
यो संसार अनन्त छ र नबुझी नसकिने पनि छ । मलाई त दुनियाँ नै एउटा मायावी थलोजस्तो लाग्न थालेको छ । हामी दैविक छल र मायाबीच बाँचेका हौँ कि ? किनकि, हामीले देख्दादेख्दै क्रमशः हाम्रा प्रिय स्वजनहरूले एक/एक गरी हाम्रो साथ छाडेर गइरहेका छन् ।
हामी बाँचेका मध्ये को कति खेर जाने हो निश्चित छैन । ती अस्ताएका स्वजनहरूसँग बिताएका क्षणहरूले हाम्रो धीत मरिसकेको पनि हुँदैन । उनीहरू यसरी संसार छाडेर जान्छन्, मानौँ सदाका लागि यो संसार नै बिर्सिदिन्छन् । तिनलाई हामी यदाकदा सपनामा बाहेक फेरि कहीँ कतै भेट गर्न पाउने छैनौँ ।
यो संसारमा प्राणीहरूको मृत्यु हुनु भनेको शाश्वत कुरा हो । मानिस, पशु, चराचर, रुख बोटबिरुवा सबैको कुनै न कुनै समयमा अन्त्य हुन्छ । चाहे निर्जीव हुन् वा सजीव हुन्, संसारबाट विलुप्त हुनु स्वाभाविक हो । यहाँ कोही पनि अजरअमर छैन । यो कुरा यथार्थ हो, तापनि हामी मनैदेखि यो कुरालाई आत्मसात् गर्न सकिरहेका हुँदैनौँ ।
यो वर्ष २०८१ मा किन हो कुन्नि, धेरै स्वजनहरूका अनन्त यात्राको साक्षी बन्नुपर्यो । त्यस्तै अत्यन्त प्रिय र मित्रवत् सम्बन्ध भएका हाम्रा कमल कोइराला दाइले पनि अस्ति बिदा लिनुभयो ।
मैले उहाँलाई हाम्रो कमल दाइ भनी सम्बोधन गर्नुको कारण छ । प्रथमतः उहाँ मजस्तै विराटनगरवासी । दोस्रो, उहाँ मेरा अग्रज कानुन व्यवसायी विद्वान् पनि ।
२०३५ सालमा मैले वकालत प्रारम्भ गर्दा स्वर्गीय भरतमोहन अधिकारी दाइ र कमल दाइले संयुक्त फर्म खोलेर धेरैअघिदेखि वकालत सुरु गर्नुभएको थियो । कमल दाइ भूतपूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका माहिला सुपुत्र, नेपाली कांग्रेसका महान् नेता विश्वेश्वरप्रसाद कोइरालाका भतिजा हुनुहुन्थ्यो ।
उहाँ प्रतिबन्धित तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ताका अतिरिक्त एक प्रख्यात कानुन व्यवसायी पनि हुनुहुन्थ्यो । सन् २०१० मा महिला न्यायाधीशको सम्मेलन दक्षिण कोरियाको सिउलमा आयोजना भएको बेला म त्यहाँ भाग लिन जाँदा उहाँलाई मैले राजदूतको रूपमा भेटेको थिएँ ।
कमल दाइ एक ख्यातिप्राप्त लेखक पनि हुनुहुन्थ्यो । साथै, एक स्वतन्त्र, निर्भीक र प्रस्ट वक्ता । उहाँका विचार युट्युबमा बराबर आउने गर्दथे र म हेरिरहन्थे । दश दिन पहिलेसम्म पनि मैले उहाँको अन्तर्वार्ता नियालेकै थिएँ । उहाँका लेखहरू पत्रपत्रिकाहरूमा बराबर आइरहेकै थिए । अर्थात्, ८७ वर्षको नेटो काट्दा पनि कमल दाइमा सक्रियता कायम थियो र स्वास्थ्यमा कुनै क्षीण देखिएको थिएन । उहाँको स्मरण शक्ति पनि ज्यादै तेज पाइएको थियो ।
कमल दाइ सिद्धान्तले साम्यवादी हुनुहुन्थ्यो, मेरा श्रीमान् दुर्गा सुवेदीजी प्रजातन्त्रवादी । तर, त्यहाँ दलीयताले कुनै छेकबार लगाएको थिएन । दुवैबीच अन्यन्य मित्रता थियो ।
विराटनगर, मधुमाराको टिनको छाना र गिलेवा इँटाले जोडिएको पुरानो सानो घरमा कमल दाइ बराबर भेट्न आउनुहुन्थ्यो । खानेकुराको मिठो/नमिठो छुट्ट्याउने बानी पनि उहाँमा थिएन ।
भान्सामा पसेर बासी भात भेटे पनि ‘ल अन्डा र प्याज राखेर यसलाई भुट, यही भए पनि खाऊँ’ भनी हरएक परिस्थितिलाई सहज र सरलतासँग लिने बानी थियो । उहाँका भाइ अजय पनि बराबर त्यस घरमा आउने/जाने गर्थे । कमल दाइमा लगाउने कुरामा कुनै मोह कहिले पनि देखिएन । उहाँ पहिरनको कुरामा अति साधरण हुनुहुन्थ्यो ।
कमल दाइको धर्मपत्नी धन भाउजू काठमाडौंको कुनै सम्भ्रान्त घरानियाँ परिवारकी छोरी हुनुहुन्थ्यो । कमल दाइको हर्फनमौला स्वभावको ठिकविपरीत स्मार्ट अनि सुन्दरी । स्वयम् आफैँ हामीलाई भाउजूका बारे भन्ने गर्नुहुन्थ्यो, ‘यार, मेरो बानी कुनै कुरा ठेकानमा राख्ने छैन, यताउता पारिदिन्छु, तिमीहरूको भाउजू रिसाउँछिन् । अनि, सबै दराजहरू र बाकसहरूमा ताला लगाउँछिन् ।’
यो सन्दर्भ उहाँले कपाल नकोरी आएको देखेर कुनै कानुन व्यवसायीले सोध्ने क्रममा निस्केको थियो । कमल दाइलाई खुब हाँस्नुपर्ने, नहाँसी बोल्दै नबोल्ने र अरूलाई पनि हँसाउने बानी थियो ।
प्रत्येक विषय प्रस्तुत गर्दा हास्यरसद्वारा सिँगारेर प्रस्तुत गर्ने बानी थियो । आलोचनात्मक व्याख्या गर्ने क्रममा सभ्य शैलीमा आफ्ना पितालाई, बन्धुबान्धवहरूलाई पनि नछाड्ने बानी थियो । एकपटक त राजा वीरेन्द्र र रानी ऐश्वर्य उहाँको घरमा उहाँको पितालाई भेट्न जाँदा आफ्नो विचार पञ्चायतको भन्दा विपरीत रहेको परिचय प्रस्टसँग दिन पुग्नुभएको पनि थियो ।
घटनाहरू स्मरण गर्ने क्रममा म त्यस दिनको कहालीलाग्दो साँझलाई सम्झन पुग्छु, जुन दिन धन भाउजूको ज्यादै कम उमेरमा देहावसान भएको थियो । त्यस दिन झमक्क अँध्यारो भइसकेको थियो, कमल दाइबाटै फोन आयो । हाम्रो घर र उहाँको घरबीचको दूरी त्यति टाढा नभएको हुँदा हामी हिँडेर नै उहाँको घर पुग्यौँ ।
प्रचण्ड गर्मीको महिना थियो, हामी पुग्दा त्यहाँ कमल दाइ एक्लै हुनुहुन्थ्यो । अरू सबै परिवार काठमाडौंमा भएको हुँदा उहाँ र भाउजू अनि केही सहयोगीबाहेक कोही थिएन ।
भाउजूको शरीरलाई बरफको सेलहरूमाथि राखिएको थियो । त्यस बेला उहाँकी छोरी रीचा कोइरालाको उमेर सायद चौध/पन्ध्र वर्ष र छोराको उमेर अठार वर्ष मात्र पुगेको हुनुपर्छ । छोरा नेपालबाहिरबाट आउँदै थिए । हामी धेरै रातिसम्म त्यहाँ बस्यौँ र फर्कियौँ ।
मेरो स्मरणमा धेरै दिनसम्म धन भाउजू रहिरहनुभयो । मृदुभाषी, गुणी, मधुरो शैलीमा बोल्ने परिवारकी प्रिय बुहारी, पत्नी, भाउजू, माताको असमायिक निधन त्यस दिन भएको थियो ।
मैले वकालत सुरु गर्दाताका भरतमोहन अधिकारी र कमल कोइराला, स्व. वरिष्ठ अधिवक्ता कालीकुमार लाल दास, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, वरिष्ठ अधिवक्ता स्व. नारायण खरेल, तत्कालीन कानुन व्यवसायी पछि सर्वोच्च अदालतको न्यायाधीश हुनुभएका मोहनप्रकाश सिटौला हाम्रा अग्रज थिए ।
केही कुरा बुझ्नुपर्यो वा कुनै मुद्दामा बहस गर्नुपर्दा केही जान्न पनि हामी उहाँहरूको फर्ममा बराबर जाने आउने गर्थ्यौं । एक दिन भरतमोहन अधिकारी दाइले मलाई ‘बहिनी, तिमीले एउटा मुद्दामा बहस गरी दिनुपर्यो । भोलि फर्ममा बिहान आउनु र मिसिल त्यहीँ पढ्नु’ भनेको हुँदा बिहान आठ बजे म उहाँको घरमा रहेको फर्ममा पुगे ।
फाइल कमल दाइको घरमा रहेछ, एकजनालाई लिन पठाइयो । तर, केही कागज मात्र फेला पर्यो । सेवाग्राहीले भन्यो– कागजपत्र त्यति मात्र होइन, पूरै दिएको थिएँ । त्यो सुनेर भरत दाइले ‘यी कमल पनि केके गर्छन्’ भन्नुभयो ।
त्यस दिन मुद्दाको पेसी स्वतः हट्यो । पछि फर्मका भाइहरूले त्यो हराएको मिसिल तीन दिनसम्म खोजी गर्दा कमल दाइकै घरमा पढ्न लगेको अर्कै मुद्दाको फाइलभित्र छिरेको पाइयो । यो मामलामा कमल दाइलाई फर्मको लेखापढी गर्ने भाइहरूले निकै सहयोग गर्नुपर्ने हुन्थ्यो ।
एकपटकको कुरा हो, म धनकुटा क्षेत्रीय अदालतमा मुद्दा बहस गर्न गएकी थिएँ । साढे तीन बजे हामी हतारहतार बस बिसौनीमा पुग्यौँ । धरान फर्कने अन्तिम बस लागेको देखेपछि हतारहतार म र मेरा सहयोगी विद्धान् मित्र अनि सेवाग्राहीले समेत बसमा सिटको सुनिश्चित गर्यौं ।
बसभित्र यात्रुहरू खचाखच भरिए । सिटमा भन्दा उभिएका मानिस धेरै भए । खुट्टा राख्ने ठाउँ थिएन । म अगाडिको सिटमा हुँदा बाहिरको दृश्य प्रस्टसँग देखिन्थ्यो । अनि, त्यसै बेला माथि डाँडामा हेर्दा फाइल बोकेर बसेका मानिस कमल दाइ हो कि जस्तो लाग्यो ।
मैले मेरो फर्मका सहयोगी मित्रलाई ठम्याउन लगाउँदा उनले भने, ‘हो ।’ कमल दाइ किंकर्तव्यविमूढ मुद्रामा यताउता हेर्दै भुइँमा बसिरहनुभएको थियो । त्यो अन्तिम बस हिँडेपछि फेरि कुनै अर्को बस थिएन । बस बिसौनी पनि विस्तारै खाली र शून्य भइसकेको थियो ।
स्थिति मनन गरेर मैले बसको गुरुजीलाई ‘हाम्रो एकजना मान्छे छुट्नुभएछ, म बोलाएर ल्याउँछु, केही बेर पर्खनुपर्यो’ भनी बसबाट उत्रिएँ । नजिकै पुगेर बोलाएँ र ‘जाऊँ’ भने ।
उहाँले भन्नुभयो, ‘मसँग आएको सेवाग्राही बेपत्ता भयो । म त बसमा भीड देखेर अलमलमा परेँ ।’
यसरी कमल दाइ, हामी सबै धरान साँझको सात बजे मात्र आइपुग्यौँ । अब विराटनगर राति फर्कन सम्भव थिएन । मैले मेरो घरमा बल्लबल्ल पाहुना मान्न पाएको ठानेर खाना बनाउने तयारी गर्दा दाइले ‘राति भइसक्यो बहिनी, चाम्रे भुटभाट गर, आलुको भुजिया बनाऊ र टमाटरको पिसेको अचार झटपट बनाऊ, झन्झट नगर’ भनेकाले त्यसै गरियो पनि । मेरो भनाइ अत्यन्त साधारण रहनसहन, उच्च विचार राख्ने व्यक्तित्व हो, कमल दाइ ।
सिउलको महिला न्यायाधीशको सम्मेलनको अन्तिम दिन समापन समारोहमै कमल दाइ हामीलाई आफैँ लिन आउनुभयो । जबकि, मलाई उहाँ त्यहाँ हुनुहुन्छ भनी थाहा पनि थिएन । म, स्वर्गीय सर्वोच्चका पूर्वन्यायाधीश शारदा श्रेष्ठ र सर्वोच्चका पूर्वन्यायाधीश गौरी ढकाल हामीहरू तीनजना उहाँको निवासमा पुग्यौँ । तीन/चार घण्टासम्म दूतावासमा समय बिताएका थियौँ ।
उहाँकी छोरी रीचा कोइराला जसले आजसम्म बुबाको रेखदेख, हेरविचार गरेकी थिइन्, तिनै छोरीले आफू गर्भावस्थामा रहेको कठिन समयमा पनि हाम्रा खाना तयार गरी/गराई हामीलाई खुवाएकी थिइन् ।
भरतमोहन दाइले देहावसानपूर्व लाजिम्पाटको एउटा होटेलमा हामीलाई एउटा भोजमा बोलाउनुभएकामा त्यहाँ कमल दाइ पनि आउनुभयो । मसँग भेट भएपछि मलाई महाभियोग लगाएको बखत मैले जे प्रतिक्रिया दिएको थिएँ, तिनै कुरा सम्झेर हामीसँग मरीमरी हाँस्नुभएको थियो ।
काठमाडौंमा हिँड्न, घुम्न सरल र सस्तो छैन । यहाँ आफन्तकहाँ बारम्बार भेट्न जाने चलन पनि छैन । यो मामलामा विराटनगर सरल छ, सस्तो पनि छ । विराटनगरमा सबैसँग चाहेको बखत भेटघाट गर्न जतिपटक पनि सकिन्छ ।
कमल दाइ मेरो टोखाको घरमा गत वर्ष छोरी/ज्वाईं समेत आउनुभएको थियो । केही घण्टासम्म उहाँ, दुर्गाजी र म बसेर पुराना दिनका पुराना कुरा सम्झेर खुब हाँसेका थियौँ । त्यो भेटघाट नै अन्तिम बन्यो । उहाँलाई यसै लेखमार्फत हार्दिक श्रद्धाञ्जली छ । साथै, उहाँको परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गर्छु ।