site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा ओमिक्रोन भेरियन्टको संक्रमण बढेको हो ?

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकासहित केही सहरहरूमा सक्रिय संक्रमितको संख्या बढेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिनसक्ने जोखिम बढेको भन्दै सतर्कताका लागि सम्बन्धित निकायहरूलाई सजग गराइरहेको छ । नेपालमा ओमिक्रोन भेरियन्टकै कारण संक्रमण बढिरहेको हो अथवा पछिल्लो समय संक्रमण पुष्टि भएका सबैमा ओमिक्रोन भेरियन्ट देखिएको हो ?

यस्तो छ २० दिनको तथ्यांक
नेपालमा पुसका २० दिनमा ५ हजार ६१ जना कोभिड संक्रमित थपिएका छन् । पुस १९ गतेसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९४ रहेकोमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २ हजार २०८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भारतसँग सीमा जोडिएका जिल्लाहरूमा कोभिड १९ संक्रमित देखिने दर बढेको छ । कञ्चनपुरको गड्डाचौकीमा मात्रै दुई दिनमा १२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । कोभिड संक्रमण पुष्टि भएकाहरूमा एस जिन नेगेटिभ देखिनेको संख्या पनि बढ्दो छ । एस जिन नेगेटिभ देखिएका नमुनाहरूमा नयाँ भेरियन्ट रहेको आशंकामा थप परीक्षणका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको छ ।

“नेपालमा डेल्टा भेरियन्ट आइसकेपछि एस जिन नेगेटिभ आउने नमुनाहरू भेटिन छोडिसकेका थिए । त्यसअघि एस जिन नेगेटिभ देखिँदा अल्फा हो भन्ने अनुमान लगाइन्थ्यो । पछिल्लो केही दिनयता परीक्षण गरिएका नमुनाहरूमा एस जिन नेगेटिभ देखिनुलाई हामीले ओमिक्रोनको ‘इन्डाइरेक्ट मार्कर’ को रूपमा लिएका छौँ,” इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले भने ।

यद्यपि, नेपालमा अहिलेसम्म तीन जनाभन्दा बढीमा ओमिक्रोन संक्रमण पुष्टि भएको छैन ।

अस्पताल भर्ना हुनेहरूमा ओमिक्रोनका लक्षण छन् ? 
पछिल्ला दिनहरूमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा कोभिड १९ का संक्रमित थपिएको मन्त्रालयको तथ्यांक छ । काठमाडौं उपत्यकाका प्रमुख ११ वटा कोभिड अस्पतालमा अहिले १३४ जना संक्रमित उपचाररत छन् ।

अस्पताल भर्ना भएका अधिकांश संक्रमित यसअघि देखिएकाजस्तै लक्षण बोकेर आउने गरेको विशेषज्ञहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ९ जना संक्रमितमध्ये अधिकांशमा डेल्टा भेरियन्टकैजस्तो लक्षण देखिएको उपचारमा संलग्न सरुवा रोग विशेषज्ञ डा. बिमल शर्मा चालिसे बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका १७ जनामा पनि कुनै नयाँ लक्षण भने नदेखिएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । 

कसरी छुट्याइन्छ नयाँ भेरियन्ट ?

भाइरसको परिर्वतित स्वरूपलाई नयाँ भेरियन्ट भनिन्छ र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । कुन भेरियन्ट हो भनेर पहिचान गर्न भाइरसको डीएनए वा आरएनएमा रहेका तत्त्वहरू, जसलाई विज्ञानको भाषामा ‘न्युक्लिओटाइड’ भनिन्छ यिनीहरूको क्रम (सिक्वन्स) परीक्षण गर्नुपर्ने हुन्छ । सुरुमा पीसीआर परीक्षणबाट पोजेटिभ नतिजा आएका तर एस जिन नेगेटिभ देखिएका नमुनाहरूको जिन सिक्वेन्सिङ गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको वर्गीकरणअुनसार भाइरसमा देखिने आनुवांशिक तत्व जुन मानिसको औँलाको छापजस्तै देखिन्छ र त्यसलाई ’मोलिक्युलर फिङ्गरप्रिन्ट’ भनिन्छ । प्रत्येक भाइरसमा यी तत्वहरू फरकफरक देखिन्छन् । जिन सिक्वेन्सिङबाट भाइरस भएको यही फरकपना छुट्टिन्छ र कुन भेरियन्ट हो भनि पत्ता लगाउन सकिन्छ ।

नेपालमा कोभिड संक्रमणको पहिलो र दोस्रो लहरमा डेल्टा भेरियन्ट नै सबैभन्दा बढी फैलिएको थियो । पछिल्लो समय सरकारले गरेका ७५० वटा नमुनामध्ये ६९५ वटामा डेल्टा नै भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

पीसीआर परीक्षणमा एस जिन नेगेटिभ देखिएका नमुनामा मात्रै नयाँ भेरियन्टका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्ने गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) का मेडिकल टेक्नोलोजिष्ट राजेश गुप्ता बताउँछन् । देशभरका प्रयोगशालाबाट शंकास्पद नमुना संकलन गरी एनपीएचएलले गत असोजदेखि निरन्तर रूपमा जिन सिक्वेन्सिङ परीक्षण  गर्दै आएको छ ।

‘आत्तिहाल्नुपर्ने अवस्था छैन, तर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु अपरिहार्य’ 
अस्पताल भर्ना हुनेहरूको अवस्था हेर्दा अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् । “वीर अस्पतालमा पछिल्लो दुई दिनयता लक्षणसहितका र केही नयाँ लक्षण भएका संक्रमितहरू भर्ना हुने क्रम बढेको छ । यहाँ परीक्षण गरिएकामध्ये १० प्रतिशत नमुना जिन सिक्वेन्सिङका लागि एनपीएचएल पठाउने गरेका छौँ । तर, यहाँ भर्ना भएका संक्रमितको अवस्था हेर्दा आत्तिहाल्नुपर्ने अवस्था भने अहिले देखिँदैन,” अस्पतालका कोभिड कन्सल्टेन्ट डा. अच्युत कार्कीले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने शंकास्पद र संक्रमितको दरलाई हेरेर पनि तत्काल त्रसित हुनपर्ने अवस्था नरहेको डा. चालिसेको भनाइ छ । ओमिक्रोन भेरियन्ट अहिलेसम्मकै बढी संक्रामक भए पनि डेल्टाजति घातक नभएको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाइसकेका छन् ।

तर, संक्रमणको जोखिम कम गर्न हिसाबले यसअघि अपनाइएका मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुनेजस्ता स्वाथ्यका मापदण्ड भने अपनाउनु अपरिहार्य रहेकोमा विज्ञहरूको जोड छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro