरल्यान्ड र यूएई पनि रामा छन् । नेपालले दोस्रो पटक विश्वकप खेल्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।” 

ब्याटिङमा सुधार
नेपाली क्रिकेट टोलीलाई सुरुबाटै बलिङमा राम्रो मानिन्छ । विगत हेर्दा, बलिङ जति बलियो हो, ब्याटिङ त्यति नै कमजोर हो । तर यसपटक नेपाली टोलीको बलिङसँगै ब्याटिङ पनि राम्रो देखिन्छ । अझै ओपनिङ जोडी त नेपालको सदावहार समस्या थियो । कुशल भुर्तेल र आशिफ शेखको आगमनले त्यो समस्या समाधान भएको छ । पछिल्ला खेलमा यी दुई एकनाशको प्रदर्शन गरेका छन् । र राम्रो प्रदर्शन गरेका छन् । अनुभवी प्रदीप ऐरी विकल्पमा छन् ।

“यसपटक हाम्रो ब्याटिङ पक्ष राम्रो छ । जुनसुकै ब्याट्सम्यान लिएर खेल्दा पनि राम्रो हुन्छ भन्ने आत्मविश्वास छ,” कप्तान सन्दीपले भने । 

ओपनिङ जोडीसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषाकवर पनि लयमा छन् । नयाँ अनुहार लोकेश बम र विवेक यादवले पछिल्लो समय राम्रो प्रर्दशन गरिरहेका छन् । करण केसी आफैँ पनि ब्याटिङमा भरपर्दा खेलाडी हुन् । कुशल मल्ल पनि छन् ।

“पहिलो नेपाली टोलीलाई बलिङ राम्रो भनिन्थ्यो । अहिले हाम्रो ब्याटिङमा राम्रो भएको छ । एकरूपको प्रदर्शन भएको छ,” अनुभवी अलराउन्डर शरदले भने, “बलिङ त यसै पनि राम्रो छ । सन्तुलित टिम बनेको छ । सबैले राम्रो तयराी गरेर आउछन् । त्यर्सैले त्यही दिन कसले राम्रो खेल्न छ भन्ने हो ।”

नेपालको तयारी 
नेपालले ओमान भ्रमणका लागि पुस १८ गतेबाट बन्द प्रशिक्षण गर्ने भन्दै पुस १५ गते ३० खेलाडीलाई बोलाएको थियो । तर खेलाडी र क्यानबीचको विवादका कारण १८ गते सबै खेलाडी उपस्थित भएनन् ।

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने र ज्ञानेन्द्र र दीपेन्द्रसिंहलाई कप्तान र उपकप्तानको जिम्मेवारीबाट हटाइदिएको थियो । खेलाडीले त्यसको विरोध गरेका थिए । 

निरन्तरको वार्तापछि पुस २० गते खेलाडी र क्यानबीच सहमति जुटेको थियो । त्यसपछि टिमले पूर्ण रूपमा प्रशिक्षण थालेको थियो । झन्डै एक साताको बन्द प्रशिक्षण पछि प्रधानमन्त्री कप खेलाइएको थिया । क्यानले ओमान भ्रमणको तयारी भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुरोध गरेर प्रधानमन्त्री कपलाई यस वर्ष ट्वान्टी–२० स्वरूपमा खेलाउन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा राखेप राजी भएको थियो ।

पुस २६ देखि माघ ५ गतेसम्म भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकट प्रतियोगिताको प्रदर्शनका आधारमा क्यानले माघ ६ गते अन्तिम १६ खेलाडीको नाम सार्वजनिक गरेको थियो । बिग बास लिगका लागि अस्ट्रेलिया रहेका सन्दीप माघ ७ गते नेपाल आइपुगेका थिए । 

प्रधानमन्त्री कपपछिको बन्द प्रशिक्षणमा केही खेलाडी कोभिड–१९ संक्रमित भएका थिए । तर अहिले सबै स्वस्थ्य फिट रहेको कप्तान सन्दीपले बताउँछन् ।

“हाम्रो प्रशिक्षण सोचेजस्तै भएको छ । अहिलेसम्म क्वालिटी प्राक्टिस भइरहेको छ । नेपालमा हुने अभ्यास सत्र सकिएको छ । हामी एक राम्रो सम्भावना बोकेर अगाडि बढिरहेका छौँ,” सन्दीपले थपे, “अब ओमानमा प्रतियोगिता अघि तीन ट्वान्टी–२० त्रिकेट खेल्नेछौँ । त्यसले हाम्रो कमजोरी सुधार गर्न अझ मद्दत गर्नेछ ।”

प्रशिक्षक पुबुदुले ओमानमा नेपालका लागि त्यहाँको मौसम चुनौतीपूर्ण रहेको बताएका छन् । उनी थप्छन्, “यहाँको मौसम दिन प्रतिदिन चिसो हुँदै गयो । ओमानमा गर्मी मौसम छ । त्यहाँको कन्डिसन हाम्रो लागि सबैभन्दा ठूलो चुनौती हो ।”

विवेक र लोकेशको आगमन
ओमान भ्रमणका लागि प्रदीप ऐरी, जितेन्द्र मुखियाले पुनरागमन गर्दा विवेक यादव र लोकेश बमले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । लोकेश 'पावर हिटर' हुन् भने विवेक अलराउन्डर हुन् । ओमान भ्रमणमा दुबैले मौका पाउने सम्भावना बलियो छ ।

क्यानले सुरुमा बोलाएको ३० जनाभित्र लोकेश गरेका थिएनन् । तर प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधरमा पुबुदुले लोकेशलाई सिधै १६ जनाभित्र समावेश गरेका थिए । दुवै जनाले पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेका छन् । 

“उनीहरू आफ्नै क्षमताले यहाँसम्म आइपुगेका हुन् । विवेक राम्रो अलराउन्डर हुन् । लोकेश पनि राम्रो खेलिरहेका छन्,” नेपालका कप्तान सन्दीपले भने । 

सन्दीपको फरक भूमिका
सन्दीपको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलोपटक हो । क्यानले ज्ञानेन्द्र कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । सन्दीपले यू–१९ टोलीमा कप्तानी गरेका थिए । तर पछि क्यानले सन्दीपलाई हटाएर दीपेन्द्रसिंहलाई कप्तान बनाएको थियो ।

ज्ञानेन्द्र पछिको कप्तान भन्ने बहस चलिरहँदा क्यानले एक्कासी सन्दीपलाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो । तर सन्दीपले आफू टोलीको नेतृत्व लिन तयार रहेको बताएका छन् ।

“मैले धेरै फरक महशुस गरेको छैन । पहिले म कप्तान नभए पनि एक लिडरको रूपमा थिए । बलिङ डिपार्टमेन्टको मैले नेतृत्व गर्नुपर्ने हुन्थ्यो,” कप्तान सन्दीपले नयाँ भूमिकाबारे भने, “भूमिकाका हिसाबले मेरो रोल नयाँ छ । हामी सबै पछिल्लो ६, ७ वर्षदेखि सँगै खेल्दै आएका छौँ । यसबीचमा मैले सबैसँग नजिक भएर काम गरेको छु । चाहे त्यो फिल्डमा होस् वा अफ द फिल्ड । सबै खेलाडीलाई राम्रो सिनारियो बनाइदिने काम हो । त्यसैले खास फरक पर्छ भन्ने लाग्दैन ।”

के भन्छन् विवेक र लोकेश ?
विवेक यादव : पहिलो पटक राष्ट्रिय टिममा परेको भए पनि मैले ठुलो दबाब महशुस गरेको छैन । सिनियर दाइहरूले हौसला प्रदान गरिरहनुभएको छ । विशेषगरी सन्दीप दाइले मेरो हौसला बढाउनुभएको छ । मैले ६, ७ नम्बरमा ब्याटिङ गरिरहेको छु । पहिलेदेखि त्यही नम्बरमा खेलिरहेको छु ।

मौका पाए भने खेल जिताउने योजनामा छु । आफ्नो रोलमा गएर इनिङ सक्ने मेरो लक्ष्य हुनेछ । टिमलाई विश्वकप पुर्‍याउने नै हाम्रो मुख्य लक्ष्य हो । २०१४ मा विश्वकप खेलेको मलाई थाहा थिएन । पछि थाहा पाएको हुँ । बच्चादेखिको सपना थियो, राष्ट्रिय टोलीमा पर्ने । महत्वपूर्ण प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा परेको छु । विश्वकप खेल्ने सपना छ । आशा गरौँ त्यो पनि पूरा हुनेछ ।

लोकेश बम : मैले राम्रो गरेर आएको छु । यति ठूलो स्तरमा पहिलोपटक खेल्न जाँदैछु । केही नर्भस पनि छु । तर पनि कसरी राम्रो गर्ने भनेर प्रशिक्षकसँग सल्लाह गरिरहेको छु । मानसिक रूपमा म पूर्ण रूपमा तयार छु । बीचमा १०, १२ दिन अभ्यास गर्न पाइनँ । त्यसले केही असर गर्‍यो  । 

नेपालबाट खेल्ने चाहना सबैको हुन्छ । सिनियर दाइहरूसँग सिक्ने मौका पाएको छु । आगामी दिनमा राम्रो गर्ने मौका छ । मैले जे पनि गरिरहेको थिएँ, राष्ट्रिय टोलीमा पर्नका लागि गरिरहेको थिएँ । त्यो सपना पूरा भएको छ । अब विश्वकप खेल्ने सपना पूरा गर्न चाहन्छु ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro