site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाका ५३ प्रतिशत सक्रिय संक्रमित काठमाडौंमा, नाका र समुदायमा छैन परीक्षण
फाइल तस्बिर ।

काठमाडौं । पुसयता देशभर कोभिड–१९ संक्रमण निरन्तर बढिरहेको छ । विशेषगरी भारतसँग सीमाना जोडिएका जिल्लाहरूमा परीक्षण पोजिटिभ आउने दर बढेको छ । तर, सक्रिय संक्रमितको तथ्यांक हेर्ने हो भने काठमाडौं उच्च जोखिममा छ । तर, काठमाडौं उपत्यकामा अस्पताल तथा प्रयोगशालामा गरिएकाबाहेक न नाकामा एन्टिजेन परीक्षण गरिन्छ न समुदायमा नै । 

आधाभन्दा बढी सक्रिय संक्रमित काठमाडौंमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजसम्मको तथ्यांकअनुसार देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित रहँदा ५३.३१ प्रतिशत अर्थात् ४ हजार १८८ जना काठमाडौं उपत्यकामा छन् । त्यसमा पनि काठमाडौं जिल्लामा मात्रै २ हजार ६५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । भक्तपुरमा ६३३ र ललितपुरमा ९०० जना सक्रिय संक्रमित छन् ।

पछिल्लो समय दैनिक थपिने संक्रमितको संख्या पनि यी जिल्लामा उच्च छ । सोमबार देशभर १ हजार ४४६ जना संक्रमित थपिँदा काठमाडौंका तीन जिल्लामा ८७६ जना थपिएका छन् । 

सरकारसँग १७ लाख एन्टिजेन किट स्टकमा 
नेपालमा कोभिड–१९ को पहिलो लहरको संक्रमणमा प्रयोगशाला र भारतसँगको सीमानाकामा सीमित एन्टिजेन परीक्षण दोस्रो लहरमा समुदायस्तरमा समेत सुरु गरिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरू फिल्डमा नै पुगेर एन्टिजेन परीक्षणको दायरा बढाउने प्रयासमा जुटेका थिए ।

त्यतिमात्र नभई काठमाडौं भित्रिने थानकोट नाका, बसपार्कलगायत 'हट स्पट'हरू पहिचान गरी र्‍यान्डम परीक्षण गरिएको थियो । तर, अहिले काठमाडौंमा दैनिक ६०० भन्दा बढी संक्रमितको संख्या थपिँदा पनि 'मास टेस्टिङ' सुरु गरिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलकाअनुसार सरकारसँग अहिले १७ लाख एन्टिजेन किट छ । सबै स्थानीय तहलाई 'हट स्पट' पहिचान गरेर परीक्षण गर्न अनुरोध गरिएको डा. पौडेल बताउँछन् । 

नाका र समुदायमा छैन परीक्षण 
काठमाडौंमा कोभिड–१९ को परीक्षण अहिले प्रायोगशालामा सीमित छ । दैनिक डेढ लाखको हाराहारीमा यात्रुहरू आवतजावत गर्ने काठमाडौंको मुख्य नाका थानकोटमा अहिले सामान्य स्वास्थ्यजाँचसमेत गरिँदैन । नाकामा खटिने स्वाथ्यकर्मी र लाग्ने अन्य खर्च पालिकाले मात्रै बेहोर्न सम्भव नभएकाले पछिल्लो समय चेकजाँच बन्द गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी बताउँछन् ।

काठमाडौंमा पहिलो र दोस्रो लहरमाजस्तै गरी 'हट स्पट'हरू पहिचान गरी एन्टिजेन परीक्षण गर्नेबारे सम्बन्धित निकायहरूसँग छलफल भएको तर अहिले मास टेस्टिङमा नगएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्ले बताउँछन् ।

ललितपुरमा समुदायमा परीक्षणका लागि पालिकाअनुसार जनसंख्या हेरेर एन्टिजेन किट पठाइसकिएको स्वास्थ्य कार्यालय प्रमुख सतिस विष्टको दाबी छ । तर, ललितपुरमा पनि समुदायस्तरमा 'मास टेस्टिङ' सुरु गरिएको छैन । 

‘नाकामा होल्डिङ सेन्टर नै छैनन्, परीक्षण गरेर मात्रै के गर्ने’
उपत्यका बाहिरबाट काठमाडौं भित्रिने अर्को एक नाका भक्तपुरमा पनि समुदायस्तरमा परीक्षण सुरु गरिएको छैन । कोभिड संक्रमणको लक्षण देखिहाले पनि होल्डिङ सेन्टर छैन । पहिले आइसोलेसन सेन्टरको रूपमा प्रयोग गरिएका विद्यालय र कलेजका भवनामा अहिले पठनपाठन भइरहेको छ । 

"परीक्षण गर्नुमात्रै पनि ठूलो कुरा होइन तर उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने व्यवहारिक पाटो पनि हेर्नुपर्छ," स्वास्थ्य कार्यालय प्रमुख कृष्ण मिजारले भने, "अस्पतालहरू तयारी अवस्थामा छन् पालिकाहरूको अवस्था हेरेर परीक्षण गर्न अनुरोध गरिरहेकै छौँ । अस्पतालहरूलाई पनि तयारी अवस्थामा रहन भनेका छौँ ।"

मासमा परीक्षण गर्दा लक्षण देखिएका तर नतिजा पोजिटिभ नआएकाहरूलाई होल्डिङ सेन्टरमा राख्न सरकारले निर्देशन दिएको छ । कोभिड–१९ को पछिल्लो भेरियन्ट ओमिक्रोन लक्षणविहीन संक्रमितहरूबाट पनि समुदायमा धेरै फैलिनसक्ने भएकाले धेरैभन्दा धेरैलाई खोजेर परीक्षण गर्नुपर्नेमा विज्ञहरूको जोड छ । तर, संक्रमणको दुईवटा लहर पार गरिसक्दा पनि परीक्षणको दायरा पर्याप्त नबढाउनु र आवश्यक पूर्वाधारहरूलाई तयारी अवस्थामा नराख्नुले तेस्रो लहरको संक्रमणबारे सरकार बलियो रूपमा तयार नभएको प्रष्ट हुन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro