काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बन्दै गएको बताएको छ । काठमाडौं उपत्यकालगायत कोरोनाको जोखिम भएका विभिन्न स्थानमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने तथा आर्थिक तथा भौतिक गतिविधिलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्धेश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
उनले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए । उनले नेपालमा १२ वर्ष माथिका र १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेको बताए । उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको जानकारी दिए ।
सह–प्रवक्ता अधिकारीले कोरोना संक्रमण भएर निको हुनेको संख्या बढेकाले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताएका छन् ।