site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भद्रगोल खुला विश्वविद्यालय 
SkywellSkywell

काठमाडौँ । ठूलो अपेक्षा गरिएको खुला विश्वविद्यालय भद्रगोल प्रायः छ । मानविकी, विज्ञान र व्यवस्थापन संकाय पदाधिकारीविहीन छन् । तीनै संकायमा डीन नियुक्त गरिएको छैन । सुविधासम्पन्न पुस्तकालय छैन भने पर्याप्त बजेट पनि छैन । भवन निर्माण भइसकेको छैन भने आफ्नै सर्भर पनि छैन । उच्च शिक्षामा कामकाजी नागरिकको सहज पहुँचका हिसावले अपेक्षा गरिएको विश्वविद्यालयले आफूलाई अब्बल स्थापित गर्न सकेको छैन । 

आठ महिना पदाधिकारीविहीन भएको नेपाल खुला विश्वविद्यालयमा अहिले उपकुलपति पाएको छ । प्रा.डा. सिलु बज्राचार्य उपकुलपतिमा नियुक्त भएकी छन् । 

विश्वविद्यालयका पदाधिकारीका रुपमा अहिले उपकुलपति र रजिष्टार मात्र छन् । करिब एक महिना अघिमात्रै नियुक्त भएका रजिष्टार डा. गोविन्द सिंह विष्ट भन्छन्, “अहिले दैनिक  कार्यहरु गरिरहेका छौँ । परीक्षा लिने र कक्षा सञ्चालन गर्ने काम भइरहेको छ ।”

Dabur Nepal
NIC Asia

विश्वविद्यालयका मानविकी, विज्ञान र व्यवस्थापन संकाय अहिले पदाधिकारीविहीन छन् । उपकुलपति बज्राचार्यले तीनै संकायका लागि डीन नियुक्त गर्नुपर्ने बताइन् । बज्रचार्य सोही विश्वविद्यालयमा पहिले व्यवस्थापन तथा कानुन संकायको डीनको रुपमा कार्यरत थिइन् । 

खुला विश्वविद्यालयको उद्धेश्य ‘नेपाल खुला विश्वविद्यालयलाई प्रतिस्पर्धात्मक रूपमा मितव्ययी शुल्क संरचनाका लागि खुला र दूरशिक्षा माध्यमबाट आम नागरिकलाई उच्च शिक्षा र तालिम प्रदान गर्ने देशको अग्रणी उच्च शिक्षा संस्थाको रूपमा विकास गर्ने’ रहेको छ । 

स्थापनाको पाँच वर्ष बितिसक्दा पनि विश्वविद्यालयको आफ्नै भवन छैन । अनलाइन कक्षा सञ्चालन गर्न विश्वविद्यालयसँग आफ्नै सर्भर छैन । सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) सर्भर खुला विश्वविद्यालयले प्रयोग गरिरहेको छ । रजिष्टार विष्ट भन्छन्, “सरकारी जीआईडीसीको सर्भर प्रयोग गरिरहेका छौँ ।” 

विश्वविद्यालयले अमेरिकन डाटा सेन्टरबाट पनि केही सर्भर सहयोग प्राप्त गरेको छ । सूचना तथा प्रविधिको भौतिक पूर्वाधार नहुुँदा कतिपय राम्रा कोर्सहरु विश्वविद्यालयले पढाउन नसकेको विष्टले बताए ।  

खुला विश्वविद्यालयको अवधारणा ०३७ मै आए पनि ०६९ मा पूर्वाधार विकास समिति गठन भएको थियो । नेपाल खुला विश्वविद्यालय ऐन २०७३ पारित भएपछि मात्र विश्वविद्यालयको स्थापना भएको थियो । 

अहिले विश्वविद्यालयले भवन बनाउन सानोठिमीमा नौ रोपनी जग्गा पाएको छ । उक्त जग्गामा पूर्वाधार निर्माणका लागि प्रारम्भिक डिजाइन तयार गरिएको उपकुलपति बज्रचार्यले जानकारी दिइन् । उनका अनुसार विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने ठूलो चुनौती छ । उनी भन्छिन्, “सरकारी शिक्षालय भएको हुँदा बजेट अभाव छ । त्यसलाई सम्बोधन गर्न विश्वविद्यालय चलाउन हामी आत्मनिर्भर हुनै पर्छ ।” 

अनलाइन कक्षालाई प्रभावकारी बनाउन सूचना प्रविधियुक्त (आईसीटी) भवन, ई–लाइब्रेरी र पूर्णकालीन फ्याकल्टी शिक्षक नहुनु विश्वविद्यालयको अर्को महत्वपूर्ण चुनौती रहेको बज्रचार्यको भनाइ छ । चुनौतीलाई सम्बोधन गर्न बजारको मागअनुसारका विषयहरु राखेर विद्यार्थी आकर्षण गर्ने पक्षमा उनी छिन् । त्यसैले मानविकी र स्वास्थ्य तथा प्रविधि संकायका स्नातक र स्नाकोत्तरमा कार्यक्रमहरु थप्न लागेको उनी सुनाउँछिन् ।

अहिले विश्वविद्यालयले परीक्षाको ट्रान्सक्रिप्टको लागि आह्वान गरेको छ । प्रक्रिया पुगेका विद्यार्थीको ट्रान्सक्रिप्ट जारी गर्न लागेको रजिष्टार विष्टले बताए । 

विज्ञान संकायको स्नातकोत्तर प्रथम वर्षको परीक्षा ओपन बुक सिस्टमबाट भएको छ । ती विद्यार्थीको अन्तर्वार्ता लिन बाँकी रहेको उनले बताए । यसैगरी, एमफिल सोसल साइन्स एजुकेसन फ्याकल्टीको पनि ओपन बुक सिस्टममै परीक्षा लिन सुरु भएको छ । यो महिना परीक्षा सकेर त्यसपछि प्रयोगात्मक परीक्षा सुरु गर्ने विश्वविद्यालयको योजना छ । हाल कानुन र व्यवस्थापन संकायको कक्षा चलिरहेको छ ।
 
विश्वविद्यालय उच्च शिक्षा परियोजना अन्तर्गत सबै विश्वविद्यालयमा ई–पुस्तकालय बनाउने निर्णय गरेको थियो । तर, हालसम्म खुला विश्वविद्यालयले राम्रो पुस्तकालय बनाउन सकेको छैन ।

विश्वविद्यालयको आफ्नै फ्याकल्टी सदस्य २५ जना मात्र छन् । दुईसय प्राध्यापक रहेकोमा बाँकी सबै करारमा राखिएका छन् । करारमा बसेकाले वृत्तिविकासको अवसर नपाउने हुँदा अन्य विश्वविद्यालयमा अवसर खोज्न जानसक्ने हुँदा त्यसको समस्या समाधान गर्न जरुरी रहेको उपकुलपति बज्राचार्य औँल्याउँछिन् ।
 
करिब ७ करोड बजेट रहेको खुला विश्वविद्यालयमा हाल दुई हजारभन्दा बढी विद्यार्थी  अध्ययनरत छन् । अन्य विश्वविद्यालयमा पढाइ नभएका र आवश्यकता रहेका विषयहरु यो विश्वविद्यालयले पढाउँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu