
काठमाडौं । केही दिनयता काठमाडौं वायु प्रदूषणका हिसाबले विश्वकै अग्रपंक्तिमा छ । गर्मीसँगै बढेको डढेलो र आगलागीका घटना, सडक निर्माणलगायत कार्यबाट निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैला जलाउने गर्दा देशभर प्रदूषण बढेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
काठमाडौं उपत्यकाको भौगोलिक स्थिति, वर्षा कम हुनु र मनसुन सुरुआत नभइसकेका कारण देशका प्रमुख सहरको वायु प्रदूषण खतराको तहनजिक पुगेको गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणले उल्लेख गरेको छ ।
- वायु प्रदूषणमा अझै एक साता सुधार नहुने, कार्यालयका काम घरबाटै गर्न प्रोत्साहन
- काठमाडौंको वायु ‘अति अस्वस्थकर’, विश्वकै प्रदूषित
मौसमविद्ले कम्तीमा यो साता वर्षा हुने सम्भावना नरहेको बताइरहेका छन् । प्रदूषण उल्लेख्य रूपमा कम हुन वर्षा आवश्यक हुन्छ । प्रदूषण बढ्न नदिन विभिन्न उपाय अपनाउन सकिन्छ ।
- मौसमविद्लाई प्रश्न– वायु प्रदूषण हट्नेगरी पानी कहिले पर्छ ?
- काठमाडौंमा श्वास फेर्नै कठिन, विज्ञ भन्छन्– वैशाखभर वायु प्रदूषण भयावह हुनसक्छ
वायु प्रदूषण कम गर्न विभिन्न मुलुकले यसअघि कृत्रिम वर्षा गराएका छन् । त्यसरी वर्षा गराउनेमा छिमेकी मुलुक चीन, भारत, पाकिस्तानसहित दक्षिण कोरिया, अमेरिकालगायत देश छन् ।
नेपालमा भने कृत्रिम वर्षाबारे अध्ययन नै नगरिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए । अध्ययन नगरिनुको कारण त्यो महँगो प्रविधि भएको उनले स्पष्ट पारे ।
“नेपालमा त्यो प्रविधि भित्रिएको छैन । नेपालमा त्योसम्बन्धी अध्ययन, अनुसन्धान पनि भएको छैन,” उनले बाह्रखरीसित भने, “त्यो नहुनुको कारणचाहिँ महँगो परेर हो ।”
कृत्रिम वर्षा वायु प्रदूषण घटाउने उपाय भए पनि अध्ययन नै नगरिएकाले नेपालमा तत्काल सम्भव नरहेको उनले बताए ।
कृत्रिम वर्षा गराउने तरिका
कृत्रिम वर्षा गराउन आकाशमा विभिन्न खालका केमिकल पुर्याउनुपर्ने हुन्छ । “रकेट अथवा एरोप्लेनमार्फत केमिकलका धुलोहरू त्यहाँ (आकाश) पुर्याउने, जसले पानीका बाफहरू कन्डेन्सेसन (बाफ पानी बन्ने प्रक्रिया)हुनलाई सहयोग गर्छ । पानीका थोपाहरू बन्न सहयोग गर्छ त्यो धुलाका कणहरूले । त्यसले वर्षा गराउने हो,” उनले भने ।
त्यसनिम्ति आकाशमा निश्चित मात्रामा जलवाष्पका कण – त्यसलाई मोस्चर (आद्र्रता) भनिन्छ, त्यो हुनुपर्छ । “त्यो एकदमै खर्चिलो विधि भएको भएर हामीले अहिले गरिरहेका छैनौँ,” उनले भने ।
हालको अवस्थामा आकाशमा केही मात्रामा जलवाष्पयुक्त कण देखिएको उनले बताए । “यस्तो अवस्थामा क्लाउड सिडिङ गराउने हो भने केही हदसम्म वर्ष गराउन सकिन्छ,” उनले भने, “तर, यो क्लाउड सिडिङ टेक्निकले हरेक समयमा वर्षा गराउँछ नै भन्ने ग्यारेन्टी हुँदैन ।”
यसरी वर्षा गराउन वायुमण्डलमा ‘पर्याप्त’ आद्र्रता हुनुपर्ने उनले बताए । त्यो अवस्थामा मात्र कृत्रिम वर्षा गराउने सकिने उनले जानकारी दिए ।
“क्लाउड सिडिङ गर्नेबित्तिकै वर्षा हुन्छ भन्ने हुँदैन । वायुमण्डलमा मोस्चर पर्याप्त भयो भने मात्रै त्यो मोस्चरलाई पानीको फर्ममा ढालेर तल झार्ने काम गर्ने हो त्यसले,” उनले भने, “यदि, मोस्चर पर्याप्त छैन भने आर्टिफिसियल रेनफल गराउन सम्भव हुँदैन ।”
नेपालमा त्यसबारे ‘रिसर्च’ नै नभएकाले ठ्याक्कै भन्न भने नसकिने मौसमविद् हुमागाईंले बताए ।