काठमाडौं । चारपटकको उपाधि विजेता घाना मंगलबार कोमोरोससँग ३–२ ले पराजित भएपछि अफ्रिकन कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएको छ ।
क्यामरुनमा जारी प्रतियोगितामा लगातार आश्चर्यजनक नतिजा आइरहेको छ । कोमोरोसले पहिलोपटक यो प्रतियोगिता खेलेको हो । पहिलो सहभागितामै कोमोरोसले घानालाई स्तब्ध बनाइदिएको छ ।
दुई दिनअघि मात्र साविक विजेता अल्जेरियालाई क्वेटोरियाल गिनीले पराजित गरेका थियो । त्यो अफ्रिकन कप अफ नेसन्सकै एक आश्चर्यजनक नतिजा हो ।
आन्द्रे एयुले २५औँ मिनेटमा रातो कार्डको सामना गरेपछि घाना १० खेलाडीमा सीमित भएको थियो । कोमोरोसको जितमा अहमेद मोग्नीले दुई तथा बेन नाबौहानेले एक गोल गरे । १० खेलाडीमा समेटिएको घानाका लागि रिचमोन्ड बोकया र एलेक्सजेन्डर ड्जिकुले एक/एक गोल फर्काए ।
पराजित घाना समूह ‘सी’मा पुछारमा रह्यो । घानाले तीन खेलबाट एक अंक जोड्न सक्यो । कोमोरोस तीन अंक जोडेर तेस्रो स्थानमा रह्यो । यस समूहबाट मोरक्को र गाबोनले नकआउट चरणमा स्थान बनाए ।
मोरोक्को र गाबोनले २–२ ले बराबरी खेलेका थिए । मोरोक्कोले सात अंक जोड्यो भने गाबोनले पाँच अंक जोड्यो ।